काठमाडौं : जगदम्बा स्टिल्सले गत आर्थिक वर्षको नौ महिनामा १८ अर्ब ९९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा २६ अर्ब ३६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०२४ मा २९ अर्ब ७२ करोड ७० लाख रुपैयाँको कारोबार गरेको कम्पनीको आम्दानी सन् २०२३ मा ३९ अर्ब ४३ करोड रुपैयाँ र सन् २०२२ मा ४९ अर्ब ७३ करोड ६० लाख रुपैयाँ थियो। यसरी पछिल्ला केही वर्षयता कम्पनीको कारोबार निरन्तर घट्दो क्रममा देखिएको छ।
सन् २०२५ मा कम्पनीको सञ्चालन आम्दानी करिब १२ प्रतिशतले घटेको थियो। भारत सरकारले स्टिलजन्य वस्तुको आयातमा शुल्क लगाएपछि भारततर्फको निर्यात प्रभावित हुँदा कम्पनीको आम्दानीमा दबाब परेको हो। आम्दानी घटेसँगै कम्पनीको कर, ब्याज, ह्रास तथा अमोर्टाइजेसनअघिको नाफा (इबिट्डा) करिब २० प्रतिशतले घटेर १ अर्ब ८५ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ।
सञ्चालन नाफा मार्जिनसमेत सन् २०२४ को ७.८० प्रतिशतबाट घटेर सन् २०२५ मा ७.०३ प्रतिशतमा झरेको छ। सन् २०२६ को नौ महिनामा सञ्चालन नाफा मार्जिन ६.०२ प्रतिशत रहेको छ।
सन् २०२५ मा खुद नाफा करिब २२ प्रतिशतले घटेको छ भने खुद नाफा मार्जिन ०.४६ प्रतिशतबाट घटेर ०.२२ प्रतिशतमा सीमित भएको छ। कम्पनीको नगद सञ्चिति पनि सन् २०२४ को ४२ करोड ३० लाख रुपैयाँबाट घटेर सन् २०२५ मा ३८ करोड १० लाख रुपैयाँमा झरेको छ।
कम्पनीको कुल ऋण भने केही घटेको छ। सन् २०२४ मा २२ अर्ब ५८ करोड ७० लाख रुपैयाँ रहेको कुल ऋण सन् २०२५ मा २१ अर्ब ७८ करोड ८० लाख रुपैयाँमा झरेको छ। टर्म लोनको भुक्तानीका कारण ऋण घटेको भए पनि कम्पनीको समग्र गियरिङ अनुपात २.७८ गुणा रहेको छ। ट्यान्जिबल नेटवर्थमा सुधार भएकाले गियरिङ अनुपातमा केही सुधार आएको कम्पनीको भनाइ छ।
ब्याज भुक्तानी क्षमतामा भने सामान्य सुधार देखिएको छ। कम्पनीको ब्याज कभरेज रेसियो सन् २०२४ को ०.८९ गुणाबाट बढेर सन् २०२५ मा १.०४ गुणा पुगेको छ। तर कुल ऋण–इबिट्डा अनुपात ९.७४ गुणाबाट बढेर ११.७५ गुणा पुगेको छ।
त्यस्तै कुल ऋण–ग्रस क्यास एक्रुअल्स अनुपात ५७.२४ गुणा पुगेको छ। डेब्ट सर्भिस कभरेज रेसियोसमेत सन् २०२४ को ०.९२ गुणाबाट घटेर सन् २०२५ मा ०.८५ गुणामा पुगेको छ।
कम्पनीले हट रोल्ड तथा कोल्ड रोल्ड कोइल, वायर रड, पिग आइरन र स्पन्ज आइरनजस्ता प्रमुख कच्चा पदार्थ भारत, चीन, अमेरिका र बेलायतलगायत मुलुकबाट आयात गर्दै आएको छ। सन् २०२५ मा कच्चा पदार्थको खर्च कम्पनीको कुल सञ्चालन आम्दानीको करिब ६८ प्रतिशत रहेको थियो।
सन् १९९३ मा स्थापना भएको जगदम्बा स्टिल्स शंकर समूहअन्तर्गत सञ्चालनमा छ। कम्पनीका अध्यक्ष शाहिल अग्रवाल रहेका छन् । कम्पनीको मुख्य कारखाना बाराको सिमरामा रहेको छ। त्यहाँबाट कोल्ड रोल्ड, रोलिङ मिल, वायर तथा मेल्टिङअन्तर्गत टीएमटी बार, एंगल, सेक्सन, पाइप, सटर प्रोफाइल, कोइल, सिट तथा विभिन्न प्रकारका वायर उत्पादन हुँदै आएको छ।
कम्पनीको कुल जडित उत्पादन क्षमता वार्षिक २४ लाख ४४ हजार मेट्रिक टन पुगेको छ। सन् २०२१ मा कोल्ड रोल्ड मिल सञ्चालनमा आएपछि कम्पनीको उत्पादन क्षमता सन् २०२१ को २० लाख ३० हजार मेट्रिक टनबाट बढेर २४ लाख ४४ हजार मेट्रिक टन पुगेको हो।
तर ठूलो उत्पादन क्षमता हुँदाहुँदै पनि क्षमता उपयोग न्यून छ। सन् २०२५ मा कम्पनीले औसत ३१.६ प्रतिशत मात्र उत्पादन क्षमता उपयोग गरेको थियो। उत्पादन क्षमता विस्तार, ब्याकवार्ड इन्टिग्रेसनमार्फत लागत घटाउने र क्षमता उपयोग बढाउने प्रयास गरिए पनि बजार माग, निर्यातमा आएको अवरोध र उद्योगमा देखिएको प्रतिस्पर्धाका कारण अपेक्षित रूपमा क्षमता उपयोग हुन नसकेको जनाइएको छ ।
कम्पनीका ‘जगदम्बा ई’, ‘राइनो ५००डी’, ‘जगदम्बा सुपर शाइन’, ‘जगदम्बा ग्याल्भा प्लस’, ‘जगदम्बा पाइप’ र ‘जगदम्बा वायर’ जस्ता ब्रान्ड नेपाली बजारमा स्थापित छन्। कम्पनीको सातवटै प्रदेशमा गरी ४०७ डिलर रहेका छन् ।
सन् २०२२ मा पब्लिक कम्पनीमा परिणत भएको जगदम्बा स्टिल्सले पछिल्ला वर्षमा उत्पादन क्षमता विस्तारसँगै लागत नियन्त्रण र उत्पादन दक्षता बढाउने प्रयास गर्दै आएको छ।
कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि ३२ अर्ब ४ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३९ अर्ब ८४ करोड रुपैयाँको रेटिङ गराएको हो।
कम्पनीले प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्काशन (आईपीओ) को तयारी गरेको छ । कम्पनीले ६ अर्ब ६२ करोड ३१ लाख रुपैयाँ बराबरको दुई करोड ७० हजार कित्ता शेयर जारी गर्न लागेको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २३० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ३३० रुपैयाँमा आईपीओ जारी गर्न लागेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।