Below Menu

ज्योतिपुञ्ज साकोस १६औँ वर्षमा : डेढ दशकको विश्वास, मजबुत वित्तीय सूचक

ज्योतिपुञ्ज साकोस १६औँ वर्षमा : डेढ दशकको विश्वास, मजबुत वित्तीय सूचक

काठमाडौं : नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको १६औं वर्षमा प्रवेश गरेको छ। सदस्यहरूको विश्वास, साथ र सहकार्यलाई आधार बनाउँदै १५ वर्ष पूरा गरेको संस्थाले आगामी दिनमा अझ गुणस्तरीय, प्रभावकारी र सदस्यकेन्द्रित वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

२०६८ वैशाख २९ गते तत्कालीन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको ज्योतिपुञ्जले सोही वर्ष भदौ ४ गतेबाट विधिवत् रूपमा कारोबार शुभारम्भ गरेको थियो। संस्थाले कारोबार शुभारम्भ गरेको दिनलाई स्थापना दिवसका रूपमा मनाउँदै आएको छ।

सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक सुधारमा योगदान पुर्याउने उद्देश्यका साथ स्थापना भएको संस्थाले सदस्यहरूलाई आत्मनिर्भर, स्वरोजगार तथा स्वव्यवसायी बनाउने लक्ष्य लिएको छ। नियमित बचत गर्ने बानीको विकास गराउँदै सुरक्षित भविष्य निर्माणमा सहयोग गर्ने तथा सर्वसुलभ दरमा ऋण उपलब्ध गराएर साना तथा मझौला व्यवसायीलाई प्रोत्साहन गर्ने संस्थाको उद्देश्य छ।

डेढ अर्ब नजिकको वित्तीय आकार
१५ वर्षको यात्रामा ज्योतिपुञ्जले आफ्नो वित्तीय आकारलाई पनि विस्तार गर्दै लगेको देखिन्छ। संस्थाले सार्वजनिक गरेको २०८३ साउन मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कुल सम्पत्ति १ अर्ब ४८ करोड १२ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा संस्थाको कुल बचत १ अर्ब ७ करोड ७८ लाख रुपैयाँ पुगेको छ। लगानीमा रहेको कर्जा १ अर्ब २० करोड २३ लाख रुपैयाँ रहेको छ । संस्थाको शेयर पुँजी ९ करोड ७५ लाख पुगेको छ भने कुल संस्थागत पुँजी १४ करोड २८ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा १३ करोड १८ लाख रुपैयाँ र विभिन्न कोषहरूको जम्मा रकम १ करोड ४७ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

करिब चार हजार शेयर सदस्य
ज्योतिपुञ्जको सदस्य आधार पनि स्थापनासँगै विस्तार हुँदै गएको छ। २०८३ साउन मसान्तसम्म संस्थामा ३ हजार ९८६ जना शेयर सदस्य रहेका छन्। त्यस्तै, संस्थाबाट कर्जा लिने सदस्यको संख्या २८९ जना रहेको छ।

सदस्यको संख्या र वित्तीय कारोबारको विस्तारसँगै संस्थाले आफ्नो सेवा प्रणालीलाई पनि थप व्यवस्थित र सदस्यकेन्द्रित बनाउने प्रयास गरिरहेको छ।

‘सदस्यको पहिलो रोजाइको सुरक्षित साकोस’
ज्योतिपुञ्जको परिकल्पना ‘उत्कृष्ट वित्तीय सेवाका लागि सदस्यहरूको पहिलो रोजाइको सुरक्षित साकोस’ रहेको छ। यही परिकल्पनालाई आधार बनाएर संस्थाले सदस्यलाई सुरक्षित, गुणस्तरीय र प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने लक्ष्य अघि सारेको छ।

संस्थाको ध्येय ‘सहकारी मूल्य तथा सिद्धान्तबमोजिम सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि समुदायमा विशिष्ट पहिचानसहित गुणस्तरीय सेवाप्रदायक अब्बल वित्तीय संस्था’ बन्ने रहेको छ।

१५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले आफ्ना सदस्यहरूको अटुट विश्वास, अमूल्य साथ, सहकार्य र हौसलाप्रति कृतज्ञता व्यक्त गरेको छ। संस्थाले १५ वर्षको उपलब्धिलाई आफ्नै प्रयासको परिणामभन्दा पनि सदस्यहरूको माया, विश्वास र साथको प्रतिफलका रूपमा लिएको संस्थाका अध्यक्ष नविन श्रेष्ठले बताए।

अबको लक्ष्य : अझ गुणस्तरीय र सदस्यकेन्द्रित सेवा
बदलिँदो वित्तीय वातावरण र सहकारी क्षेत्रमा देखिएका चुनौतीबीच सदस्यको विश्वास कायम राख्दै संस्थागत सुशासन, वित्तीय अनुशासन र गुणस्तरीय सेवामा संस्था प्रतिवद्ध रहेको अध्यक्ष श्रेष्ठले बताए।

स्थापना दिवसको अवसरमा अध्यक्ष नवीन श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले संयुक्त रुपमा १५ वर्षको सफल यात्रामा साथ दिने सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संस्थालाई अझ गुणस्तरीय, प्रभावकारी तथा सदस्यकेन्द्रित बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

विगतको उपलब्धिलाई जोगाउँदै नयाँ आवश्यकता र चुनौतीअनुसार सेवा विस्तार गर्न सक्नु नै अबको मुख्य जिम्मेवारी रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कार्कीले बताए। सदस्यको विश्वासलाई केन्द्रमा राखेर सुरक्षित वित्तीय सेवाको पहिचान थप मजबुत बनाउने दिशामा संस्था अघि बढेको उनको भनाई छ।

थप समाचार