काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत तथा सिँचाइ पूर्वाधारको निरीक्षणका लागि कोशी प्रदेशको भ्रमणमा निस्किँदैछन् ।
मन्त्री श्रेष्ठ आफ्नो टिमका साथ आज दिउँसो १ बजे कोशी प्रदेशको राजधानी विराटनगर प्रस्थान गर्दैछन् । टोलीले पूर्वमा विद्यमान विद्युत समस्या, प्रसारण लाइनलगायत पूर्वाधारको अवस्थाको निरीक्षण गर्नेछ । यसैगरी पूर्वमा सिँचाइको पहुँच, नहरहरुको अवस्थाको पनि स्थलगत अवलोकन गरेर आवश्यक सुधारका लागि रणनीति बनाइनेछ ।
ऊर्जामन्त्री श्रेष्ठको टिममा मन्त्रालयका सचिव सरिता दवाडी, सहसचिव मोहनकुमार शाक्य, मन्त्रीका निजी सचिव सुदर्शन श्रेष्ठ, सचिवालय सदस्य देवेश बेल्बासेलगायत छन् ।
यसैगरी जलस्रोत तथा सिँचाइ विभागबाट महानिर्देशक डा। महेश्वर श्रेष्ठ, उपमहानिर्देशक दिनेश भट्ट, नेपाल विद्युत प्राधिकरणका कामु निर्देशक दिर्घायुकुमार श्रेष्ठसहित अधिकारी जाँदैछन् ।
मन्त्रीको सचिवालयकाअनुसार तीन दिने भ्रमणका क्रममा इनरुवाको चार सय केभी भोक्राहा सबस्टेसन, केरौना सबस्टेसनको अवलोकन गरिनेछ । यसैगरी बराहक्षेत्र चतहराको नहरको साइट भिजिट गरिनेछ । यसैगरी नेपालको विरासत बोकेको चन्द्र नहरको पनि निरीक्षण गर्ने कार्यक्रम छ ।
मन्त्री श्रेष्ठले यसअघि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश पुगेर त्यहाँका समस्या प्रत्यक्षरुपमै बुझेका थिए ।