Below Menu

नाडा अटो शोमा ५३ ब्रान्डका सवारीसाधन प्रदर्शनीमा रहने, ७० अटो पार्ट्स कम्पनी सहभागी हुने

नाडा अटो शोमा ५३ ब्रान्डका सवारीसाधन प्रदर्शनीमा रहने, ७० अटो पार्ट्स कम्पनी सहभागी हुने

काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो ५० वर्षे ऐतिहासिक यात्राको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।

स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुन लागेको अटो शो आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुनेछ।

सन् १९७५ मा सीमित सवारीसाधन आयातकर्ता तथा व्यवसायी मिलेर स्थापना भएको नाडाले पाँच दशक पूरा गरेको अवसरमा आयोजना गर्न लागेको प्रदर्शनी करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिनेछ। प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन्।

अटो शोमा २३ वटा चारपाङ्ग्रे यात्रुवाहक ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारी ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे ब्रान्ड गरी ५३ वटा सवारी ब्रान्डको प्रत्यक्ष सहभागिता रहनेछ। 

यसबाहेक पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, हेलमेट, बेयरिङ, ग्यास्केट, फिल्टर, डायग्नोस्टिक उपकरण, ग्यारेज टुल्स, जीपीएस तथा टेलिमेटिक्स प्रणाली, एसेसरिज र विद्युतीय सवारी चार्जिङ उपकरणसँग सम्बन्धित करिब ७० कम्पनी सहभागी हुनेछन्।

त्यस्तै, १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीले अटो लोन, सवारी बीमा तथा विद्युतीय सवारीका लागि वित्तीय योजनासहित सहभागिता जनाउने आयोजकले जनाएको छ।

प्रदर्शनीमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै क्षेत्र निर्धारण गरिएको छ। विदेशी सहभागीका लागि ‘इन्टरनेसनल बिजनेस प्याभिलियन’ तथा स्वदेशी उत्पादन र एसेम्बलीका लागि ‘मेड इन नेपाल र मेड फर नेपाल’ प्याभिलियन राखिनेछ।

सहभागी सवारी ब्रान्डमा युरोपेली इन्जिनियरिङसहितको स्कोडा, मलेसियाको राष्ट्रिय ब्रान्ड प्रोटोन, चिनियाँ चेरी, ओमोडा, जेकु र जीडब्ल्यूएमलगायतका ब्रान्ड रहनेछन्। जापानी, भारतीय, कोरियाली, चेक, मलेसियाली तथा चिनियाँ मूलका सवारीसाधन पनि प्रदर्शनीमा रहनेछन्।

नाडाका अनुसार पाँच दशकको अवधिमा नेपालको अटोमोबाइल क्षेत्रमा उल्लेख्य विस्तार भएको छ। हाल नेपालमा करिब ५५ लाख सवारीसाधन दर्ता भएका छन्। पछिल्ला पाँच आर्थिक वर्षमा मात्रै नेपालले करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा सम्बन्धित सामग्री आयात गरेको र त्यसबाट राज्यले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको नाडाले जनाएको छ । 

नेपाल हरित गतिशीलतातर्फ उन्मुख हुँदै जाँदा करिब ६३ हजार विद्युतीय सवारीसाधन भित्रिइसकेको र ती सवारीसाधनका लागि करिब दुई हजार चार्जिङ स्टेसनको सञ्जाल तयार भइसकेको नाडाले जनाएको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले स्वर्ण जयन्ती संस्करणको अटो शो संस्थाको उत्सव मात्र नभई सिङ्गो अटोमोबाइल उद्योगको योगदानको लेखाजोखा भएको बताए।

‘पचास वर्ष भनेको कुनै उद्योगलाई ‘कति बिक्री गर्यो’ भन्ने आधारमा होइन, ‘कति धानिरहेको छु’ भन्ने आधारमा नाप्न थाल्न पर्याप्त समय हो। भदौ ९ गते हामीले खोल्न लागेको प्रदर्शनी त्यही हो,’ उप्रेतीले भने।

उनका अनुसार अटोमोबाइल क्षेत्रलाई आयात र बिक्रीमा मात्र सीमित नराखी रोजगारी सिर्जना, राजस्व संकलन, हरित प्रविधिको विस्तार तथा समग्र आर्थिक चलायमानताको प्रमुख संवाहकका रूपमा विकास गर्न नाडाले निरन्तर नेतृत्वदायी भूमिका खेल्दै आएको छ।

अध्यक्ष उप्रेतीले अटो शोमा सवारीसाधनसँगै त्यसलाई वर्षौंसम्म सञ्चालनमा राख्ने अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण, बीमा तथा वित्तीय क्षेत्रलाई पनि समेटिएको बताए।

‘अटो शो भन्नेबित्तिकै गाडीले भरिएको हल भन्ने लाग्छ। तर हाम्रो प्रदर्शनीको ठूलो हिस्सा त ती गाडी वर्षौंसम्म चलाइराख्ने उद्योगले ओगटेको छ। त्यो उद्योग पनि देखिनुपर्छ,’ उनले भने।

पाँच दशकअघि नेपालको अटोमोबाइल उद्योगको प्रदर्शनी एउटा कोठामै सीमित हुने गरेकोमा अहिले करिब तीन लाख वर्गफिट क्षेत्रफल आवश्यक पर्ने अवस्थामा पुगेको नाडाले जनाएको छ। संगठनका अनुसार यसको कारण सवारीसाधनको संख्या बढ्नुका साथै अटोमोबाइल उद्योगको समग्र विस्तार पनि हो।