काठमाडौं : भोटेकोशी बाढीपछि जलविद्युत्को चर्चा अझ बढेको छ । बाढीले ६ सय मेगावाटभन्दा माथिको उत्पादनमा क्षति पुग्दैगर्दा यो क्षेत्रको लगानी र प्रतिफलको चासो र चिन्ता अझ बढेर गएको छ ।
रसुवा र नुवाकोटमा सञ्चालित, निर्माणाधीन मात्र होइन देशभर लाइसेन्स प्राप्त हाइड्रोमा कतिजति लगानी होला ? ७०/३० को अनुपातमा बैंक र सर्वसाधारणको लगानी हिस्सा कति होला ? चासोको विषय हो ।
निजी भनिएपनि यस्ता हाइड्रोपावर सर्वसाधारणबाट आईपीओ/एफपीओमार्फत ३० प्रतिशत लगानी उठाएर बैंक तथा वित्तीय संस्थाले ७० प्रतिशतसम्म लगानी गरेका छन् ।
राष्ट्र बैंकको नीति अनुसार बैंकहरूले कूल कर्जा लगानीको कम्तीमा १० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गरेका छन् । यसले पनि हाइड्रो क्षेत्रमा बैंकहरूको लगानी निरन्तर बढिरहेको छ ।
५ खर्बमाथिको वित्तीय लगानी
पछिल्लो तथ्यांकअनुसार हाइड्रोपावरमा बैंकहरूको लगानी ५ खर्ब नाघेको छ । राष्ट्र बैंकका अनुसार जलविद्युत क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले कूल ५ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ लगानी गरेका छन्, जसमध्ये वाणिज्य बैंकहरुको लगानी हिस्सा ठूलो छ ।
वाणिज्य बैंकहरूले हाइड्रो परियोजनामा हालसम्म ५ खर्ब ३ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
कुन बैंकको लगानी कति ?
८ हजार २९२ मेगावाटका परियोजना निर्माणाधिन अवस्थामा
नेपाल विद्युत प्राधिकरणका अनुसार हाल नेपालमा ३२० आयोजना कुल ८ हजार २९२ मेगावाट क्षमतासहित निर्माणका विभिन्न चरणमा रहेका छन् । उक्त आयोजनाका लागि वित्तीय व्यवस्थापन र प्राकृतिक विपत्तिको जोखिमसँगै व्यवस्थापन गर्नुपर्ने चुनौती छ ।
प्राधिकरणको आर्थिक वर्ष २०२४/२५ को वार्षिक प्रतिवेदनअनुसार यस अवधिमा निजीक्षेत्र तथा प्राधिकरणका सहायक कम्पनीसहित ४३४ मेगावाट क्षमताका २२ आयोजना सञ्चालनमा आएका थिए । यसपछि निजीक्षेत्रबाट सञ्चालनमा रहेका आयोजनाको संख्या २०४ र कुल क्षमता २ हजार ९२९.७ मेगावाट पुगेको थियो ।
यस्तै वित्तीय व्यवस्थापन पूरा गरेर ४ हजार ३०३ मेगावाट क्षमताका १४२ आयोजना निर्माणाधीन थिए । थप ४ हजार २०३.४७६ मेगावाट क्षमताका १४८ आयोजना वित्तीय व्यवस्थापनको पर्खाइमा थिए ।
सन् २०२५ को जुन १५ देखि भारतको प्रसारण संरचना प्रयोग गरेर नेपालले बंगलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको थियो । तर पछिल्लो पटक प्राविधिक समस्या, भारतसँग थप विद्युत् व्यापारको सम्झौता हुन नसक्दा यो निर्यात समेत प्रभावित बन्न पुगेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा नेपालले १० अर्ब ५६ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरेको छ भने २९ अर्ब ३१ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ । तुलनात्मक रुपमा पछिल्लो वर्ष विद्युत् निर्यात ६८ प्रतिशतले बढेको छ ।
नेपाल र भारतबीच भएका विभिन्न सम्झौता र नयाँ प्रसारण लाइनको सञ्चालनले सीमापार विद्युत् व्यापार थप विस्तार हुने सम्भावना छ । तर, यसका लागि सरकारले भारतसँग शीघ्र सम्झौता गर्न आवश्यक छ ।
आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा नेपालको कुल जडित विद्युत् क्षमता ४ हजार १२० मेगावाट पुगेको छ । यस वर्ष मात्र प्रणालीमा ५२९ मेगावाट विद्युत् थपिएको छ । प्रसारणतर्फ कोशी करिडोर, चिलिमे-त्रिशूली र कालीगण्डकी करिडोर जस्ता महत्वपूर्ण आयोजनाहरू सम्पन्न भएका छन् । हाल देशभर ७ हजार ११० सर्किट किलोमिटर प्रसारण लाइन र १५ हजार ५४१ एमभीए क्षमताका सब–स्टेसनहरू सञ्चालनमा छन् ।
हाइड्रो कम्पनीहरूको पर्फमेन्समा सुधार
उत्पादनसँगै व्यापारको अवसरसँगै यता हाइड्रो कम्पनीहरूको पर्फमेन्समा समेत अपेक्षित सुधार भएका छन् । कम्पनीहरूले प्रकाशित गरेका तथ्यांकहरू हेर्दा अधिकांश कम्पनीहरू नाफामा छन् ।
गत आर्थिक वर्षको तथ्यांकलाई नै हेर्ने हो भने, नेप्सेमा सूचीकृत ११२ जलविद्युत् कम्पनीले विद्युत बिक्रीबाट ५४ अर्ब ३८ करोड १० लाख रुपैयाँ आम्दानी गरेका छन्, जुन आम्दानी अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ८ अर्ब ६४ करोड रुपैयाँले बढी हो । अघिल्लो वर्ष कम्पनीहरुले विद्युत बिक्री मार्फत ४५ अर्ब ९३ करोड ९० लाख रपैयाँ आम्दानी गरेका थिए ।
विद्युत बिक्री आम्दानीसँगै कम्पनीहरूको खुद नाफामा पनि उल्लेख्य रुपमा बढेको छ । एक वर्षमा कम्पनीहरुले ११ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५३१.०२ प्रतिशतले बढी हो ।
विद्युत उत्पादन तथा बिक्री बढेसँगै घट्दो ब्याजदरका कारण पनि कम्पनीहरुको उत्पादन लागत कम हुँदा वित्तीय अवस्थामा सुधार देखिएको हो । विगतका दिनहरुमा ८ प्रतिशतमा लिएको ऋणको ब्याज १२ प्रतिशतसम्म तिर्नु पर्ने अवस्था थियो भने अहिले ब्याजदर घटेका कारण बैंकहरुको ऋण पनि घटेको छ । लगानी उठाएर थप आयोजनाहरु बनाउने क्रम पनि बढ्दो छ ।
प्रकाशित विवरण अनुसार यस अवधिमा ४६ कम्पनीको नाफा बढेको छ । अन्य १८ कम्पनीहरु नोक्सानीमा छन् भने बाँकी १५ कम्पनीहरुको नाफा पनि गत वर्षको तुलनामा घटेको छ । अघिल्लो वर्षको घाटामा रहेका २१ कम्पनी यस वर्ष नाफामा गएका छन् भने अघिल्लो वर्षमा नाफामा रहेका १० कम्पनी घाटामा गएका छन् ।
घाटाबाट नाफामा फर्किए कम्पनीहरू
तथ्यांक अनुसार अघिल्लो वर्ष उल्लेख्य रुपमा घाटामा रहेका २१ जलविद्युत् कम्पनी यस वर्ष नाफामा गएका छन् । अघिल्लो वर्ष ३ अर्ब ६८ करोड रुपैयाँ नोक्सानीमा रहेको अपर तामाकोशी हाइड्रोपावरले गत वर्ष ९२ करोड ५९ लाख रुपैयाँ खुद नाफामा गएको छ । कम्पनीको विद्युत बिक्री आम्दानी पनि ६ अर्ब ९२ करोड ३७ लाख रुपैयाँबाट बढेर १० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।
यस्तै बलेफी हाइड्रोपावर अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४३ करोड ४५ लाख रुपैयाँ घाटामा रहेकोमा गत वर्ष २८ करोड २३ लाख रुपैयाँ नाफामा आएको छ । अघिल्लो वर्षको २७ करोड ८९ लाख रुपैयाँ घाटा रहेको सान्जेन जलविद्युत कम्पनी पनि गत वर्ष ८ करोड २० लाख रुपैयाँ नाफामा पुगेको छ ।
यस्तै छ्याङ्दी हाइड्रोपावर, पाँचथर पावर, माथिल्लो मैलुङ खोला, माउन्टेन हाइड्रो नेपाल, पञ्चकन्या माई र न्यादी हाइड्रोपावर, भिजन लुम्बिनी उर्जा विकास कम्पनी, माया खोला हाइड्रोपावर लगायत कम्पनी पनि घाटाबाट नाफामा फर्किएका छन् ।
महत्वपूर्ण पक्ष २१ हाइड्रो कम्पनीहरुले शतप्रतिशतभन्दा माथि नाफा वृद्धि गरेका छन् । जसमा रिभर फल्स पावरको खुद नाफा ३ हजार ४१६.६८ प्रतिशतले बढेको देखिन्छ भने विद्युत बिक्री आम्दानी १३.४८ प्रतिशतले बढेर २६ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।
यस्तै माया खोला हाइड्रोपावरको नाफा १ हजार ९२८.२७ प्रतिशतले बढेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी भने ४०.४६ प्रतिशतले घटेको छ । यस अवधिमा माण्डु हाइड्रोपावर विद्युत बिक्री आम्दानी २८८.२६ प्रतिशतले बढ्दा नाफा ४१४.८० प्रतिशतले बढेको छ ।
त्यस्तै अपर हेवाखोला हाइड्रोपावरको नाफा २०३.६८ प्रतिशत र हिमालयन पावर पार्टनरको नाफा १८२.११ प्रतिशतले बढेको छ । हिमालय उर्जा विकास कम्पनीको नाफा ३३०.६१ प्रतिशत र तेह्रथुम पावर कम्पनीको नाफा २८८.४० प्रतिशतले बढेको छ ।
यस अवधिमा सामलिङ पावर कम्पनीको नाफा ४७६.४७ प्रतिशत, सुपरमादी हाइड्रोपावरको २ हजार ७.६८ प्रतिशत, स्वेत गंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सनको ९ हजार ७५८.२० प्रतिशत र सानिगाढ हाइड्रोपावरको नाफा ३९०.१६ प्रतिशतले बढेको तथ्यांकमा देखिन्छ ।
तथापि, केही हाइड्रो कम्पनीहरूका भने आम्दानी घट्दैगर्दा नाफा पनि खुम्चिएको छ । युनिभर्सल पावर कम्पनी, मिड सोलु हाइड्रोपावर, अरुण काबेली पावर, भगवती हाइड्रोपावर, रु रु जलविद्युत कम्पनी, मोदी इनर्जी, एसियन हाइड्रोपावर, खानिखोला हाइड्रोपावर, शिखर पावर डेभलपमेन्ट, बुङ्गल हाइड्रो, हिम डोल्खा, हिम स्टार ऊर्जा, जोशी हाइड्रोपावरलगायत कम्पनीको नाफामा केही गिरावट आएको छ । तथापि, यी कम्पनीहरूको उत्पादन र पर्फमेन्समा भने खासै कमी आएको छैन ।
अर्बौको बिजुली बेच्ने दर्जन कम्पनी
गत आर्थिक वर्षको असार मसान्तसम्म अपर तामाकोशी हाइड्रोपावरले १० अर्ब ६६ करोड ८८ लाख रुपैयाँ बराबरको विद्यूत बिक्री गरेको छ । यद्यपि, उक्त रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने ५४.०९ प्रतिशत बढी हो । अघिल्लो वर्ष कम्पनीले छ अर्ब ९२ करोड ३८ लाख रुपैयाँ बराबरको बिजुली बेचेको थियो ।
त्यस्तै यस अवधिमा चिलिमे जलविद्युत कम्पनीले एक अर्ब १६ करोड ७६ लाख रुपैयाँ बराबरको बिजुली बेचेको छ । अघिल्लो वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी एक अर्ब १२ करोड ५७ लाख रुपैयाँ रहेको थियो, जुन, जलविद्युत कम्पनी हालै आएको विनासकारी भोटेकोशी बाढीको चपेटामा परेको छ ।
पावरहाउससहितको टेनलमा बाढीले क्षति पुर्याउँदा यो अयोजना पुनः सञ्चालनमा आउन अब कति समय लाग्ने हो टुंगो छैन । यस्तै, ग्रीन भेन्चर्स जलविद्युत् कम्पनीले अघिल्लो वर्ष एक अर्ब ६० करोड २० लाखको बिजुली बेचेकोमा पछिल्लो वर्ष एक अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ ।
यस्तै अघिल्लो वर्ष एक अर्ब १२ करोड ४७ लाख रुपैयाँ बराबरको बिजुली बेचेको ग्रिन लाइफ हाइड्रोपावरले गत वर्ष एक अर्ब १३ करोड ८४ लाख रुपैयाँ बराबरको बिजुली बेचेको छ । यस्तै अपि पावरले १ अर्ब ७६ करोड ६५ लाख रुपैयाँको विद्युत बिक्री गरेको छ भने सुपर मादी हाइड्रोपावरले १ अर्ब ३३ करोड ४ लाख रुपैयाँ र पिपुल्स हाइड्रोपावरले १ अर्ब १५ करोड ६० लाख रुपैयाँ बराबरको विद्युत बेचेको छ ।
यसैगरी साहस ऊर्जाले २ अर्ब ८४ करोड ४५ लाख, माउन्टेन इनर्जीले १ अर्ब ५३ करोड ३५ लाख, सानिमा मिडल तमोरले २ अर्ब २ करोड ५१ लाख र सोलु हाइड्रोपावरले २ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ बराबरको बिजुली बेचेको तथ्यांक छ ।
यस्तो छ जलविद्युत कम्पनीको वित्तीय अवस्था



