नेपाल-चीन सम्बन्ध रणनीतिक र दूरगामी महत्त्वको छ : झलनाथ खनाल

नेपाल-चीन सम्बन्ध रणनीतिक र दूरगामी महत्त्वको छ : झलनाथ खनाल

काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले नेपाल र चीनबीचको सम्बन्ध सामान्य कार्यनीतिक मात्र नभई दूरगामी महत्त्वको रणनीतिक सम्बन्ध भएको बताएका छन् ।

शनिबारदेखि काठमाडौंमा सुरु भई सम्पन्न भएको ‘काष्ठमण्डप संवाद शृङ्खला-३’ को समापन समारोहलाई सम्बोधन गर्दै उनले विकसित भइरहेको विश्व तथा क्षेत्रीय भू–राजनीतिक परिस्थितिका बीच दुई देशको सम्बन्धले असाधारण महत्त्व राख्ने उल्लेख गरे ।

‘शान्ति, विकास र समाजवादका लागि फाउन्डेसन’ का संरक्षक समेत रहेका नेता खनालले छिमेकमा तीव्र आर्थिक, वैज्ञानिक तथा प्राविधिक विकास हासिल गरिरहेको विश्वशक्ति हुँदा पनि नेपालले त्यसबाट पर्याप्त लाभ लिन नसकेको बताए । उनले दुई देशबीचको सम्बन्धलाई थप गहिरो, व्यापक र समुन्नत बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

नेपालले एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहँदै आफ्नो भूमि चीनविरुद्ध प्रयोग हुन दिन नहुने उल्लेख गर्दै उनले विपद् व्यवस्थापनमा चीनले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे । विशेषगरी भोटेकोशीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिपछि चीनले देखाएको ऐक्यबद्धता र उपलब्ध गराएको राहत सहयोग छिमेकी मित्रताको उदाहरण भएको उनको भनाइ थियो ।

चीनको विकास अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउँदै पूर्वप्रधानमन्त्री खनालले राजनीतिक स्थिरता बिना विकास सम्भव नहुने धारणा राखे ।

उनले भने, ‘चीनले आफ्नै मौलिक विशेषतामा आधारित समाजवादी मोडल विकास गरेको छ । हामीले पश्चिमा लोकतन्त्रको अन्ध नक्कल गर्यौं, तर अब नेपालले पनि आफ्नो ५ हजार वर्ष लामो इतिहास, सभ्यता र मौलिक विशेषताअनुरूपको रूपान्तरणको बाटो तय गर्नुपर्छ ।’

समापनका क्रममा नेता खनालले दुईदिने संवादमा नेपाल तथा चीनका विज्ञ, प्राध्यापक तथा अध्येताहरूले प्रस्तुत गरेका कार्यपत्र र निष्कर्षहरूलाई समेटेर फाउन्डेसनले छिट्टै पुस्तकका रूपमा प्रकाशन गर्ने जानकारी दिए । साथै, यस्ता संवाद शृङ्खलाहरूलाई प्रत्येक तीन महिनामा निरन्तरता दिइने योजना रहेको पनि उनले बताए ।