सरकारको कुल खर्चभन्दा राजस्व दोब्बर, बैंकिङ निक्षेप घट्दा कर्जा प्रवाह भने सामान्य सुधार

सरकारको कुल खर्चभन्दा राजस्व दोब्बर, बैंकिङ निक्षेप घट्दा कर्जा प्रवाह भने सामान्य सुधार

काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा सरकारको कुल खर्च ४१ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। खर्चको तुलनामा राजस्व परिचालन भने उल्लेख्य रूपमा बढी देखिएको छ। 

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार साउनमा सरकारले ९२ अर्ब २३ करोड रुपैयाँ कुल राजस्व परिचालन गरेको हो।

अर्थ मन्त्रालय तथा महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारको कुल खर्चमध्ये चालु खर्च २१ अर्ब ४० करोड रुपैयाँ रहेको छ। त्यस्तै, पुँजीगत खर्च १ अर्ब ३३ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १९ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।  

राजस्वतर्फ सरकारले साउनमा ८५ अर्ब १९ करोड रुपैयाँ कर राजस्व संकलन गरेको छ भने गैरकर राजस्व ७ अर्ब ३ करोड रुपैयाँ परिचालन भएको छ। जुन राजस्वमा प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेतको हो ।

साउनमा अप्रत्यक्ष करको हिस्सा ६८.१ प्रतिशत रहेको छ भने प्रत्यक्ष करको हिस्सा २३.३ प्रतिशत छ। गैरकर राजस्वको हिस्सा ७.५ प्रतिशत र अन्य प्राप्तिको हिस्सा १ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा अप्रत्यक्ष तथा प्रत्यक्ष करको हिस्सा घटेको छ भने गैरकर राजस्व र अन्य प्राप्तिको हिस्सा बढेको छ।

सरकारी खातामा नगद मौज्दात बढ्यो

सरकारको खर्च र राजस्व परिचालनबीचको अन्तरसँगै सरकारी खातामा रहेको नगद मौज्दात पनि साउनमा उल्लेख्य रूपमा बढेको छ। साउन मसान्तसम्म राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ६१ अर्ब ८१ करोड रुपैयाँ नगद मौज्दात रहेको छ। यसमा प्रदेश तथा स्थानीय सरकारका खातामा रहेको रकमसमेत समावेश छ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तमा यस्तो नगद मौज्दात २ खर्ब ७७ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो। यस आधारमा एक महिनाको अवधिमा सरकारी नगद मौज्दात उल्लेख्य रूपमा बढेको देखिन्छ।

प्रदेश सरकारहरूको वित्तीय गतिविधि भने साउनमा तुलनात्मक रूपमा न्यून देखिएको छ। यस अवधिमा प्रदेश सरकारहरूको कुल खर्च १ करोड ४० लाख रुपैयाँ रहेको छ भने स्रोत परिचालन ६ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। 

प्रदेश सरकारहरूले परिचालन गरेको कुल स्रोतमा संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँटबाट ३ अर्ब ८३ करोड रुपैयाँ आएको छ। प्रदेश सरकारहरूको आन्तरिक स्रोतबाट राजस्व तथा अन्य प्राप्ति गरी १ अर्ब ९५ करोड रुपैयाँ परिचालन भएको छ।

बैंकमा रहेको निक्षेप घट्यो, तर वार्षिक वृद्धिदर १४.५ प्रतिशत

साउनमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप भने केही घटेको छ। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ०।३ प्रतिशत अर्थात् २० अर्ब ७१ करोड रुपैयाँले घटेर ८२ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ।

अघिल्लो वर्षको साउनमा निक्षेप ०.८ प्रतिशत अर्थात् ५५ अर्ब ७९ करोड रुपैयाँले घटेको थियो। यद्यपि, एक वर्षको तुलनामा बैंकिङ प्रणालीमा रहेको निक्षेप उल्लेख्य रूपमा बढेको छ। साउन मसान्तसम्म वार्षिक विन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १४.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती निक्षेपको हिस्सा ७.३ प्रतिशत, बचत निक्षेपको हिस्सा ४७.६ प्रतिशत र मुद्दती निक्षेपको हिस्सा ३५.६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी निक्षेपको हिस्सा क्रमशः ५.६ प्रतिशत, ३७.५ प्रतिशत र ४८.४ प्रतिशत थियो। 

त्यस्तै, कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा पनि घटेको छ। साउनमा संस्थागत निक्षेपको हिस्सा ३३.३ प्रतिशत रहेको छ, जबकि अघिल्लो वर्षको साउनमा यस्तो हिस्सा ३५.१ प्रतिशत थियो।

निक्षेपमा सानो गिरावट आए पनि बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा भने साउनमा बढेको छ। समीक्षा अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ०.४ प्रतिशत अर्थात् २३ अर्ब ५८ करोड रुपैयाँले बढेर ५८ खर्ब ८० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशत अर्थात् २ अर्ब ९३ करोड रुपैयाँले घटेको थियो। वार्षिक विन्दुगत आधारमा भने २०८३ साउन मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ७ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.३ प्रतिशत रहेको छ भने व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.७ प्रतिशत छ। अघिल्लो वर्षको साउनमा यी दुई क्षेत्रको हिस्सा क्रमशः ६२.७ प्रतिशत र ३७.३ प्रतिशत थियो। 

साउनमा वाणिज्य बैंकबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ०.५ प्रतिशतले र वित्त कम्पनीको कर्जा ०.१ प्रतिशतले बढेको छ। विकास बैंकहरूको निजी क्षेत्रतर्फको कर्जा भने ०.३ प्रतिशतले घटेको छ।

बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जाको धितो संरचनामा घरजग्गाको हिस्सा अझै उच्च रहेको छ। साउन मसान्तमा कुल कर्जामध्ये ६३ प्रतिशत घरजग्गा धितो सुरक्षणमा प्रवाह भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो हिस्सा ६४.४ प्रतिशत थियो।

यसैगरी कृषि तथा गैरकृषिजन्य वस्तुजस्ता चालु सम्पत्तिको सुरक्षणमा प्रवाहित कर्जाको हिस्सा १५.३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो हिस्सा १४.८ प्रतिशत थियो। यस्तै खनिज क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशतले बढेको छ भने धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन तथा मर्मततर्फको कर्जा ३ प्रतिशतले वृद्धि भएको छ।

निर्माण क्षेत्रमा २.१ प्रतिशत, सेवा उद्योगमा १.८ प्रतिशत तथा यातायात, सञ्चार र सार्वजनिक सेवा क्षेत्रमा १.२ प्रतिशतले कर्जा विस्तार भएको छ। यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रमा ०.८ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ०.३ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रमा पनि ०.३ प्रतिशतले कर्जा बढेको छ।

तर वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा प्रवाहित कर्जा ५.१ प्रतिशतले घटेको छ। त्यस्तै कृषि क्षेत्रमा कर्जा ०.९ प्रतिशत र उपभोग्य क्षेत्रमा ०.६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।

समीक्षा अवधिमा आवधिक कर्जा १.५ प्रतिशतले, ट्रस्ट रिसिट अर्थात् आयात कर्जा १ प्रतिशतले, रियल स्टेट कर्जा, व्यक्तिगत आवासीय घर कर्जासमेत, ०।७ प्रतिशतले र हायर पर्चेज कर्जा ०.१ प्रतिशतले बढेको छ।

यसको विपरीत विपन्न वर्ग कर्जा ७.३ प्रतिशतले घटेको छ। अधिविकर्ष कर्जा २.६ प्रतिशत, क्यास क्रेडिट कर्जा १.१ प्रतिशत तथा माग तथा अन्य चालु पुँजी कर्जा ०.५ प्रतिशतले घटेको छ।

 

थप समाचार