काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ९१ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९५.५४ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले २० करोड ५८ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधि गत भदौ १० गते भोटेकोशी (त्रिशूली नदी प्रणाली) नदीमा आएको आकस्मिक र भीषण बाढीका कारण कम्पनीको जलविद्युत् केन्द्रको भौतिक संरचना तथा विद्युत् उत्पादनमा गम्भीर र उल्लेख्य प्रभाव पर्न गएको कम्पनीले जनाइएको छ ।
बाढीसँगै बगेर आएको लेदो, गेग्रान र ढुङ्गाका कारण कर्मचारी आवास गृह विद्युत् गृहको सिभिल संरचना, मेसिन तथा उपकरणहरु र टेलरेसक्षेत्रमा व्यापक क्षति पुगेको छ । उक्त प्राकृतिक प्रकोपका कारण गत भदौ १० गतेदेखि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द हुन पुगेको छ ।
विद्युत् गृह सञ्चालनमा नआउँदा यस अवधिमा कम्पनीको तर्फबाट हुने विद्युत् बिक्री आय गत वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा घट्न गई समग्र वित्तीय सूचकांकमा प्रत्यक्ष प्रतिकूल असर परेको कम्पनीले जनाएको छ ।
गत आवको असोज मसान्तसम्म ३५ करोड ३० लाख ८२ हजार रुपैयाँ रहेको कम्पनीको विद्युत विक्री आम्दानी २३ करोड ८८ लाख १० हजार अर्थात ६७.६४ प्रतिशतले घटेर ११ करोड ४२ लाख ७२ हजार रुपैयाँमा खुम्चिएको छ ।
तथापी जलविद्युत् उत्पादनतर्फ आम्दानी अवरुद्ध भए तापनि कम्पनीको अन्य सञ्चालन तथा गैर–सञ्चालन आम्दानीमा भने सकारात्मक सुधार देखिएको छ ।
यस आर्थिक वर्षमा सहायक कम्पनीहरुलाई उपलब्ध गराइएको अल्पकालीन सापट, बैकहरुमा राखिएको मुद्दती निक्षेप बाट प्राप्त ब्याज आम्दानी, तथा चिलिमे टावरबाट प्राप्त बहाल आम्दानीतर्फ गत वर्षको सोही अवधिको तुलनामा झन्डै ७२ लाख १८ हजार अर्थात २१.७८ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।
यस अवधिमा कम्पनीको कर्पोरेट कार्यालयको प्रशासनिक खर्चमा उल्लेख्यरुपमा वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा प्रशासनिक खर्च दुई करोड ९ लाख ३ हजार रुपैयाँ रहेकोमा चालु अवधिमा सो खर्च तीन करोड ३१ लाख ४९ हजार रुपैयाँ पुगेको छ । जुन गत वर्षको तुलनामा १५८.५८ प्रतिशतले बढी हो ।
त्यस्तै गत वर्ष तीन करोड १९ लाख ६४ हजार रुपैयाँ रहेको कम्पनीको वित्तीय आम्दानी घटेर तीन करोड १९ लाख ३१ हजार रुपैयाँमा झरेको छ । यस अवधिमा कम्पनीको सञ्चालन नाफा दुई करोड ८५ लाख ४० हजार रुपैयाँ ऋणात्मक रहेको छ भने अन्य आम्दानी ६१६.६६ प्रतिशतले बढेको छ ।
चौथो त्रैमाससम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत वर्ष ९.३८ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी यस अवधिमा आइपुग्दा घटेर ०.३९ रुपैयाँमा झरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १२३.३६ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ८७०.३१ गुणा रहेको छ ।
असार मसान्तसम्म आइपुग्दा ९ अर्ब ४८ करोड ४९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको हाइड्रोपावरको रिटेन अर्निङ २ अर्ब २१ करोड ५६ लाख रुपैयाँ रहेको छ ।