काठमाडौं : नेपालको अर्थतन्त्रमा सुधारका केही सकारात्मक संकेत देखिए पनि आर्थिक गतिविधिमा अपेक्षित गति आउन नसकेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार समीक्षा अवधिमा नेपालको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आधारभूत मूल्यमा ३.६८ प्रतिशत र उत्पादकको मूल्यमा ३.८५ प्रतिशतले वृद्धि भएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमानमा आधारित प्रतिवेदनले कृषि क्षेत्रको तुलनामा गैरकृषि क्षेत्रको आर्थिक विस्तार बढी रहेको देखाएको छ। समीक्षा वर्षमा कृषि क्षेत्रको उत्पादन १.५८ प्रतिशतले वृद्धि हुँदा गैरकृषि क्षेत्रको उत्पादन ४.५४ प्रतिशतले बढ्ने अनुमान छ ।
अर्थतन्त्रमा केही सकारात्मक सूचक देखिए पनि व्यापार घाटाको विस्तार र सरकारी खर्च राजस्वभन्दा बढी रहनुले आर्थिक व्यवस्थापनमा चुनौती कायमै रहेको प्रतिवेदनले औँल्याएको छ ।
विश्व अर्थतन्त्रको वृद्धिदर सुस्त रहने प्रक्षेपण
अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले सन् २०२६ अक्टोबरमा प्रकाशित गरेको वल्र्ड इकोनोमिक आउटलुकअनुसार सन् २०२५ मा विश्व अर्थतन्त्रको वृद्धिदर ३.५ प्रतिशत रहेको थियो। सन् २०२६ मा यो घटेर ३.१ प्रतिशतमा सीमित हुने र सन् २०२७ मा ३.४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।
सन् २०२५ मा विकसित अर्थतन्त्रहरूको आर्थिक वृद्धिदर १.६ प्रतिशत तथा उदीयमान र विकासोन्मुख अर्थतन्त्रहरूको वृद्धिदर ४.२ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।
त्यस्तै, सन् २०२६ मा विकसित अर्थतन्त्रहरूमा उपभोक्ता मुद्रास्फीति ३.१ प्रतिशत र उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रहरूमा ५.७ प्रतिशत रहने अनुमान गरिएको छ । सन् २०२५ मा यी दर क्रमशः २.५ प्रतिशत र ५.२ प्रतिशत रहेका थिए ।
मुद्रास्फीति ३.०८ प्रतिशतमा सीमित
नेपालमा आर्थिक वर्ष २०८२/८३ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.०८ प्रतिशत कायम भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यस्तो मुद्रास्फीति ४.०६ प्रतिशत रहेको थियो । यसअनुसार समीक्षा वर्षमा मुद्रास्फीतिमा कमी आएको छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीतिमार्फत वार्षिक औसत उपभोक्ता मुद्रास्फीति करिब ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको थियो । साथै, न्यूनतम सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य निर्धारण गरिएको थियो ।
आयात बढ्दा व्यापार घाटा १६.६ प्रतिशतले विस्तार
समीक्षा वर्षमा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवै बढेका छन् । कुल वस्तु निर्यात १३.८ प्रतिशतले वृद्धि भई ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कुल वस्तु आयात १६.२ प्रतिशतले वृद्धि भई २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।
आयातको वृद्धिदर निर्यातको तुलनामा बढी रहेकाले व्यापार घाटा पनि विस्तार भएको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १६.६ प्रतिशतले वृद्धि भई १७ खर्ब ८१ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । यस्तो व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत बराबर रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
चालु खाता र शोधनान्तर दुवै बचतमा
वैदेशिक क्षेत्रको अवस्था भने सकारात्मक देखिएको छ । आर्थिक वर्ष २०८२/८३ मा चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ । त्यस्तै, शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ।
२०८३ असार मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २५ अर्ब ३१ करोड रहेको छ ।
उक्त सञ्चितिले २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने प्रतिवेदनमा उल्लेख छ । मौद्रिक नीतिले निर्धारण गरेको न्यूनतम सात महिनाको आयात धान्ने सञ्चितिको लक्ष्यभन्दा यो निकै बढी हो ।
आर्थिक वर्ष २०८२/८३ मा नेपाल सरकारले अन्य प्राप्तिसमेत गरी कुल १२ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सोही अवधिमा कुल सरकारी खर्च १५ खर्ब ८२ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । यसअनुसार सरकारी खर्च राजस्व तथा अन्य प्राप्तिभन्दा बढी रहेको देखिन्छ ।
बैंकिङ क्षेत्रमा निक्षेप १३.९ प्रतिशतले वृद्धि
समीक्षा वर्षमा विस्तृत मुद्राप्रदाय १३.४ प्रतिशतले र सङ्कुचित मुद्राप्रदाय १७.९ प्रतिशतले वृद्धि भएको छ । कुल आन्तरिक कर्जा २.१ प्रतिशतले तथा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.६ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३.९ प्रतिशतले वृद्धि भएको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशतले बढेको छ।
तरलता व्यवस्थापनका क्रममा राष्ट्र बैंकले पटकपटक गरी कुल ४२५ खर्ब १६ अर्ब २५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । त्यस्तै, ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब ५० करोड रुपैयाँ तरलता प्रवाह गरेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत रहेको छ । २०८३ असारमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.२१ प्रतिशत, विकास बैंकहरूको ३.५६ प्रतिशत र वित्त कम्पनीहरूको ४.३१ प्रतिशत रहेको छ।
कर्जाको भारित औसत ब्याजदर भने वाणिज्य बैंकहरूको ६.५५ प्रतिशत, विकास बैंकहरूको ७.७० प्रतिशत र वित्त कम्पनीहरूको ८.५५ प्रतिशत रहेको छ ।
बैंक तथा वित्तीय संस्थाको सङ्ख्या १०५ पुग्यो
२०८३ असार मसान्तसम्म राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या १०५ पुगेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १६ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक रहेका छन्। यी संस्थाहरूका शाखा सङ्ख्या ११ हजार ३३२ पुगेको छ।
समीक्षा अवधिको अन्त्यमा वाणिज्य बैंकहरूको कुल सम्पत्ति तथा दायित्व १३.९ प्रतिशतले वृद्धि भई ९२ खर्ब २१ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।
विकास बैंकहरूको ५.८ प्रतिशतले वृद्धि भई ७ खर्ब ९७ अर्ब ४५ करोड, वित्त कम्पनीहरूको ८.३ प्रतिशतले वृद्धि भई एक खर्ब ९० अर्ब १८ करोड र लघुवित्त वित्तीय संस्थाहरूको ८.७ प्रतिशतले वृद्धि भई ६ खर्ब ५० अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ।
निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८३ असार मसान्तसम्म तीन खर्ब ६९ अर्ब ५५ करोड रुपैयाँ बराबरको कर्जा र १८ खर्ब ५७ अर्ब १७ करोड रुपैयाँ बराबरको निक्षेप सुरक्षण गरेको छ।
कालोसूचीमा एकलाख ७० हजारभन्दा बढी ऋणी
कर्जा सूचना केन्द्रमा २०८३ असार मसान्तसम्म कालोसूचीमा सूचीकृत ऋणीको सङ्ख्या १ लाख ७० हजार ७९३ पुगेको छ।
आर्थिक वर्ष २०८२र८३ मा विभिन्न बैंक तथा वित्तीय संस्था र हायर पर्चेज कम्पनीहरूले केन्द्रबाट कुल ६७ लाख ४ हजार ३५० पटक कर्जासम्बन्धी सूचना माग गरेका थिए।
यसमा २० वाणिज्य बैंक, एक पूर्वाधार विकास बैंक, १७ विकास बैंक, १६ वित्त कम्पनी, ५० लघुवित्त वित्तीय संस्था र १० हायर पर्चेज कम्पनी सहभागी थिए।
शेयर बजार पुँजीकरण ४४ खर्ब ६३ अर्ब
२०८३ असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकाङ्क २५९७.८ विन्दुमा कायम भएको छ। यस अवधिमा सेयर बजारको कुल बजार पुँजीकरण ४४ खर्ब ६३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।
बजार पुँजीकरण र कुल गार्हस्थ्य उत्पादनबीचको अनुपात ६७.६३ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।
विदेशी लगानी र ऋणको लेखाङ्कन
आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १९ अर्ब ५० करोड रुपैयाँ बराबरको विदेशी लगानी लेखाङ्कन भएको छ। त्यस्तै, ५० अर्ब २२ करोड रुपैयाँ बराबरको विदेशी ऋण लेखाङ्कन भएको छ।
राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति व्यवस्थापन तथा लगानीलाई विभिन्न बैंकहरूमा आवधिक निक्षेप, सुन, केन्द्रीय बैंकले जारी गर्ने ट्रेजरी बिल्स, नोट्स तथा बन्ड्स र बैंक फर इन्टरनेसनल सेटलमेन्टले जारी गरेका उपकरणलगायतमा केन्द्रित गरेको छ।
२०८३ असार मसान्तमा राष्ट्र बैंकको विदेशी विनिमय सञ्चिति लगानी अमेरिकी डलर २३ अर्ब १३ करोड रहेको छ।
८ खर्बभन्दा बढीका नोट चलनचल्तीमा
आर्थिक वर्ष २०८२/८३ मा राष्ट्र बैंकले विभिन्न दरका ८ करोड ४२ लाख ५० हजार थान नयाँ नोट निष्कासन गरेको छ। ती नोटहरूको कुल मूल्य ४६ अर्ब १० करोड १५ लाख रुपैयाँ रहेको छ। २०८३ असार मसान्तसम्म विभिन्न दरका गरी कुल ८ खर्ब ७ अर्ब ६९ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेका छन्।
राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व ४५ प्रतिशतले वृद्धि
२०८३ असार मसान्तमा राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्व अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा ४५.०६ प्रतिशतले वृद्धि भई ३८ खर्ब ७४ अर्ब ८२ करोड १० लाख ३७ हजार रुपैयाँ पुगेको छ।
विदेशी विनिमय तथा अन्य सम्पत्तिको पुनर्मूल्याङ्कनबाट भएको लाभ वा हानि समायोजन गर्नुअघिको खुद आय अघिल्लो वर्षको तुलनामा ३.८४ प्रतिशतले वृद्धि भई ८३ अर्ब ५६ करोड ९४ लाख ७६ हजार रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकको सञ्चालक समितिको २०८३ कात्तिक ३० गते बसेको बैठकले विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरेपछि बाँकी रहेको खुद मुनाफामध्ये ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ।
भुक्तानी प्रणालीमा बैंक तथा वित्तीय संस्थाको सहभागिता विस्तार
आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म २० वाणिज्य बैंक, १७ विकास बैंक, १५ वित्त कम्पनी र १९ लघुवित्त वित्तीय संस्थालाई भुक्तानी सेवा प्रदायकका रूपमा काम गर्न अनुमतिपत्र प्रदान गरिएको छ। यसमा थप सात लघुवित्त वित्तीय संस्था समावेश भएका छन्। समीक्षा अवधिमा १३ भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाको अनुमतिपत्र नवीकरण गरिएको छ।
२०८३ असार मसान्तसम्म २० वाणिज्य बैंक, १२ विकास बैंक, १३ वित्त कम्पनी र नेपाल पूर्वाधार विकास बैंक गरी कुल ४६ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध भएका छन्।
राष्ट्र बैंकमा एक हजार १६६ कर्मचारी
२०८३ असार मसान्तसम्म नेपाल राष्ट्र बैंकमा कुल १ हजार १६६ कर्मचारी कार्यरत रहेका छन्। तीमध्ये प्रशासनतर्फ १ हजार ९१ र प्राविधिकतर्फ ७५ जना रहेका छन्।
तहगत रूपमा अधिकृततर्फ ७०२, सहायकतर्फ ४१३ र श्रेणीविहीन कार्यालय सहयोगीतर्फ ५१ जना कर्मचारी कार्यरत रहेको प्रतिवेदनमा उल्लेख छ।
समग्रमा, आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.६८ प्रतिशतमा सीमित रहे पनि मुद्रास्फीति घटेको, विदेशी विनिमय सञ्चिति बढेको, चालु खाता तथा शोधनान्तर बचतमा रहेको र बैंकिङ क्षेत्रमा निक्षेप विस्तार भएको देखिन्छ। यद्यपि, आयातको तुलनामा निर्यातको वृद्धि कम रहनु, व्यापार घाटा बढ्नु तथा सरकारी खर्च राजस्वभन्दा बढी रहनु अर्थतन्त्रका महत्वपूर्ण चुनौतीका रूपमा देखिएका छन्।