Below Menu

नेपाली सफ्टवेयरको प्रवद्र्धन गर्न सरकारी नीतिमै परिवर्तन आवश्यक : दिपेन चापागाईँ

नेपाली सफ्टवेयरको प्रवद्र्धन गर्न सरकारी नीतिमै परिवर्तन आवश्यक : दिपेन चापागाईँ

काठमाडौं : नेपालमै विकास भएका सफ्टवेयरले स्वदेशी बजारको आवश्यकता पूरा गर्न सक्ने क्षमता विकास गरिसकेको भन्दै सूचना प्रविधि क्षेत्रका व्यवसायीले नेपाली उत्पादनको प्रयोग बढाउने नीति ल्याउन सरकारसँग आग्रह गरेका छन् । नेपाली सफ्टवेयरलाई सरकारी तथा निजी क्षेत्रका विभिन्न निकायमा प्रयोग गर्न प्रोत्साहन गर्ने कार्यक्रम आवश्यक रहेको उनीहरूको भनाइ छ ।

Sponsored Advertisement

नास आईटीका अध्यक्ष दिपेन चापागाईँले नेपालमा विकास भएका सफ्टवेयर गुणस्तर र विश्वसनीयताका हिसाबले अन्तर्राष्ट्रिय बजारमा समेत प्रयोग भइरहेकाले स्वदेशी बजारमा पनि तिनको प्रयोग विस्तार गर्नुपर्ने बताए ।

नेपालबाट लामो समयदेखि विभिन्न प्रकारका सूचना प्रविधिसम्बन्धी सेवा तथा उत्पादन विश्वबजारमा निर्यात हुँदै आएको छ । त्यसैगरी नेपाली बजारलाई लक्षित गरेर पनि विभिन्न क्षेत्रका सफ्टवेयर विकास भइरहेका छन् । तर नेपालमै बनेका सफ्टवेयरबारे जानकारी दिने र उत्पादक तथा सम्भावित खरिदकर्तालाई जोड्ने साझा प्लेटफर्मको अभाव रहेको चापागाईँको भनाइ छ ।

‘नेपालमै निर्माण भएका सफ्टवेयरले नेपालको आवश्यकता पूरा गर्न सक्ने स्तर हासिल गरेका छन् । त्यसैले सबै क्षेत्रमा नेपाली सफ्टवेयरको प्रयोगलाई प्रोत्साहन गर्ने खालका नीति निर्माण र कार्यक्रम ल्याउन आवश्यक छ,’ उनले भने ।

उनका अनुसार नेपाली सफ्टवेयरको प्रवद्र्धनका लागि बजारमा उत्पादनको उपलब्धता मात्र पर्याप्त हुँदैन । सम्भावित प्रयोगकर्तालाई स्वदेशी सफ्टवेयरबारे जानकारी गराउने, तिनको उपयोगिता मूल्यांकन गर्ने र उत्पादक कम्पनीसँग प्रत्यक्ष जोड्ने वातावरण पनि आवश्यक छ ।

यही उद्देश्यले नास आईटीले सफ्टवेयर उत्पादक, सम्भावित खरिदकर्ता, लगानीकर्ता तथा व्यावसायिक साझेदारलाई एउटै स्थानमा ल्याउने गरी आईटी एक्स्पो आयोजना गर्न लागेको हो । एक्स्पोमा ३१ वटा सफ्टवेयर कम्पनीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्नेछन् ।

चापागाईँका अनुसार एक्स्पोमा विशेषगरी कर्पोरेट क्षेत्रका निर्णयकर्ता तथा सफ्टवेयर खरिद गर्ने संस्थाका प्रतिनिधिलाई सहभागी गराउने लक्ष्य राखिएको छ । यसबाट नेपाली सफ्टवेयर कम्पनीले आफ्ना उत्पादन सम्भावित ग्राहकसमक्ष प्रस्तुत गर्न र व्यावसायिक कारोबारको अवसर खोज्न सक्नेछन् ।

उनले एक्स्पोलाई बिक्री तथा बजार विस्तारको माध्यमका रूपमा समेत विकास गर्न खोजिएको बताए । सफ्टवेयर कम्पनीले आफ्ना उत्पादन कसरी प्रभावकारी रूपमा प्रस्तुत गर्ने, सम्भावित ग्राहकसँग कसरी संवाद गर्ने र बिक्री रणनीति कसरी सुधार गर्ने भन्ने विषयमा पनि कार्यक्रम सञ्चालन गरिनेछ ।

यस वर्ष एक्स्पोमा तीनवटा संवाद कार्यक्रम राखिएको छ । ती कार्यक्रममा नेपाली सफ्टवेयरलाई विश्वबजारमा विस्तार गर्ने सम्भावना, अन्तर्राष्ट्रिय बजारमा प्रवेशका लागि भइरहेका प्रयास तथा स्वदेशी बजारमा सफ्टवेयर सेवा प्रदान गरिरहेका कम्पनीका अनुभवबारे छलफल हुनेछ ।

नेपालमै बनेका सफ्टवेयरलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने सम्भावनासँगै स्वदेशी बजारको माग पूरा गर्ने अवसर पनि उत्तिकै महत्त्वपूर्ण रहेको चापागाईँको भनाइ छ । उनका अनुसार नेपाली कम्पनीले विश्वबजारका लागि उत्पादन विकास गर्दा स्वदेशी प्रयोगकर्ताको आवश्यकता पनि सम्बोधन गर्न सक्छन् ।

गत वर्ष आयोजित एक्स्पोमा २ हजार ५०० भन्दा बढीको सहभागिता रहेको थियो । यस वर्ष त्योभन्दा बढी सहभागिता हुने आयोजकको अपेक्षा छ । एक्स्पोमा सफ्टवेयर खरिदकर्ता तथा व्यावसायिक प्रतिनिधिका अतिरिक्त प्रविधि विकास र नवप्रवर्तनमा रुचि राख्ने युवा तथा सर्वसाधारणलाई पनि लक्षित गरिएको छ ।

चापागाईँले सूचना प्रविधि क्षेत्र नेपालको अर्थतन्त्रमा योगदान पुर्‍याउन सक्ने सम्भावनायुक्त उद्योग भएको उल्लेख गर्दै स्वदेशी उत्पादनको प्रयोग र प्रवद्र्धनका लागि सरकार, निजी क्षेत्र तथा प्रयोगकर्ता सबैको सहकार्य आवश्यक रहेको बताए ।

थप समाचार