Below Menu

पुराना भारतीय लगानीको अभिलेखीकरणको गाँठो फुकाए नयाँ लगानी भित्रिने ढकालको विश्वास

पुराना भारतीय लगानीको अभिलेखीकरणको गाँठो फुकाए नयाँ लगानी भित्रिने ढकालको विश्वास

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २०४६ सालको आर्थिक उदारीकरणपछि नेपालमा भित्रिएका पुराना विदेशी लगानी, विशेषगरी भारतीय लगानीको अभिलेखीकरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।

Sponsored Advertisement

१२औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको मूल समारोहमा मन्तव्य राख्दै ढकालले पुराना विदेशी लगानीको अभिलेखीकरण नहुँदा लगानीकर्ताले व्यवसाय विस्तार गर्न, थप पुँजी भित्र्याउन, प्रतिफल लैजान र व्यवसायबाट बाहिरिनसमेत समस्या भोग्नुपरेको बताएका छन्।

उनले यस विषयमा उद्योगमन्त्री र मन्त्रालयका सचिवको विशेष ध्यानाकर्षण गराएका छन्।

“उद्योग प्रवर्द्धन बोर्डमार्फत एकपटकका लागि यस्ता पुराना लगानीको अभिलेखीकरणको गाँठो फुकाइदिने हो भने नेपालमा काम गरिरहेका लगानीकर्ताबाट सकारात्मक सन्देश जानेछ र यसले नयाँ वैदेशिक लगानी (एफडिआई) भित्र्याउन ठूलो मद्दत पुग्नेछ,” ढकालले भने।

सोही अवसरमा उनले नयाँ सरकारले निजी क्षेत्रलाई उच्च प्राथमिकता दिएको भन्दै प्रशंसा गरे। सम्मानित व्यक्तित्वहरूको तर्फबाट मन्तव्य राख्दै ढकालले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले नै ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति’ पारित गरेर निजी क्षेत्रलाई अर्थतन्त्रको वास्तविक संवाहकका रूपमा सम्मान गरेको उल्लेख गरे।

निजी क्षेत्र रोजगारी सिर्जना, राजस्व संकलन र पूर्वाधार निर्माणको मुख्य आधार भएको बताउँदै उनले नयाँ सरकारले यसलाई आत्मसात् गरेको बताए।

“पूर्वाधार सम्मेलनको तयारीका क्रममा ५९ वटाभन्दा बढी कानुन संशोधन गर्ने सरकारको कदम अत्यन्तै सराहनीय छ। अब यसको भावनाअनुरूप तल्लो तहसम्म प्रभावकारी कार्यान्वयन हुनुपर्छ,” उनले भने।

ढकालले उद्योग मन्त्रालय र उद्योग विभागले सेवा प्रवाहमा गरेको सहजीकरण तथा डिजिटलाइजेसनको पनि प्रशंसा गरे। निजी क्षेत्रमैत्री नीतिगत सुधारले थप गति लिने विश्वास उनले व्यक्त गरे।

‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य, निजी क्षेत्रका छाता संगठनका प्रमुख तथा उद्योगी व्यवसायीहरूको उपस्थिति थियो।

सो अवसरमा अध्यक्ष ढकाललाई सम्मानसमेत गरिएको थियो।

थप समाचार