Below Menu
Below Menu

सहकारी जोगाउन सदस्य शिक्षामा जोड दिऔं : जि.सी.

सहकारी जोगाउन सदस्य शिक्षामा जोड दिऔं : जि.सी.

पोखरा : राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको संकटबाट सहकारीलाई जोगाउनका लागि सदस्य शिक्षालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।

पोखरामा सञ्चालित उज्वल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार आयोजित १५ औं वार्षिक साधारणसभाको उद्घाटनपछि बोल्दै जिसीले यस्तो बताएका हुन् ।

‘सहकारी सदस्यहरुको हो । सहकारीलाई सञ्चालन, संरक्षण र विकासमा सदस्यकै भूमिका हुन्छ’, जिसीले भने, ‘सदस्य भन्दा सञ्चालक हावी भएका कारण कतिपय सहकारीमा समस्या आएको छ, यसलाई सुधार गर्न आवश्यक छ ।’
सहकारीमा शेयर सदस्य बन्ने तर कारोबार नगर्ने सदस्य र नियमित कारोबार गर्ने सदस्यलाई शेयर लाभांशका नाममा दिने मुनाफाका कारण सहकारीका सक्रिय सदस्य नबढेपछि सहकारी ऐनमै व्यवस्था गरेर संरक्षित पूँजि फिर्ताकोषको व्यवस्था गरिएको जिसीको भनाइ थियो ।

कार्यक्रममा आदर्श समाज दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बाँस्तोला, संस्थाका सल्लाहकार नारायण कार्की, संस्थाको अनुगमन समितिका संयोजक राजेन्द्र लिगल, सदस्य बाबुराम पन्त, गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष पदमराज पहारी, सम्मानित सदस्य उषा काफ्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष नरेन्द्र बाँस्तोलाको अध्यक्षता, सचिव सुरेन्द्र बाँस्तोलाको सञ्चालन र सञ्चालक सदस्य पुजन राजभण्डारीको स्वागतमा सम्पन्न भएको थियो ।

साधारणसभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष नरेन्द्र बाँस्तोलाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष मिना कुमारी गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक बैकुण्ठराज तिम्सेनाले प्रस्तुत गरेको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पारित गरेको छ ।

Advertisment

थप समाचार