काठमाडौं : नेपाल बैंकर्स संघले बचतको ब्याजदर घटाउने निर्णय गरेको छ। आज बसेको संघको बैठकले मुद्दती निक्षेपमा दिइने ब्याजदर यथावत राख्दै बचतमा भने घटाउने निर्णय भएको हो । परिमार्जित ब्याजदर चैत १ गतेबाट लागू हुनेछ ।
अहिले बचतको ब्याज दर ६.४२ देखि ८.४ प्रतिशतसम्म छ। यसलाई ६ देखि ८ प्रतिशत कायम गर्ने निर्णय भएको हो। अहिले कुल निक्षेपमा बचतको हिस्सा २८ प्रतिशत छ। बचतको ब्याज घट्ने बित्तिकै आधार दर कम हुने जनाइएको छ ।
ऋणको प्रिमियम दर पनि बैंकले घटाउने भएका छन्। अब आधार दरमा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने छ। यसअघि ६ प्रतिशतसम्म कायम गर्ने निर्णय भएको थियो। यसपछि कर्जाको ब्याजदर औसत १ प्रतिशतले कमी आउने अपेक्षा गरिएको छ ।
Advertisment