उमेश रघुवंशी
प्रमुख कार्यकारी अधिकृत, इन्फोडेभलपर्स प्रा.लि.
इन्फोडेभलपर्स आजबाट २१औं वर्ष प्रवेश गरेको छ । दुई दशकबढीको यो यात्रा कस्तो रह्यो?
यति लामो यात्रा गर्नु एउटा पहाड चढ्नु बराबर नै हो । बेसीबाट विस्तारै विस्तारै पहाड चढ्दै, बीचमा गाह्रो हुन्छ । थकाई मार्दै यात्रा तय गरिन्छ । पुनः थकाइ मारिन्छ, उचाइ हेरिन्छ । अब पुगिन्छ, अब पुगिन्छ भन्दै अघि बढिन्छ । वास्तवमा हामी पनि यसरी नै अघि बढेका छौं । हामी चुचुरोमा पुगि सकेका त छैनौ, नजिक छौंकी जस्तो लाग्छ । मुख्य कुरा भोली के हुन्छ, यति पैसा कमाउने, उति पैसा कमाउने भन्दा पनि अभियानको रुपमा अघि बढेका छौं । नेपालको सहकारी अभियान, लघुवित्त क्षेत्र र वित्तीय क्षेत्रमा योगदान गर्नुपर्छ भन्ने हिसाबमा यस कम्पनीको सुरुवात भएको हो ।
आजको दिनमा आइपुग्दा परिस्कृत भएका छौं । विभिन्न क्षेत्रहरुमा काम गर्दै आएका छौं । सहकारी र लघुवत्त क्षेत्र हाम्रा मुख्य खम्बा हुन् । विदेशमा भएको भए २१ वर्षको दौरानमा के के गरिन्थ्यो होला ? तर, नेपालको परिवेशमा यति गर्नु पनि ठुलै हो जस्तो लाग्छ । सुख, दुःख झेल्दै समाज र मुलुकका लागि गर्नुपर्ने योगदानहरु गरेका छौं । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, गैरसरकारी निकायलाई अनवरत सेवा प्रवाह गरिरहेका छौं ।
वर्तमानमा इन्फोडेभलपर्स आफुले आफुलाई कहाँ पाउँछ?
२० वर्षको अवधिमा धेरै क्षेत्रमा आमुल परिवर्तन भएका छन् । सकारात्मक र नकारात्मक दुबै कुरामा परिवर्तन आएका छन् । हरेक सकारात्मक कुरामा नकारात्मकता वाइ प्रडक्टको रुपमा रहन्छ । ३ वटा साना साना कोठाबाट सुरु भएको इन्फोडेभलपर्स २० हजार स्क्वायर वर्गमिटरका चार वटा अफिस विल्डिङमा फैलिएको छ । ३ जनाबाट सुरु भएको कम्पनीमा हाल ३ सय ६५ जना आवद्ध छन् । हरेक कुरामा हामी फड्को मारेका छौं ।
कुरा के मात्र हो भने कति फड्को मानुपर्ने थियो र कति मारियो भन्ने हो । तर, २१ वर्षसम्म एउटा कम्पनी जिउँदै राखेर अझै अघि बढ्छु भन्ने अवस्था छ, त्यही कुरा पनि ठुलै उपलब्धि हो । केही हदसम्मको समृद्धि पनि हासिल गरेका छौं । परिपक्क भएका छौं । देश विकासमा सेवा पनि गरिरहेका छौं । नेपालका विभिन्न संघ संस्थालाई सूचना प्रविधिको सेवा प्रवाह गरिरहेका छौं । स्थापना काल र अहिलेको दिनमा धेरै परिवर्तन आएको छ । आएको परिवर्तनलाई आत्मसात् गर्दै देश, संघ संस्थालाई विकशित सेवा प्रवाह गरिहरेका छौं ।

इन्फोडेभलपर्सलाई आम सर्बसाधरणले कसरी चिन्ने?
एउटा विशुद्ध नेपाली कम्पनी । नेपालीकै श्रोत साधनमा सञ्चालन भएको कम्पनी । कम लगानीबाट पनि प्रगति हासिल गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पेश गरेको घरेलु संस्था । नेपालमै बसेर राम्रो काम गर्न सक्दो रहेछ भन्ने मानक स्थापना गर्न सफल कम्पनी हो । नेपालका ठूलो सूचना प्रविधि कम्पनीहरु मध्येको एक कम्पनी–इन्फोडेभलपर्स पनि हो ।
यसले प्रवाह गर्ने सेवा के कस्ता छन्?
हामी विभिन्न क्षेत्रमा काम गर्दछौं । नेपालको बैंकिङ क्षेत्रको ६० प्रतिशत नेटर्वक हामीले कभर गरेका छौं । केही ‘क’ वर्गका बैंकहरु, सम्पूर्ण विकास बैंकहरु, धेरै फाइनान्स कम्पनीहरु, सहकारी र लघुवित्त कम्पनी र आर्थिक क्षेत्रहरुमा हाम्रो उपस्थिति छ । क्यापिटल मार्केटमा पनि दह्रो उपस्थिति छ । नेपाल सरकारको विभिन्न आईटी प्रयोजनमा पनि सहभागि भएर विश्व स्तरिय सेवा प्रवाह गरिरहेका छौं । वेबसाइट डेभलपमेन्ट, मोबाईल एप्लिकेशन, एआईका केही कुराहरुमा काम गरिरहेका छौं । समग्रमा भन्नु पर्दा आईटीका विभिन्न क्षेत्रहरुमा सबल उपस्थिती जनाई सेवा प्रवाह गरिरहेका छौं ।
सहकारी क्षेत्रको डिजिटलाईजेशनमम इन्फोडेभलपर्सको महत्वपूर्ण भूमिका छ । सहकारीलाई प्रविधिमैत्री बनाउने कम्पनीका प्रयास र भूमिकाबारे केही बताइदिनुहुन्छ कि?
सहकारीलाई प्रविधिमैत्री बनाउनैका लागि कोर बैंकिङ सिष्टमको विकास गरेका हौं । कोर बैंकिङ सुरु गरेपछि सहकारीको कारोबार कम्पुटराईज्ड भई पारदर्शी भयो । नेपालमा पहिलो पटक सहकारीमा एटीएम सेवा सुरुवात गर्यौं ।
त्यस्तै सहकारीमा मोबाई बैंकिङ सेवा पनि हामीले नै सुरु गरेका हौं । ट्यावलेट बैंकिङ मात्रै नभएर सहकारीका बजेट अटोमेशन, प्रोसेस अटोमेशन लगायतका विभिन्न अटोमेशनका सिष्टमहरु हामीले ल्याएका हौं । हामीसँग १४ सय ग्राहक जोडिएका छन् । सहकारी संघसंस्था मात्रै १३ सय जति जोडिएका छन् । सहकारीलाई लेस–पेपरमा लैजान खोजिरहेका छौं । जसका लागि आवश्यक सम्पूर्ण सेवाहरु हामीले तयार गरेका छौं ।
सहकारी क्षेत्र प्रविधिमा जानुको विकल्प देखिँदैन । तर, निकै खर्चिलो छ भन्छन् नी ?
प्रविधि मात्रै भएर पनि हुँदैन । सबैभन्दा ठूलो कुरा मानसिकता हो । मानसिकतामा परिवर्तन आउनु पर्छ । प्रविधि संसारमा धेरै छन् । प्रविधिसँगै मानसिकतामा परिवर्तन आउनु पर्छ । संस्थामा परिवर्तन ल्याउँछु, प्रविधिलाई आत्मसाथ गर्छु, सम्पूर्ण कार्य प्रणालीलाई पारदर्शी बनाउँछु भनेर मानसिकताको विकास हुनुपर्छ । त्यसपछिमात्रै प्रविधिको भूमिका रहन्छ । केही सहकारीले बुझिसकेका अवस्था छ । जस्तै संस्थामा डाटा राख्नुभन्दा सर्भिस प्रोभाईडरले डाटा राख्दा सुरक्षित हुन्छ, साईबर सेक्वेयर हुन्छ भन्ने बुझेका छन् । सहकारीमा पनि विस्तारै परिवर्तन हुँदै आएको छ । अहिले सहकारीमा केही समस्या देखिएको छ । समस्या आउनुको पछाडिको कारण गभर्नेसन नहुँदा आएको हो ।
सहकारीमा आएको समस्या हेर्ने, झेल्ने र भोलिका दिनमा आउन नदिन के गर्नुपर्छ? पक्कै पनि एउटा राम्रो सुरक्षित कम्प्युटर सिस्टम, अटोमेशन हुनुपर्छ भन्ने कुरामा हामीले बुझाईरहेका छौं । विस्तारै परिवर्तन हुँदैछ । प्रविधि मात्र प्रयोग गर्ने नभएर राम्रो प्रयोग गर्नुपर्ने हुन्छ । कस्तो व्यक्तिले चलाएको संस्था हो भनेर पनि हेर्नुपर्ने हुन्छ ।
कम्पनी छनोट गर्दा के कस्ता विषयमा ध्यान दिनुपर्दछ ?
कम्पनी छनोट गर्दा सबैभन्दा पहिला उसको प्रगति हेर्नुपर्ने हुन्छ । कम्पनी कस्ता व्यक्तिले सञ्चालन गरेका छन् । नाफा खोरी व्यक्तिले कम्पनी चलाएको हो की ? बिजनेश भनेको पैसाकै लागि गर्ने हो तर नाफा ‘सेकेन्डरी’ कुरा हो । संस्थाको विश्वसनियता, कसले चलाइरहेको छ?, यस क्षेत्रमा पैसा छ भनेर असान्दर्भिक व्यक्ति लागेर कम्पनी चलाइरहेका पो छन् की ? यी सबै कुराहरु हेर्न जरुरी छ । सबै कुराहरु हेरी ‘रेटिङ’ गरेर मात्र कम्पनी छनोट गर्नुपर्दछ ।
Advertisment