Below Menu
Below Menu

‘राष्ट्रिय सहकारी बैंक रुपान्तरणको समयमा छ’

‘राष्ट्रिय सहकारी बैंक रुपान्तरणको समयमा छ’

मुलुककै ठूलो सहकारी झापास्थित सहारा बचत तथा ऋण सहकारी संस्थाको सोचदेखि सफलतासम्म जोडिएका अभियन्ता हुन् महेन्द्र कुमार गिरी । कुशल सहकारी सञ्चालक उनी उत्तिकै कुशल व्यवस्थापक पनि सावित भएका छन् । उद्यमशीलता, कृषि, नवप्रवर्तन, लगानी आदिका क्षेत्रमा समेत गिरी समानान्तर तवरले आवद्ध छन् । र, सकारात्मक सोच र निरन्तर मिहेनतको बलमा विविध क्षेत्रमा सफलता प्राप्त भएको दाबी गर्छन् । विचारमा महत्वाकांक्षी गिरी बुझाइमा स्पष्ट सुनिन्छन् र व्यवहारमा लगनशील देखिन्छन् । सहकारीमार्फत समुदायका पिछडिएका वर्ग र समुदायको सामाजिक आर्थिक उत्थान सम्भव भएपनि त्यसका लागि नीतिगत एवम् कानुनी गाँठाहरु फुकाइनुपर्ने धारणा उनी राख्दछन् । परिस्थिति जन्य कारणले राष्ट्रिय सहकारी बैंकको अध्यक्ष बनेका गिरीले दुर्घटनाको डिलमा पुगेको बैंकलाई सेफल्याण्डिङ गराएका छन् । अब निर्वाचनमार्फत नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरी बैंकलाई संस्थागत दिगोपनाको रनवेमा अघि बढ्न अभिभावकीय भूमिकामार्फत सहयोग गर्न तम्तयार छन् । बाँकी छ त केवल नेपाल राष्ट्र बैंकको ग्रिन सिग्नलको । यसै सन्दर्भमा गिरीसँग सहकारी बैंकको सेरोफेरोमा रहेर गरेको संवादको सम्पादित अंशः

Sponsored Advertisement

संकटग्रस्त अवस्थाको राष्ट्रिय सहकारी बैंकको जोखिम न्यूनीकरण के कसरी सम्भव भयो ? अहिले हामी कहाँ छौं ?

बैंकको अध्यक्ष बनेको एक वर्षमा धेरै करोठ निर्णयहरु भए । त्यही कठोर निर्णयहरुकै कारण बैंक सुरक्षित अवस्थामा छ । यो अवधिलाई म रूपान्तरणको समयका रूपमा लिन्छु । मैले जिम्मेवारी सम्हाल्दा बैंक तरलताको दबाबमा थियो । सहकारी बैंकप्रति समग्र रूपमा नकारात्मक धारणा बनेको अवस्था थियो । तर आजको अवस्था फरक छ, त्यो सबैले महशुस पनि गर्नु भएकै छ । अहिलेको टिमले सदस्य सहकारी र कर्मचारीहरूको भरोसा, आत्मविश्वास र मनोबल उठाउने काममा ध्यान दियौं । आन्तरिक व्यवस्थापनलाई पनि व्यवस्थित गर्नमा केन्द्रित भयौं । 

२५ वटा ऋणमा ५ अर्ब फसेको छ । धितो लिलामीको प्रक्रिया अघि बढेको छ । कस्ता कस्ता व्यक्तिहरुको धितो लिलामी परेको सबैलाई थाहा नै छ । चार जना त सांसद नै हुनुहुन्छ । जेलबाट गोली ठोक्छु भनिरहेका छन् । कठोर निर्णय गरेको थिएन भने बैंक अहिलेको अवस्थामा आउने थियो? पाँच अर्ब प्रोभिजन गर्न सञ्चालकले दिएको थिएन भने बैंकको अवस्था के हुन्थ्यो ? हामी जेल जानु पर्ने थिएन ? अहिलेका सञ्चालकहरुले धेरै बुझ्नु भएको छ । दुई कार्यकाल अध्यक्ष हुनुभएको रमेश पोखरेलले विगतमा केही बुझ्नुभएको थिएन । हामीले पनि त्यति वास्ता गरेनौं ।  खासमा हामी सबैले केबी सरले जे गर्न भन्नु भयो त्यसैलाई हुन्छ भन्यौं मात्र । तर, अहिले त्यस्तो छैन । सबैले बुझेका छन् र सिकेका छन् ।

बैंक घाटामा थियो, पुँजीकोष पर्याप्त थिएन । बैंकले घाटा कम गर्दै नाफाको यात्रामा अघि बढेका छौं । आगामी वर्ष बैंक नाफामा जानेमा हामी आशाबादी छौं । सदस्यसँगको सम्बन्ध मजबुत बनाउने उद्देश्यले सदस्य संलग्नता कार्यक्रम, तालिम, स्तरीकरण र उद्यमशीलता विकासका कार्यक्रमहरू सञ्चालन गरेका छौँ । यी पहलहरूले बैंकप्रति सदस्य संस्थाको अपनत्व बढाएको छ र संस्थागत मजबुतीमा सहयोग पुगेको छ ।

राष्ट्रिय सहकारी बैंक ‘बैंक’ नबनेर अभियान बन्दा समस्या आएको भनिन्छ नि?

महासंघ पनि आफै हुने प्रवृति छ । नेफ्स्कून पनि महासंघ बन्ने । सबैको आ-आफ्नो कार्यक्षेत्र छ । जसको कार्यक्षेत्रको जुन हो त्यसैमा काम गर्नुपर्छ । केही हदसम्म एक आपसमा जुधेर नै यो समस्या देखिएको हो । मैले साथीहरुलाई स्पष्टसँग के भनेको छु भने आफूलाई चाहिने कुरा बाहेक अन्य सबैकुराहरु महासंघमार्फत ललिङ गरौं । बरु त्यसका लागि कति खर्च लाग्छ फण्डिङ गरिदिने । 

मेरो प्रष्ट धारणा के हो भने बैंकको नेतृत्वमा म हुँदिन । नेतृत्व हस्तान्तण नै हो । परिस्थितीले अध्यक्षको जिम्मेवारी पाएको हुँ । धेरै कामहरु भएका छन् । यो नेतृत्वले गरेको उपलब्धीहरु पनि केही दिनमा सार्वजनिक हुँदैछन् । मेरो चाहना हुने हो भने सर्वसम्वत नै छ ।

राष्ट्रिय सहकारी बैंक नयाँ नेतृत्व चयनको प्रक्रियामा छ । नयाँ नेतृत्वको विषयमा तपाईंको धारणा के हो?

मेरो प्रष्ट धारणा के हो भने बैंकको नेतृत्वमा म हुँदिन । नेतृत्व हस्तान्तण नै हो । परिस्थितीले अध्यक्षको जिम्मेवारी पाएको हुँ । धेरै कामहरु भएका छन् । यो नेतृत्वले गरेको उपलब्धीहरु पनि केही दिनमा सार्वजनिक हुँदैछन् । मेरो चाहना हुने हो भने सर्वसम्वत नै छ । बस्नुपर्छ भनेर प्रेसर पनि छ । तर मैले के बुझे भने मैले समय धेरै दिन सक्दिन । समय दिन नसक्ने ठाउँमा बस्नु हुँदैन । चार ठाउँमा बसेर समय दिन नसक्ने भए किन बस्नु ? समय नदिएपछि संस्थाले सहि दिशा तय गर्न सक्दैन ।

एक वर्षमै सहकारी बैंकमा धेरै परिवर्तन आएको छ । इच्छा शक्ति र गर्ने चाहना हुँदा गर्न सकिने रहेछ भन्ने उदाहरण प्रस्तुत गरेका छौं । सबैको चाहना राम्रो मान्छे ल्याउने नै हो । राम्रो, प्रोफेशनल मान्छे ल्याउन एक्ससाईज भईरहेको छ । हिजोको जस्तो तरिकाले बैंक चलाउने दिने छैनौं । हिजो कतिपय कुरा बुझेका थिएनौं, चलाईयो । अब त्यस्तो हुन दिदैनौं । प्रतिपक्षको रुपमा हुनेछौं । अब हामी डाटा हेर्छौं । सहकारी बैंक सुधारका २५ बुँदे सुझाव व्यवस्थापनलाई दिएका छौं । 

पहिलो कुरा बैंकको स्वस्थता जाँच हुनुपर्छ भन्ने मान्यता मेरो हो । स्तरीकरण कार्यक्रम भनेर सदस्यको गर्ने अनि आफ्नो चाँही नगर्ने? पहिला आफ्नो जाँच गर्ने ठीक छ भने सदस्यको स्वस्थता जाँच गर्ने । कमीकमजोरी छन् भने सुधार गर्दै लैजानु पर्यो। 

बैंक सुधारको २५ बुँदे कार्यदिशाको कुरा गर्नुभयो । के-कस्ता कुरा छन् त्यसमा ?

सञ्चालक र व्यवस्थापन दुबैलाइै समेटेर तयार गरिएको छ । कतिपय कुराहरु कठोर पनि छन् । कार्यान्वयन गर्न अप्ठेरा पनि हुन सक्छ । सञ्चालकहरुका संस्थाले ऋण लिन नपाउने कुराहरु छन् । नाफा नहुँदासम्म विदेश जान नपाउने पनि समावेश छन् ।

स्वस्थता जाँच, सानो सानो ऋण लगानी (पाँच करोडसम्म)का कुराहरु गरेका छौं । अब आउने सञ्चालकले ऋण लगानी र कर्मचारी परिचालनमा हस्तक्षेप नगर्ने र एक खालको वातावरण बनाईदिने हो भने बैंक नाफामा जान्छ ।  

प्रोफेशनल मान्छे आउनुपर्छ भन्नु त भयो तर राजनीतिक हस्तक्षेपको सम्भावना त प्रवल देखिन्छ नि?

राजनीति सबैतिर छ । राजनीतिबाट अछुतो कोही छैन । राजनीतिलाई पनि व्यवस्थापन गर्दै लैजानुपर्छ । नेतृत्वलाई कुरा बुझाएर अघि बढ्नुपर्छ । कतिपय साथीहरुले कुरा समेत नबुझाउने हुनुहुँदो रहेछ । हाम्रा मात्रै साथीहरु ल्याउनुपर्छ भनेर लविङ गर्ने हिड्नुहुने रहेछ ।

कतिपय साथीहरु विरक्त पनि हुनुभएको छ । कतिपय अवस्थामा नेतृत्वले राम्रो मान्छे छान्नु पनि भन्नुभएको छ । ‘बाहिर ‘फलानो आउने रे !’ भन्ने हल्ला सुनिन्छ । तर, यसपटक बैंकमा त्यसरी आउँदैन । त्यस्तो अवस्था आयो भने विद्रोह पनि हुनसक्छ ।  प्रोफेशनल मान्छे आउनुपर्यो । सबै अट्ने हुनुपर्याे । एक पक्षीय बनाएर हुँदैन ।

बैंक अझै राम्रो हुन्छ । राष्ट्र बैंकले पनि सुशासनको कुराहरु पटक पटक गरेको छ । निर्वाचनबाट राम्रो, सक्षम र प्रोफेशनल टिम आउँछ।

एउटा सहकारीलाई सफल बनाउने सुत्र के हो?

एउटा सहकारी सफल बनाउन सबैभन्दा पहिलो शर्त सही नियत हो । सहकारीको नेतृत्वमा आउने व्यक्तिले स्वयंसेवी भावनाका साथ सेवा गर्छु भन्ने सोच लिएर आउनुपर्छ । व्यक्तिगत स्वार्थ, लोभ वा फाइदाको अपेक्षा बोकेर सहकारीमा प्रवेश गर्दा संस्था कहिल्यै सबल बन्न सक्दैन ।

दोस्रो महत्वपूर्ण कुरा भनेको सक्षम र मजबुत व्यवस्थापन हो । अध्यक्ष वा सञ्चालकले मात्र सबै काम गरेर संस्था चल्छ भन्ने सोच गलत हो । सञ्चालक समितिले नीति, योजना र दिशानिर्देशन तय गर्ने हो भने त्यसको कार्यान्वयन व्यवस्थापनले गर्नुपर्छ । कर्मचारी नियुक्ति, ऋण लगानी जस्ता कार्यमा सञ्चालकको प्रत्यक्ष हस्तक्षेप हुनु हुँदैन । त्यसैगरी कर्मचारीहरू पनि संस्थाप्रति प्रतिबद्ध, अनुशासित र जिम्मेवार हुन आवश्यक छ । समयअनुसार शिक्षा, तालिम र नियमित बैठकहरू सञ्चालन हुनुपर्छ ।

सहकारी सञ्चालनमा ऋण लगानी अत्यन्त संवेदनशील विषय हो । क्षमताभन्दा ठूलो ऋण प्रवाह गर्नु हुँदैन । सहकारी सहकारीकै रूपमा चल्नुपर्छ, बैंक बन्ने होडबाजी गर्नु हुँदैन । ठूला–ठूला निक्षेप संकलनमा भन्दा दीर्घकालीन बचत संस्कृतिमा ध्यान दिनुपर्छ । उदाहरणका लागि, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ‘सन्तति बचत’ खाता सञ्चालनमा ल्याएको छ, जहाँ अभिभावकले आफ्ना सन्तानको नाममा बचत गर्न सक्छन् र भविष्यमा सो रकम अंशको रूपमा उपयोग गर्ने नीति बनाइएको छ ।

समय सापेक्ष बचत र कर्जाका नयाँ–नयाँ उत्पादन विकास गर्नुपर्छ । अरु सहकारीको नक्कल मात्रै गर्नु हुँदैन । आवश्यकता अनुसार परिमार्जन र सुधार गर्दै जानुपर्छ । सहकारी लाभांशमुखी मात्र हुनु हुँदैन । सेयर पुँजी सदस्यहरूबीच सकेसम्म समान हुनुपर्छ । सहारा नेपाल साकोसले सबै सदस्यका लागि १० हजार रुपैयाँ बराबरको सेयर पुँजी सुनिश्चित गर्ने दिशामा काम गरिरहेको छ ।

संस्थागत पुँजी मजबुत बनाउनु अत्यावश्यक छ । घुमाउरो तरिकाले नाफा बाँड्ने प्रवृत्तिलाई पूर्ण रूपमा अन्त्य गर्नुपर्छ । ऋण एक दिन पनि भाखा नाघेमा प्रोभिजन गर्नुपर्छ भन्ने सोच सञ्चालक र कर्मचारी दुवैमा हुनुपर्छ । केवल धितोमा भर पर्नु पर्याप्त हुँदैन, किनकि धितोले ऋण तिर्दैन । ऋणीको आय, व्यवसाय र ऋण तिर्न सक्ने क्षमताको यथार्थ मूल्याङ्कनका आधारमा मात्रै कर्जा प्रवाह गर्नुपर्छ । यही अनुशासन र संस्कारले सहकारीलाई दिगो र सफल बनाउँछ ।

पाँच वर्षपछि महेन्द्र गिरीलाई सहकारी अभियानमा हामी कहाँ पाउँछौं ?

मेरो अपेक्षा त राष्ट्रिय सहकारी महासंघको अध्यक्ष हो । अबको अध्यक्ष रमेश सर हो । त्यसपछिको अध्यक्षमा मेरो दाबी हो । महासंघको नेतृत्वमा पुगे भने सहकारी अभियानलाई नयाँ ढंगबाट परिचालन गर्नेछु ।

सहकारी बैंकमा पुरै समय दिनुपर्ने हुन्छ तर म प्रारम्भिक संस्थाको पनि नेतृत्वमा भएका कारण पुनः बैंकको नेतृत्वमा बस्न सक्दिन । तर साथीहरुको चाहना ४ वर्ष बैंकको नेतृत्व गरिदिओस् भन्ने नै छ । तर, पनि मैले अरु साथीहरु आउनुस् भनेको छु । मेरो चाहना महासंघनै हो । अब सञ्चालक बन्ने र त्यसपछि अध्यक्ष बन्ने हो । 

सहकारी अभियानबाट टाढा हुन सक्दिन । मेरो नशा नशामा सहकारी छ । सहकारीलाई कुन मोडलमा चलाउनुपर्छ, त्यसका पोलिसीहरु के के हुनुपर्छ भन्ने सबै आईडिया मसँग छ । ग्राउण्डमा बसेर काम गरेको अनुभव छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको अनुभव पनि कम छैन । केही बर्ष भित्रै अध्यक्ष बनेर नेपालको सहकारी अभियानलाई सही दिशामा सञ्चालन गर्ने मेरो सपना छ ।

थप समाचार