मुलुकको एक मात्र सहकारी बैंक– राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती निर्वाचित भएका छन् । बैंकको नवनिर्वाचित सात सदस्यीय सञ्चालक समितिको जेठ १४ गते बसेको बैठकले कोशी प्रदेशबाट सर्वसम्मत् सञ्चालक निर्वाचित उप्रेतीलाई अध्यक्ष चयन गरेको हो । प्रत्यासी परितोष पौड्याललाई तीन मतले पराजित गर्दै उप्रेती बैंकको पाँचौं अध्यक्ष निर्वाचित भएका हुन् । उनका पक्षमा पाँच मत खसेको थियो भने पौड्यालको पक्षमा मात्र दुई मत । निवर्तमान लेखा सुपरीवेक्षण समिति संयोजक उप्रेती झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत समेत हुन् । तीन दशक बढीको सहकारी क्षेत्रको अनुभवी उप्रेतीले बैंकको निर्वाचनमा भएको दलगत हस्तक्षेप, बैंकका चुनौतीहरु र सम्भावनाहरुबारे वित्तीय पोष्टसँग कुराकानी गरेका छन्। प्रस्तुत छ उक्त अन्तर्वार्ताको सम्पादित अंशः
राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा निर्वाचित हुनुभएको छ । कस्तो महसुस भइरहेको छ ?
बैंकको अध्यक्षमा निर्वाचित हुनु मेरो लागि गौरव र जिम्मेवारी दुवैको विषय हो । स्वाभाविक रूपमा खुसी लागेको छ, किनकि देशभरका सहकारीकर्मी तथा विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्दै आउनुभएका सञ्चालक साथीहरूले मप्रति विश्वास व्यक्त गर्दै यो जिम्मेवारी सुम्पनुभएको छ । आफ्नो अनुभव, क्षमता र सिकाइलाई संस्थाको हितमा प्रयोग गर्ने अवसर प्राप्त हुनु ठूलो सम्मानको कुरा हो ।
तर यो खुसीसँगै जिम्मेवारीको गहिरो अनुभूति पनि भएको छ । अहिले सहकारी क्षेत्र विभिन्न चुनौतीहरूको सामना गरिरहेको अवस्था छ र राष्ट्रिय सहकारी बैंक पनि त्यसबाट पूर्ण रूपमा अछुतो छैन । यस्तो समयमा बैंकलाई थप सुदृढ, पारदर्शी, दिगो र सुशासित संस्थाका रूपमा अघि बढाउने दायित्व मेरो काँधमा आएको छ । त्यसैले यो पद केवल सम्मानको विषय मात्र नभई परिणाममुखी नेतृत्वको परीक्षा पनि हो ।
प्रारम्भिक सहकारी संस्थादेखि र राष्ट्रिय तहसम्म काम गर्ने अवसरले मलाई सहकारी क्षेत्रका आवश्यकता र अपेक्षाबारे नजिकबाट बुझ्ने मौका दिएको छ ।
कोशी प्रदेश र त्यसमा पनि झापा जिल्लाले लगातार अध्यक्ष पायो, के छ त्यस्तो कोशी प्रदेशमा ? बागमतीमा सर्न सकेन नि ? बागमती वा अन्य प्रदेशभन्दा कोशी प्रभावी देखिएको हो सहकारी लिडरशीपमा पछिल्लो समय ?
उर्वर भूमि पनि हुन सक्छ र समस्याको समाधान पनि कोशीमै छ कि जस्तो लाग्न थालेको छ । किनभने अघिल्लो कार्यकालमा विभिन्न कानुनी उल्झनहरू आएका थिए । त्यस विषयमा अहिले प्रवेश गर्नु सान्दर्भिक नहोला । त्यतिबेला राष्ट्र बैंकले विद्यमान सञ्चालकहरूमध्येबाटै सञ्चालक समितिको अध्यक्ष चयन गर्न निर्देशन दिएको थियो । सोही प्रक्रियाअनुसार महेन्द्र गिरी अध्यक्ष बन्नुभयो । उहाँ झापाकै हुनुहुन्थ्यो । त्यस अर्थमा कोशी प्रदेशले समाधान दिने नेतृत्व प्रस्तुत ग¥यो भन्ने लाग्छ ।
यसपटक पनि अधिकांश साथीहरूको प्रस्ताव महेन्द्रजीकै पक्षमा थियो । मेरो पनि उहाँप्रति पूर्ण समर्थन थियो । तर उहाँले व्यक्तिगत तथा अन्य कारण देखाउँदै आफू अघि नबढ्ने बताउनुभयो । उहाँले योग्य र सक्षम साथीबाट नेतृत्व हुनुपर्छ भन्दै लक्ष्मीप्रसाद उप्रेतीको नाम प्रस्ताव गर्नुभयो । त्यसपछि म सर्वसम्मत रूपमा सञ्चालक चयन भएँ र अध्यक्षको जिम्मेवारी पनि प्राप्त गरेँ ।
त्यस हिसाबले हेर्दा, कोशी प्रदेशले समस्या समाधान गर्ने नेतृत्व दिने अग्रणी भूमिका निर्वाह गर्दै आएको छ जस्तो लाग्छ ।
तपाईं राजनीतिक दलको गठजोडबाट सञ्चालक निर्वाचित हुनुभएको हो । यो क्रिस्टल क्लियर छ । बागमतीमा बागी उम्मेदवार उठ्नुपर्यो । पार्टीबाट सकूर्लर नै आयो । अब उहाँलाई कारबाही हुँदैछ रे । अध्यक्षका लागि पनि पार्टीबाट फलानो व्यक्ति भनेर आएको थियो रे । तपाईले मान्नु भएन रे । अब तपाईंलाई पार्टीले अनुशासनको कारबाही गर्छ रे भन्ने पनि पो कुरा छ त?
राजनीतिक दल भनेको समाधान होइन, समस्या हो भन्ने भाष्य पनि छ । कतिपय व्यवहारले त्यसलाई पुष्टि गरेजस्तो देखिन्छ । तर यो भाष्यलाई सच्याउन आवश्यक छ । राजनीति आफैंमा गलत होइन । राज्य सञ्चालनका लागि राजनीति उत्कृष्ट नीति हो र राजनीतिक दल त्यसका संवाहक हुन् । त्यसैले राजनीति र राजनीतिक दललाई सधैं नकारात्मक दृष्टिले मात्र हेर्नु हुँदैन । राजनीतिक दल समस्या मात्र होइनन्, समाधानका माध्यम पनि हुन् ।
अब कतिपय ठाउँमा गलत अभ्यास भएका हुन सक्छन् । राष्ट्रिय सहकारी बैंकको निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरू चुप लागेर बस्दैनथे र बस्नु पनि हुँदैनथ्यो । सहकारी क्षेत्रको वित्तीय केन्द्रका रूपमा रहेको बैंक गलत दिशामा नजाओस्, सही नेतृत्व चयन होस् र सुशासन कायम रहोस् भन्ने चासो राख्नु स्वाभाविक हो । तर राजनीतिक दलहरूले अभिभावकीय भूमिका मात्रै निर्वाह गर्नुपर्ने ठाउँमा अलि बढी अगाडि बढे कि भन्ने अनुभूति हुन्छ ।
मैले धेरै ठाउँमा भनेको छु, एउटा कोचले राम्रो खेलाडी उत्पादन गर्न चाहन्छ । उसले प्रशिक्षण केन्द्रमा सिकाउँछ, अभ्यास गराउँछ र मैदानमा पठाउँछ । उसको ध्यान आफ्नो खेलाडी सक्षम र व्यावसायिक बनाउनेमा केन्द्रित हुन्छ । तर जब खेलाडी प्रतिस्पर्धाका लागि मैदानमा उत्रिन्छ, त्यसबेला अभिभावकीय भूमिका निर्वाह गर्ने रेफ्री आफैं खेल्ने हैन । राजनीतिक दलहरूमा कहिलेकाहीँ यही प्रवृत्ति देखिन्छ, जुन उचित होइन ।
बैंकमा सबै राजनीतिक दलहरूको सद्भाव र समर्थन पनि चाहिन्छ, व्यावसायिक तथा पेशागत व्यक्तिहरूको सक्रिय सहभागिता पनि चाहिन्छ । तर राजनीतिलाई आरोपित हुने गरी हस्तक्षेप गर्न दिनु हुँदैन । त्यो भएको पाइयो, त्यो गलत भयो ।
अध्यक्ष भए वापत पार्टीबाट हुने कारबाही भोग्न तयार हुनुहुन्छ ?
प्रदेश तहसम्म राजनीतिक दलहरूले सहमति गर्नुभयो । बागमती प्रदेशमा भने सहमति हुन सकेन र निर्वाचन भयो । निर्वाचनले दिएको निकासलाई अन्यथा मान्न मिल्दैन । त्यसपछि हामी सात जना बैंकको रिङभित्र प्रवेश ग¥यौं । त्यसबेला दलहरूले पनि सात जनामध्ये तपाईंहरूलाई उपयुक्त लाग्ने व्यक्तिलाई अध्यक्ष चयन गर्नुस् भनेर छाड्नुपथ्र्यो । तर पार्टीबाटै अध्यक्षको आधिकारिक उम्मेदवार तोकियो, त्यो गलत थियो ।
तर म पार्टीको पद्धति नै नमान्ने, विशुद्ध सहकारीकर्मी मात्र पनि होइन । मेरो पृष्ठभूमि नै राजनीतिक हो । २०३६ सालदेखि झापाको विद्यार्थी आन्दोलनबाट राजनीतिमा जोडिएको मान्छे हुँ । पार्टीका विभिन्न जिम्मेवारी पनि सम्हाल्दै आएको छु । तर २०५० सालदेखि सहकारी क्षेत्रमा जोडिएपछि राजनीतिक आवद्धताका हिसाबले नेकपा एमालेसँग सम्बन्ध रहे पनि सक्रियता सहकारी क्षेत्र नै रह्यो ।
सहकारीभित्र प्रवेश गरेपछि मैले राजनीतिक विषयलाई कहिल्यै प्रवेश गर्न दिइनँ, दिनु पनि हुँदैन र दिन सकिँदैन । त्यहाँ व्यावसायिक रूपमा काम गर्नुपर्छ । त्यसैले मैले एमाले छाडेको पनि होइन, एमालेसँग असन्तुष्ट भएको पनि होइन, न त कुनै गुनासो नै छ । तर पार्टीसँग जोडिएको व्यक्तिका रूपमा पार्टीले गरेको निर्णय प्रक्रिया गलत थियो होला । त्यस्तो निर्णयको अवज्ञा गर्नु कमजोरी हुन सक्छ ।
व्यक्तिगत रूपमा मैले जे गरेँ, ठीक गरेँ भन्ने विश्वास छ र त्यसमा मलाई गर्व छ । भविष्यमा पार्टी पनि लक्ष्मी उप्रेतीले लिएको अडान सही रहेछ भन्ने निष्कर्षमा पुग्यो भने त्यो पार्टीका लागि पनि राम्रो हुनेछ । तर पार्टीले कारबाही गर्नुपर्छ भन्ने निर्णय गर्याे भने, त्यसलाई पनि मैले सहनुपर्छ ।
सपथ ग्रहणपछि अध्यक्ष नहुन्जेलसम्म कत्तिको दबाब आयो?
केही दबाब, आग्रहहरू अवश्य आए । विशेषगरी, मैले लिएको निर्णय पुनर्विचार गर्न र पार्टीले अध्यक्षको उम्मेदवारका रूपमा अघि सारेको परितोष पौड्याललाई समर्थन गर्न नेतृत्व तहबाट आग्रह भएको थियो ।
तर मेरो स्पष्ट धारणा के थियो भने, यो विषय कसैप्रति आग्रह वा पूर्वाग्रह राखेर हेर्ने होइन । बैंकको आवश्यकता, संस्थागत हित र आफ्नो योग्यता तथा अनुभवका आधारमा मैले अध्यक्ष पदका लागि उम्मेदवारी दिएको थिएँ । सहकारी क्षेत्रमा लामो समयदेखि सक्रिय छु । एक कार्यकाल लेखा सुपरिवेक्षण समिति सदस्य र दुई कार्यकाल संयोजकका रूपमा काम गरेको अनुभव मसँग छ । उमेर, अनुभव र कार्यक्षमताका हिसाबले पनि यो जिम्मेवारी निर्वाह गर्न सक्षम छु भन्ने विश्वास थियो ।
त्यसैले यो निर्णय मेरो आफ्नै विवेक र आत्मविश्वासबाट आएको निर्णय हो र यसबाट पछि हट्न सक्दिन भन्ने अडानमा दृढ रहेँ । अन्ततः साथीहरूले पनि त्यसलाई सकारात्मक रूपमा लिनुभयो र आवश्यक सहयोग गर्नुभयो । यस प्रक्रियामा साथ, समर्थन र विश्वास गर्ने सबैप्रति आभारी छु ।
तपाईसँग यति ठूलो संस्थाको फष्ट म्यान भएर हाकेको अनुभव छैन । संघीय राजधानी काठमाडौंमा बसेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपनि भएको छैन । तराईमा बसेर काम गरिरहेको सहकारीकर्मीलाई काठमाडौंको मौसम फाप्ला र?
बैंक राष्ट्रिय स्तरको हो भन्ने कुरा हामी सबैले स्वीकार गरेका छौं । अर्को बुझ्नुपर्ने महत्वपूर्ण पक्ष के हो भने बैंक चलाउने व्यक्ति होइन, प्रणालीले हो । अध्यक्षले बैंकमै गएर बस्दैमा वा नबस्दैमा बैंक चल्ने होइन, यो पूर्ण रूपमा प्रणालीबाट सञ्चालन हुने संस्था हो ।
आज हामी ग्लोबल भिलेजको अवधारणामा काम गरिरहेका छौं । त्यसैले बैंक नीति, विधि र प्रक्रियाबाटै चल्नुपर्छ । व्यवस्थापनलाई व्यावसायिक बनाउनुपर्छ र त्यसमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप हुनुहुँदैन ।
बोर्डले नीति तथा नियम निर्माण गर्ने हो भने, त्यसको कार्यान्वयन सक्षम र जिम्मेवार व्यवस्थापनले गर्ने हो । नियामकीय निकायका निर्देशनहरूलाई इमान्दारी साथ पालना गर्न सक्ने व्यवस्थापन प्रणाली विकास गर्न आवश्यक छ ।
त्यस्तो अवस्थामा अध्यक्ष जहाँको भए पनि खासै फरक पर्ने विषय होइन । यो कुनै इस्यु नै होइन । यदि कसैले यसलाई इस्यु बनाइरहेको छ भने, त्यसमा पूर्वाग्रह छ कि भनेर शंका गर्नुपर्ने हुन्छ ।
निवर्तमान अध्यक्षले आफ्नो अन्तिम सम्बोधनमा तपाईंहरुलाई बैंकको अवस्थासँगै अबका चुनौतीहरुबारे एकपटक फेरि स्मरण गराउँदै विजयको उन्मादमा नमात्तिन र बैंक चलाउने विषयलाई रमाइलो नठान्न आग्रह गर्नुभएको थियो । ती कुराहरु त अब सबै थाप्लोमा आयो नि होइन ?
उहाँले व्यक्त गर्नुभएको भावुकता बैंकभित्रको वास्तविक अवस्थाको प्रतिबिम्ब हो । बैंक त्यति सहज रूपमा चल्ने संस्था होइन, यो रमाइलो वा रमझम गर्ने ठाउँ पनि होइन ।
बैंकमा रहेको पुँजी प्रारम्भिक सहकारी संस्थाबाट आएको सेयर र बचत हो, जसको सुरक्षा गर्नु सबैभन्दा महत्वपूर्ण दायित्व हो । त्यसको संरक्षणका लागि नीतिगत नेतृत्व सञ्चालक समितिले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्छ ।
यदि पुँजी सुरक्षाका विषयमा सुरुदेखि नै गम्भीरता अपनाइएन भने भविष्यमा समस्या आउन सक्छ भन्ने उहाँको अनुभवजन्य चेतावनी हो । उहाँले लामो समयको भोगाइ र अनुभवका आधारमा बैंक सञ्चालनमा गम्भीरता आवश्यक छ भन्ने सन्देश दिनुभएको हो । हामीले उहाँको उक्त अभिव्यक्तिलाई आगामी दिनका लागि मार्गदर्शन र सचेतनामूलक सन्देशका रूपमा लिएका छौं ।
तपाईं सहकारी व्यवस्थापन बुझेको व्यक्ति ? त्यहीं कारण पनि तपाईंले सहकारी बैंकलाई प्रोफेशनल्ली अर्थात् व्यावसायिक रुपमा अघि बढाउनुहुन्छ भन्ने आम अपेक्षा छ । कसरी हाँक्ने योजना छ ?
हाम्रो टिमले प्राथमिकताका विषयहरूलाई क्रमिक रूपमा होइन, सबैलाई समान महत्वका साथ अघि बढाउनुपर्ने अवस्था छ । एक, दुई, तीन भनेर छुट्याउनुभन्दा सबै विषयलाई आ–आफ्नो ठाउँमा समान रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता छ ।
एकातर्फ सदस्यहरूले लगानी गरेको सेयर पुँजीको प्रतिफल अझै दिन नसकिएको अवस्था छ । सदस्यहरूले गरेको लगानीको उचित प्रतिफल दिन बैंकले नाफा आर्जन गर्नैपर्छ भन्ने स्पष्ट छ । पछिल्लो समय केही सुधारहरू भए पनि बैंकलाई प्रतिफल दिन सक्ने अवस्थामा पु¥याउने जिम्मेवारी हामीसँग छ ।
साथै, नियामकीय निकायहरूको निगरानीभित्र रहेर सुशासनयुक्त, पारदर्शी र व्यवस्थित वित्तीय संस्थाका रूपमा बैंकलाई स्थापित गर्नु हाम्रो अर्को ठूलो चुनौती हो । क्यापिटल एडिक्वेसी रेसियोलाई ८ प्रतिशत पु¥याउने जस्ता प्राविधिक तथा नियामकीय मापदण्डहरू पूरा गर्नु पनि अनिवार्य छ ।
सस्तो लोकप्रियताको लागि होइन, नियामकीय निकायले दिएका निर्देशनहरूलाई प्राविधिक रूपमा व्यवस्थापन गर्दै अघि बढ्ने हाम्रो नीति हुनेछ । सदस्यहरूलाई सकेसम्म छिटो लाभांश उपलब्ध गराउने दिशामा पनि हामी केन्द्रित हुनेछौं ।
त्यसैगरी गैर–बैंकिङ सम्पत्तिको व्यवस्थापन र भाखा नाघेका कर्जाहरूको समाधानमा पनि विशेष ध्यान दिनेछौं । सहकारी संघहरूले गर्ने वित्तीय कारोबारलाई अभिभावकीय भूमिकामा लिएर व्यवस्थित बनाउने काम गर्ने छौं ।
यी सबै विषयलाई समेटेर अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर व्यवस्थित रूपमा कार्यान्वयन गर्ने हाम्रो योजना छ ।
व्यवस्थापन बुझेपनि बहसपैरवीका लागि माथिसम्म पहुँच कम भएको व्यक्ति हो लक्ष्मीप्रसाद उप्रेती भन्यौं भने हामी गलत हुन्छौं कि सही ?
यो ठाउँको आवश्यकता र यसको विशेषता के हो भन्ने कुरा पहिला बुझ्नुपर्छ । बैंकभित्र र समग्र सहकारी अभियानमा चलिरहेको बहस के हो भने, हामीसँग महासंघको संरचना छ । त्यसैले बहस र पैरवी गर्ने काम व्यक्ति विशेषको भन्दा पनि संस्थागत भूमिकामा आधारित हुनुपर्छ । त्यो जिम्मेवारी महासंघले नेतृत्व गरेर अघि बढाउनुपर्छ ।
बैंकको भूमिका भनेको आफूलाई व्यावसायिक रूपमा स्थापित गर्ने हो, विशेषगरी सहकारी क्षेत्रकै थोक कर्जा उपलब्ध गराउने वित्तीय संस्थाको रूपमा । त्यस दिशामा केन्द्रित हुनु नै बैंकको मूल दायित्व हो ।
तर्क उठाउने र त्यसलाई पुष्ट्याइँसहित अघि बढाउने काममा टिमको नेतृत्व गरेर जान कुनै आपत्ति छैन । तर हाम्रो प्राथमिकता भनेको बैंकलाई पूर्ण रूपमा व्यावसायिक र संस्थागत रूपमा सुदृढ बनाउने नै हो ।
नेफ्स्कून र सहकारी बैंक बीचको कार्यगत एकताको कुरा कसरी अघि बढ्छ?
राष्ट्रिय सहकारी बैंक आफैंमा अविछिन्न उत्तराधिकारवाला संस्था हो । त्यसैले अघिल्लो समितिले गरेका निर्णयहरूलाई पछिल्लो सञ्चालक समितिले निरन्तरता दिनुपर्ने हुन्छ । अघिल्लो समितिमा रहेका कतिपय साथीहरू अहिले पनि हुनुहुन्छ, म पनि कुनै न कुनै भूमिकामा संलग्न नै थिएँ ।
नेफ्स्कून र बैंकबीचको कार्यगत एकताको विषयमा सहकार्य गरेर अघि बढ्नुपर्छ भन्ने विषयमा प्रारम्भिक संवादहरू भएका छन् । त्यसको स्वामित्व ग्रहण गर्दै व्यवस्थित रूपमा अघि बढाउनेछौं ।
अबको ४ वर्षमा बैंकको अवस्थामा के कस्ता तात्विक सुधारहरु हामीले पाउनेछौं ?
यो बीचमा सदस्यहरूको लगानीको प्रतिफल दिन सक्ने गरी काम गर्नेछौं । नियामकीय निकायको दृष्टिमा राष्ट्रिय सहकारी बैंकलाई सुशासनयुक्त वित्तीय संस्थाका रूपमा स्थापित गरी प्रमाणित गर्नेछौं ।
बैंकलाई वित्तीय रूपमा सक्षम बनाउने र सुशासनका हिसाबले अब्बल बनाउने हाम्रो लक्ष्य हो । आशालाग्दो, भरोसायोग्य र व्यावसायिक संस्थाका रूपमा बैंकलाई स्थापित गर्नेछौं ।
Advertisment