काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा मूल्यवृद्धि ५.२६ प्रतिशत रहेको छ । पुस मासन्तसम्म आयात ३.१ प्रतिशत, निर्यात ७.२ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले घटेको छ ।
चालु आवको छ महिनामा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशतले र अमेरिकी डलरमा २२.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी चालु खाता एक खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँले बचतमा रहेको छ । शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति १८ खर्ब १६ अर्ब ५७ करोड र अमेरिकी डलरमा १३ अर्ब ६९ करोड रहेको छ ।
यस अवधिमा नेपाल सरकारको खर्च ५ खर्ब ६६ अर्ब ६२ करोड र राजस्व परिचालन ४ खर्ब ९६ अर्ब ५० करोड रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ ।वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.३ प्रतिशतले बढेको छ ।
पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.६ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.९ प्रतिशत रहेको छ ।
Advertisment