Below Menu
Below Menu

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको सातौं संस्करण चैत १६ देखि, कारोबार लक्ष्य ५ करोड

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको सातौं संस्करण चैत १६ देखि, कारोबार लक्ष्य ५ करोड

काठमाडौं : आगामी चैत १६ देखि २० गतेसम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने भएको छ ।

महिला उद्यमी महासंघको आयोजनामा हुने मेला सातौं संस्करणको हो । महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी मेला आयोजना गर्न लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले छरिएर रहेका महिला उद्यमीहरूलाई एउटै स्थानमा ल्याएर बजार व्यवस्थापन मात्रै नभइ व्यवसाय सञ्जाल बढाउने उद्देश्यले महिला उद्यमी व्यापार मेला गर्न लागेको बताइन् । उनले मेलामा व्यवसायिक ज्ञान र अनुभव साटासाट गर्ने माध्यमको रूपमा लिएको बताइन् ।

मेलामा ७ वटै प्रदेशका महिला उद्यमीहरूको सहभागिता हुने आयोजकले जनाएको छ । हातले बनाइएका सामग्री, कृषि उत्पादन, श्रृङ्गारका सामग्री, सजावटका सामग्री, कागजका वस्तुहरू, घरबुनाका सामग्रीहरू, जैविक खाद्य पदार्थ, पुष्प सामग्री, गरगहना, लगायतका वस्तुहरू मेलामा पदर्शन गरिने आयोजकले जनाएको छ ।

मेलामा भारत, पाकिस्तान र बंंगालादेशका महिलाहरूको समेत स्टल रहने छ । मेलामा ११२ वटा स्टल रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार विभिन्न जिल्लाबाट स्टल राख्न आउने महिला उद्यमीहरूको लागि भने विशेष छुट दिइने महिला उद्यमी महासंघकी अध्यक्ष ज्ञावलीले बताइन् ।

मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ । नेपालका महिला उद्यमीहरू सानो अवस्था सुक्ष्म र सानो तहमा भएको र यो मेला ती उद्यमीहरूको प्रवद्र्धनका लागि महत्वपूर्ण हुने महासंघकी अध्यक्ष ज्ञवालीले बताइन् ।

पाँच दिनसम्म आयोजना हुने मेलामा ५० हजारभन्दा बढि अवलोकनकताले अवलोकन गर्ने र करिव ५ करोड रुपैँयाको कारोबार गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

Advertisment

थप समाचार