Below Menu
Below Menu

ब्यालेन्स सिटका आधारमा दश ठूला सहकारी 

ब्यालेन्स सिटका आधारमा दश ठूला सहकारी 

काठमाडौं : वित्तीय पोस्टले मुलुकमा हाल विद्यमान ३१ हजार ३ सय ६३ सहकारीमध्ये कूल सम्पत्तिको आधारमा टप टेन सहकारीको सूची प्रकाशित गरेको छ । सम्पत्ति मात्रै सहकारी संस्थाको बलियोपनको आधार होइन । यद्यपि, यो सदस्यहरुको संस्थाप्रतिको विश्वासको एउटा सबूत प्रमाण भने हो ।

संस्था बलियो भनेको संस्थागत पुँजीले हुने हो । तर, सामान्यतया: सहकारी वृत्तमा एउटा सहकारीकर्मीले अर्को सहकारीकर्मी भेट्दा अनिवार्य सोध्ने प्रश्न हो, ‘संस्थाको कुल सम्पत्ति कति पुग्यो ?’ कूल सम्पत्तिको आधारमा संस्थाको ग्रोथ मापन गर्ने निक्कै पुरानो चलन अहिले पनि छ । त्यही भएर हामीले कुल सम्पत्तिको आधारमा उत्कृष्ट १० सहकारीहरुको सूची तयार पारेका हौं । 

पछिल्लो समय सहकारीहरुमा सुशासन कमजोर रहेका भन्दै बचत फिर्ता दिन असमर्थ भएको, सञ्चालकहरु फरार भएको वा पक्राउ परेको, पीडित सदस्यहरु आन्दोलित भएको, लगायतका बग्रेल्ती समाचारहरु प्रकाशित भइरहेका छन् । यो सहकारीको केवल एउटा पाटो हो ।

मुलुकमा यस्ता सहकारीहरु पनि छन् जसले सदस्यको प्रशस्त विश्वास आर्जन गरी संस्थागत उन्नति, सदस्य हित र समुदायको विकासका खातिर उदाहरणीय कार्य गरेका छन् । सबै सहकारी खराब होइनन् भन्ने यी पछिल्लो प्रकारका संस्थाहरुको बलियो सम्पत्तिले पुष्टि गर्दछन् । सहकारीमा अविश्वासको वातावरण हुँदा हुँदै समुदायमा जरा गाडेर बसेका यस्ता सहकारीहरुले आफूलाई अब्बल सावित गरेका छन् ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले ‘ग्लोबल थ्री हन्ड्रेड’ भनेर प्रत्येक वर्ष विश्वका ३ सय ठूला सहकारीको सूची प्रकाशित गर्छ । आईसीले बार्षिक कारोबार र कुल गाहस्र्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपातलाई आधार मानेर ‘वल्ड कोप मनिटर’ नामक ठूला सहकारीहरुको सूची प्रकाशन गर्न लागेको १३ वर्ष भैसकेको छ ।

तगडा तथ्याङक नभएको नेपालमा भने सरकारदेखि सहकारी अभियान कसैले पनि चित्त बुझ्दो सहकारी तथ्याङ्क प्रकाशन गर्न नसकेको अवस्था छ । यसै सन्दर्भमा वित्तीय पोस्टले कुल सम्पत्तिलाई आधार मानेर मुलुकका १० ठूला सहकारीको सूची प्रकाशित गरेको हो ।

१० सहकारीहरुमध्ये स्वाभाविक रुपमा सबैभन्दा बढी अर्थात् ६ बचत तथा ऋण सहकारीहरु सूचीमा परेका छन् । सूचीमा २ बहुउद्देश्यीय र २ अन्य सहकारी छन् । प्रदेशको आधारमा कोशी ३, बागमती ३, गण्डकी १, लुम्बिनी १ र सूदूरपश्चिम प्रदेशका २ सहकारी संस्था रहेका छन् । टप टेन सहकारीहरुमध्ये ५ जिल्लाका छन् ।

१० औं : जनउत्थान साकोस, रुपन्देही

रुपन्देही स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था एक्सेस ब्राण्ड प्राप्त संस्था हो । पछिल्लो पटक संस्थाले सन् २०२३ मा सिल्भर ब्राण्ड पाएको थियो । फागुन मसान्तको वित्तीय विवरण अनुसार संस्थाको कुल सम्पत्ति ३ अर्ब ७२ करोड ७४ लाख रुपैयाँ पुगेको संस्थाका व्यवस्थापक रणबहादुर थापाले जानकारी दिए ।

२७ करोड ११ लाख सेयर पुँजी रहेको संस्थाको जगेडा कोषमा मात्रै २९ करोड ६२ लाख रुपैयाँ रहेको छ । संस्थाको कर्जा जोखिम कोषमा ८ करोड रुपैयाँ रहेको छ । सेयर पुँजीभन्दा बढी जगेडा कोष रहेको सम्भवत नेपालकै नम्बर वान सहकारी जनउत्थान हो । 

संस्थाले २ अर्ब ८७ करोड ७६ लाख बचत संकलन गरेको छ भने कर्जा लगानी २ अर्ब ८० करोड ९८ लाख रुपैयाँ गरेको छ ।

संस्थामा ३९ हजार ९ सय ९९ जना सदस्य आवद्ध छन् । त्यस्ते ऋण सदस्य संख्या १० हजार ५ सय ८९ जना रहेको छ । संस्थासँग २५.१० प्रतिशत तरलता रहेको छ । जनउत्थान स्थिरीकरण कोषमा पनि सबैभन्दा बढी योगदान गर्ने प्रारम्भिक संस्था हो । संस्थाले हालसम्म १ करोड ९७ लाख रुपैयाँ कोषमा योगदान गरेको छ ।

९औं : कर्णाली साकोस, झापा

बिर्तामोड–४, झापामा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति ४ अर्ब ४५ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

२०८० फागुन मसान्तसम्मको वित्तीय रिर्पोट अनुसार संस्थामा ५६ हजार ५ सय १२ जना सदस्य आवद्ध छन् । संस्थाबाट १५ हजार ६ सय ६८ जनाले कर्जा सापटी लिएका छन् ।

संस्थाको सेयर पुँजी ५० करोड ९० लाख, जगेडा कोष १३ करोड ३८ लाख, विभिन्न कोषमा १२ करोड ७४ लाख र कुल संस्थागत पुँजी १५ करोड ३७ लाख रहेको छ ।

संस्थामा २ अर्ब ५५ करोड २५ लाख बचत, ३ अर्ब ८८ करोड कर्जा रहेको छ । संस्थासँग १५.०७ प्रतिशत तरलता रहेको छ । संस्थाको ४२ वटा सेवा केन्द्रहरु रहेका छन् ।

८औं : बिन्धवासिनी साकोस, काभ्रे

बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था एक्सेस सिल्भर ब्राण्ड प्राप्त समुदायमा आधारित संस्था हो । नेपालकै उत्कृष्ट संस्थाको रुपमा परिचित बिन्धवासिनीमा ५३ हजार ७ सय २३ जना सदस्य आवद्ध छन् । संस्थाको कुल सम्पत्ति ४ अर्ब ८१ करोड ६४ लाख रुपैयाँ पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत के.बि. लामा स्याङ्तानले जानकारी दिए ।

२०८० फागुन मसान्तको वित्तीय विवरण अनुसार संस्थाको सेयर पुँजी ५१ करोड ४० लाख रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ३५ करोड ९ लाख, विभिन्न कोषमा २० करोड २५ लाख र संस्थागत पुँजी ३५ करोड ७२ लाख रुपैयाँ रहेको सीईओ स्याङ्तानले बताए । 

कुल बचत ३ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ रहेको संस्थाको लगानी ३ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ रहेको छ । संस्थासँग ८८ करोड ५३ लाख (२५.७९ प्रतिशत) तरलता रहेको छ । संस्थाबाट ११ हजार २ सय १८ जनाले कर्जा लिएका छन् ।

७औं : किसान बहुउद्देश्यी सहकारी, कैलाली

कैलाली जिल्लाको लम्कीचुहा १ मा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाको कुल सम्पत्ति ५ अर्ब ९५ करोड ६७ लाख पुगेको छ ।

संस्थाले वित्तीय कारोबारसँगै कृषि क्षेत्रमा काम गर्दै आएको छ । संस्थाको सेवा केन्द्र ४१, किसान कोप एग्रोको ४ आउटलेट र किसान कोप मार्टको ३ आवटलेट सञ्चालित छ । संस्थामा ८२ हजार ४ सय ६२ जना सदस्य आवद्ध छन् भने ३१ हजार ७ सय ४८ जनाले कर्जा उपभोग गरिरहेका छन् । 

२०८० फागुन मसान्तको रिपोर्ट अनुसार सेयर पुँजी ४४ करोड ४७ लाख रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा २९ करोड ४३ लाख रुपैयाँ, विभिन्न कोषमा ५६ करोड ७४ लाख रहेको छ । कुल बचत ३ अर्ब ५९ करोड २ लाख रहेको संस्थाले लगानी ४ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ गरेको छ । संस्थासँग २२.७५ अर्थात् ८१ करोड ६६ लाख रुपैयाँ तरलता रहेको छ । संस्थामा २ सय ९५ जना कर्मचारी कार्यरत रहेको संस्थाले जनाएको छ ।

६औं : सामुदायिक साकोस, काभ्रे

काभ्रेको पनौतीमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था नेपालकै उत्कृष्ट संस्था मध्येको एक हो । यो संस्थाले एक्सेस ब्राण्ड समेत प्राप्त गरिसकेको छ । 

२०८० फागुन मसान्तसम्मको विवरण अनुसार संस्थाको कुल सम्पत्ति ६ अर्ब १४ करोड २९ लाख रुपैयाँ पुगेको छ । संस्थाको सेयर पुँजी ४७ करोड ५५ लाख, जगेडा कोष ३६ करोड ४२ लाख, विभिन्न कोष १६ करोड ६८ लाख, कूल संस्थागत पुँजी ३७ करोड ४० लाल रहेको छ ।

त्यस्तै बचत रकम ४ अर्ब ३५ करोड ४६ लाख र लगानी ४ अर्ब ३५ करोड ४६ लाख रहेको छ । संस्थासँग ७२ करोड २ लाख (१६.५४ प्रतिशत) तरलता रहेको छ । संस्थामा ५९ हजार १ सय ५६ जना सदस्य छन् भने ७ हजार ३ सय ८८ जनाले कर्जा उपभोग गरिरहेका छन् । 

५औं : नवजीवन सहकारी संस्था, कैलाली

कैलाली जिल्लाको धनगढी स्थित नवजीवन सहकारी संस्थाको कुल सम्पत्ति ६ अर्ब १४ करोड ७५ लाख पुगेको छ । संस्थामा ३३ हजार ६ सय ७७ जना सदस्य आवद्ध छन् । 

संस्थाको सेयर पुँजी २९ करोड ३५ लाख, जगेडा कोष ४१ करोड १ लाख, विभिन्न कोष ८ करोड ३ लाख रहेको छ । संस्थाको कुल बचत ४ अर्ब ७९ करोड १४ लाख र कर्जा लगानी ४ अर्ब ५६ लाख रहेको छ । फागुन मसान्तसम्म संस्थासँग १ अर्ब ३६ करोड (२८.३८) प्रतिशत तरलता रहेको छ । ४३ करोड ३५ लाख संस्थागत पुँजी रहेको नवजीवनबाट ४ हजार ५ सय १६ जनाले कर्जा उपभोग गरिरहेका छन् । 

४औं : आईएमई कोअपरेटिभ सर्भिस, काठमाडौं

नेपालको चौथो ठूलो सहकारीमा आईएमई कोअपरेटिभ सर्भिस लिमिटेड रहेको छ । २०८० फागुन मसान्तको रिर्पोट अनुसार संस्थाको कुल सम्पत्ति १० अर्ब ११ करोड ९० लाख रहेको छ ।

संस्थाको सेयर पुँजी ४७ करोड ४७ लाख, जगेडा कोष ३५ करोड ०३ लाख, कूल संस्थागत पुँजी ९१ करोड ६८ लाख, विभिन्न कोषहरुमा ११ करोड ३८ लाख रहेको छ । त्यस्तै कुल बचत ८ अर्ब ३४ करोड ६६ लाख, लगानी ६ अर्ब ४५ करोड १९ लाख र तरलता रकम २ अर्ब ६७ करोड ६४ लाख (३२.०७ प्रतिशत) रहेको छ । संस्थाको सदस्य संस्था १० हजार ४ सय ४० जना र ऋणी संख्या ९ सय ४ जना रहेको छ । 

३औं : विकू साकोस, नवलपरासी

गैंडाकोटमा मुख्य कार्यालय रहेको विकू बचत तथा ऋण सहकारी संस्था नेपालकै तेस्रो ठूलो सहकारी हो । विकू कारोबारको आधारमा तेस्रो ठूलो भएपनि नेपालको मात्रै नभई एशियाकै उत्कृष्ट सहकारी संस्था हो । विकू साकोस एक्सेस ब्राण्ड प्राप्त संस्था हो । 

संस्थामा १ लाख १९ हजार १ सय ७८ जना सदस्य आवद्ध छन् । संस्थाको कुल सम्पत्ति १० अर्ब १६ करोड ८१ लाख रुपैयाँ रहेको छ । संस्थाको सेयर पुँजी ८९ करोड ७६ लाख, जगेडा कोष ६२ करोड ६३ लाख, विभिन्न कोषहरु १० करोड ५८ लाख, कुल संस्थागत पुँजी ७२ करोड ६३ लाख रहेको छ ।

कुल बचत ८ अर्ब ९ करोड ९१ लाख, लगानी ६ अर्ब ७६ करोड ८१ लाख, तरलता रकम २ अर्ब ८६ करोड ६ लाख (३५.३२ प्रतिशत) रहेको छ । संस्थाबाट ८ हजार २ सय ८० जनाले कर्जा लिएका छन ।

२औं : नेपाल बहुउद्देश्यीय सहकारी, झापा

मेचिनगर झापामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था नेपालकै दोस्रो ठुलोसंस्था हो । बचत तथा ऋणको कारोबारसँगै संस्थाले उपभोक्ता पसल, डेरी, कृषि फार्म, चिया लगायतको क्षेत्रमा काम गर्दै आएको छ । संस्थाको कुल सम्पत्ति १३ अर्ब ८४ करोड ८३ लाख रहेको छ ।

संस्थामा १ लाख ६३ हजार ६ सय ४२ जना सदस्य छन् भने १८ हजार १ सय १५ जनाले संस्थाबाट कर्जा लिएका छन् । 

संस्थाको सेयर पुँजी १ अर्ब ४१ करोड १७ लाख, जगेडा कोष ७९ करोड ९७ लाख, कुल बचत १० अर्ब ०८ करोड ५७ लाख, ऋण लगानी १० अर्ब ६४ करोड ४७ लाख रहेको छ ।

कुल संस्थागत पुँजी ८१ करोड ४१ लाख, विभिन्न कोषहरुको जम्मा रकम १२ करोड ३६ लाख रहेको छ ।  संस्थासँग १ अर्ब ९५ लाख (१९.३८ प्रतिशत) तरलता रहेको छ । 

१औं : सहारा नेपाल साकोस, झापा

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था नेपालको सबैभन्दा ठूलो सहकारी संस्था हो । कारोबार र सदस्य सञ्जाल दुबै हिसालले यो संस्था नेपालकै ठूलो संस्थाको रुपमा स्थिपित छ । 

यो संस्थामा आवद्ध सदस्यहरुको संख्या १ लाख ६९ हजार १ सय ९२ जना रहेको छ । २०८० मसान्तसम्मको विवरण अनुसार संस्थाको कुल सम्पत्ति १६ अर्ब ६ करोड ४३ लाख रहेको छ । संस्थाको सेयर पुँजी १ अर्ब ६८ करोड ११ लाख, जगेडा कोष १ अर्ब २४ करोड २ लाख, कुल बचत १२ अर्ब १९ करोड ७४ लाख, लगानी १० अर्ब ८१ करोड ६८ लाख रहेको छ । त्यस्तै संस्थागत पुँजी १ अर्ब २७ करोड ७६ लाख (७.९५ प्रतिशत) र विभिन्न कोषमा ४५ करोड ४६ लाख रहेको छ । संस्थासँग ३२.१० प्रतिशत तरलता रहेको छ । संस्थाबाट ७० हजार १ सय ३७ जनाले कर्जा लिएको छ ।

*(अधिक कूल सम्पत्ति भएपनि कानून परिपालना नगरेका तथा उजूरी परेका सहकारीहरु यो सूचीमा समावेश गरिएको छैन ।)

Advertisment

थप समाचार