काठमाडौं : सरकारले सहकारी घोटालामा संसदीय छानविन समिति गठन गरेकोमा राष्ट्रिय सहकारी महासंघले स्वागत व्यक्त गरेको छ ।
महासंघले विज्ञप्ति जारी गर्दै सहकारी बचतकर्ताहरुको बचत दुरुपयोग भएको भनी संसदीय छानविन समितिको माग भइरहेको परिस्थितिमा सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति गठन गरेकोप्रति र आभार प्रकट गरेको हो ।
परिस्थितिको गम्भीरतालाई बुझेर माननिय सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय संसदीय छानविन विशेष समिति गठन गरेकोमा सरकारको प्रशंसा गर्दै समितिलाई आवश्यक सहयोग गर्ने महासंघले प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
छानविन प्रक्रियालाई सहज बनाउन र समितिको कार्यक्षेत्रमा स्पष्टता सुनिश्चित गर्नका लागि माननिय कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा रहेको कार्यदलले तोकेको क्षेत्रअधिकारको समेत महासंघले स्वागत गरेको छ ।
संसदीय छानबिन समिति र क्षेत्राधिकार निर्धारण गर्ने कार्यदलसँग नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै विस्तृत अनुसन्धान र आवश्यक उपायहरूको कार्यान्वयनलाई सहजीकरण गर्न महासंघ, सहकारी संघ संस्थालाई समेत आवश्यक सहयोग प्रदान गर्ने जनाईएको छ ।
महासंघले सहकारी क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र सहकारीको सिद्धान्तलाई मजबुद बनाउने कार्यमा सरकारको यो कदमले महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ ।
साथै पिडित बचकर्ता(सदस्य) हरुको बचत रकम छिटो भन्दा छिटो फिर्ता गर्ने वातावरण मिलाउन महासंघले विगतदेखि सरकारसँग माग गर्दै आएकोले यस विषयमा सरकारसँग संवेनशिल भएर दु्रतगतिमा कार्य अगाडि बढाउन समेत माग गरेको छ ।
नेपालको सहकारी आन्दोलनको दिगो विकास र पुर्नजागरणलाई सुनिश्चित गर्दै सरकार र सरोकारवालाहरूको सहकार्यात्मक प्रयासले रचनात्मक परिणाम ल्याउने महासंघले विश्वास लिएको छ ।
Advertisment