काठमाडौं : गत वर्ष चार सय भन्दा बढी नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा स्वदेशी तथा विदेशी गरी कुल ४३४ वटा उद्योग दर्ता भएका हुन् ।
विभागका अनुसार दर्ता भएका उक्त उद्योगका लागि २ खर्ब एक अर्ब ८१ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । थपिएका उद्योगमा २५ हजार ५५१ जनालाई रोजगारी प्रस्ताव गरिएको छ ।
यस अवधिमा सबैभन्दा धेरै साना उद्योग दर्ता भएका छन् । एक वर्षमा २०० साना उद्योग दर्ता हुने लक्ष्य रहेकोमा ३३३ वटा साना उद्योग विभागमा दर्ता भएका हुन् ।
यस्तै, गत आवमा वार्षिक ८५ वटा मझौला उद्योग दर्ता हुने लक्ष्य लिएकोमा ५२ वटा मझौता उद्योग दर्ता भएका छन् । जुन यो लक्ष्य भन्दा ३३ वटा कम हो । यस अवधिमा ८० वटा ठूला उद्योग दर्ता हुने लक्ष्य राखिएकोमा ४९ वटा दर्ता भएका छन् ।
विभागका अनुसार ४०२ वटा परियोजनाका प्रस्तावित कुल विदेशी लगानी ६१ अर्ब ७८ करोड रुपैयाँ छ । प्रस्तावित विदेशी परियोजनाहरुमा रोजगारी संख्या १९ हजार ५६५ रहेको छ ।
औद्योगगिक व्यवसाय ऐन, २०७६ अनुसार लघु उद्यम र घरेलु उद्योग बाहेकका १५ करोड रुपैयाँसम्मका स्थिर पुँजी भएका उद्योगलाई साना उद्योगमा वर्गीकरण गरिएको छ ।
यस्तै, १५ करोड भन्दा बढी ५० करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगलाई मझौला र ५० करोड माथि स्थिर पुँजी भएका उद्योलाई ठुलो उद्योगमा वर्गीकरण गरिएको छ ।
विभागका अनुसार गत आवमा २ वटा प्याटेन्ट दर्ता भएका छन् भने ११ वटा डिजाइन दर्ता भएको छ । यता, ट्रेडमार्क भने ६ हजार ५१ वटा दर्ता भएको विभागले जनाएको छ । एक वर्षमा ट्रेकमार्क सम्वन्धी मुद्दामा ११३ वटा कम्पनीलाई कारवाही गरिएको छ ।
यता, प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) ५१ वटा र भारत रियायती निर्यातको लागि सम्पत्ति प्रमाण पत्र सिफारिसको संख्या ८५ पुगेको छ ।
Advertisment