Side Logo
Below Menu

सहकारी प्राधिकरण मस्यौदा: संस्थालाई विदेशी मुद्रा कारोबारदेखि बैदेशिक ऋणसम्मको अधिकार

सहकारी प्राधिकरण मस्यौदा: संस्थालाई विदेशी मुद्रा कारोबारदेखि बैदेशिक ऋणसम्मको अधिकार

काठमाडौं : सरकारले तयार गरेको वित्तीय (बचत तथा ऋण) सहकारीको नियमन तथा सुपरीवेक्षण प्राधिकरण गठनको लागि ‘वित्तीय सहकारी (नियमन तथा सुपरीवेक्षण) ऐन २०८१ को’को मस्यौदामा सहकारीलाई तीन वर्गमा वर्गीकरण गरिने उल्लेख छ ।

विधेयकको दफा ४२ मा वित्तीय सहकारीलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा वर्गीकरण गरिने उल्लेख छ । यसरी वर्गीकृत गरेको वित्तीय सहकारीले प्राधिकरणले तोकेको सीमा, शर्त वा निर्देशनको अधिनमा रहेका वित्तीय कारोबार गर्ने उल्लेख गरिएको छ ।  साथै वित्तीय सहकारीले गर्न नहुने कामहरुको बारेमा दफा ४३ मा उल्लेख गरिएको छ । 

वर्गीकरण कसरी ?

विधेयकको मस्यौदा अनुसार वित्तीय सहकारीलाई क, ख र ग वर्गमा वर्गीकरण गरिने उल्लेख छ । सेयर पुँजी, कारोबारको प्रकृति तथा कार्यक्षेत्रको आधारमा सहकारीको वर्गीकरण गरिने छ । वर्गीकरणको आधारमा गर्ने कामहरु समेत छुट्टा छुट्टै हुने विधेयकमा उल्लेख छ।

यी हुन् ‘क’ वर्गको सहकारीले गर्ने काम

(क) ब्याज वा बिना ब्याजमा बचत स्वीकार गर्ने वा विभिन्न वित्तीय उपकरण मार्फत बचत परिचालन गर्ने र तिनको भुक्तानी दिने,
(ख) विद्युतीय उपकरण वा साधनको माध्यमबाट सदस्यहरुको बचत स्वीकार गर्ने, भुक्तानी दिने, लेनदेन गर्ने, मध्यस्थताको काम गर्ने र रकमान्तर गर्ने,
(ग) हायर पर्चेज, लिजिङ्ग, हाउजिङ्ग, अधिविकर्ष लगायतका कर्जा दिने,
(घ) परियोजना तथा हाइपोथिकेशन धितो राखी कर्जा दिने एवं सहवित्तीयकरणको आधारमा धितो विभाजन ( पारिपासु) गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुक्त रुपमा कर्जा दिने दिलाउने व्यवस्था गर्ने,
(ङ) आफूकहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पत्तिको मूल्यले खामेसम्मको रकम कर्जा दिने वा अन्य वित्तीय सहकारीमा धितो रहिसकेको चल–अचल सम्पत्तिको पुनः धितोमा त्यसको मूल्यले खामेसम्मको रकम कर्जा दिने,
(च) आफ्नो सदस्यको तर्फबाट जमानतपत्र जारी गर्ने र सो वापत सदस्यसँग आवश्यक शर्तनामा गराउने, निजको चल अचल सम्पत्ति धितोबन्धक लिने वा तेस्रो व्यक्तिको जेथा जमानत लिने र धितोबन्धक, सुरक्षणमा लिएको सम्पत्ति प्राप्त गर्ने, धारण गर्ने तथा सो सम्वन्धी अन्य कारोबार गर्ने,
(छ) आवश्यकता अनुसार प्राधिकरणबाट पुनर्कर्जा लिने वा अन्य वित्तीय सहकारीबाट कर्जा लिने दिने,
(ज) परियोजनाको प्रवर्द्धनको लागि नेपाल सरकार वा अन्य स्वदेशी वा विदेशी निकाय मार्फत प्राप्त भएको रकमबाट कर्जा प्रवाह गर्ने वा कर्जा व्यवस्थापन गर्ने,
(झ) प्रचलित कर्जा अपलेखन विनियमावलीको अधीनमा रही कर्जा अपलेखन गर्ने,
(ञ) विपन्न वर्ग, न्यून आय भएको परिवार, दैवी प्रकोप पीडित तथा मुलुकका कुनै क्षेत्रका वासिन्दाको आर्थिक उत्थानको लागि व्यक्तिगत वा सामुहिक जमानीमा प्राधिकरणले तोके बमोजिमको रकमसम्म कर्जा दिने,
(ट) आफू तथा अन्य वित्तीय सहकारीबाट कर्जा लिने वा कुनै प्रकारको सुविधा लिने ऋणी वा सदस्यको विवरण, सूचना वा जानकारी प्राधिकरण, सम्बन्धित निकाय वा अन्य वित्तीय सहकारीवीच लिने दिने,
(ठ) परियोजना स्थापना, सञ्चालन र मूल्याङ्कन सम्बन्धी अध्ययन, अनुसन्धान, सर्वेक्षण गर्ने गराउने तथा तालीम, परामर्श र अन्य जानकारी उपलब्ध गराउने,
(ड) यस ऐन र प्रचलित कानून बमोजिम आफ्नो स्वामित्वमा आउने सबै प्रकारका जायजेथाको उचित व्यवस्थापन तथा बिक्री गर्ने, र
(ढ) प्राधिकरणले तोकेको अन्य काम गर्ने ।

यी हुन् ‘ख’ वर्गको सहकारीले गर्ने काम

(क) हायर पर्चेज, लिजिङ्ग, हाउजिङ्ग लगायतका कर्जा दिने,
(ख) अन्य वित्तीय सहकारीसँग मिली सहवित्तीयकरणको आधारमा धितो विभाजन
(पारिपासु) गर्ने गरी आपसमा भएको सम्झौता अनुसार संयुक्त रुपमा कर्जा दिने,
(ग) आफ्नो चल अचल सम्पत्ति धितो राखी कर्जा लिने,
(घ) आफ्नो जायजेथाको उचित प्रबन्ध गर्ने, बिक्री गर्ने वा बहालमा दिने,
(ङ) विनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य वित्तीय उपकरण जारी गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउण्ट गर्ने वा खरिद बिक्री गर्ने,
(च) प्राधिकरणको स्वीकृति लिई विदेशी मुद्राको कारोवार गर्ने,
(छ) कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारी साधन, मेसिन औजार, उपकरण, घरायसी टिकाउ सामान वा त्यस्तै अन्य चल सम्पत्तिको लागि किस्ताबन्दी वा हायरपर्चेज कर्जा उपलब्ध गराउने,
(ज) कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारी साधन, मेसिन, औजार उपकरण, घरायसी टिकाउ सामान वा त्यस्तै चल सम्पत्ति भाडामा लिन कर्जा (लिजिङ्ग फाइनान्स) उपलब्ध गराउने वा त्यस्ता चल सम्पत्ति भाडामा लिने दिने,
(झ) आफ्नो सदस्यको तर्फबाट जमानतपत्र जारी गर्ने र सो बापत सदस्यसँग आवश्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पत्ति धितोबन्धक लिने वा तेस्रो व्यक्तिको जेथा जमानत लिने,
(ञ) आफ्नो सम्पत्तिको कुनै अंश वा पूरै विक्री गर्ने वा लिजमा दिने,
(ट) खरिद गरिएको कुनै पनि वस्तुको तत्काल वा पछि भुक्तानी गर्ने (डिफर्ड) मूल्यमा अर्को खरिदकर्तालाई बिक्री गर्नु परेमा वित्तीय संस्था र विक्रेताको सहमति अनुसार सो वस्तुको मूल्य तय गर्ने,
(ठ) प्राधिकरणले तोकेको अन्य काम गर्ने ।

यी हुन् ‘ग’ वर्गको सहकारीले गर्ने काम

(क) प्राधिकरणले तोके अनुसारको परियोजना, बचत कायम गरेको समूह वा समूहको सदस्यलाई लघु व्यवसाय सञ्चालन गर्न कुनै चल अचल सम्पत्ति सुरक्षण वा जमानत लिई वा नलिई लघुकर्जा दिने,
(ख) वित्तीय सहकारी वा स्वदेशी वा विदेशी संघ–संस्था आदिबाट कर्जा वा अनुदान प्राप्त गर्ने र त्यस्तो कर्जा वा अनुदान लघुकर्जा वितरणमा वा सो कार्यलाई प्रभावकारी बनाउने काममा प्रयोग गर्ने ।
स्पष्टीकरणः तर विदेशी संघ वा संस्था आदिबाट कर्जा वा अनुदान लिनु अघि प्राधिकरणको स्वीकृति लिनु पर्नेछ ।
(ग) लघुकर्जा उपलब्ध गराउनु अघि जुन कार्यको लागि कर्जा माग भएको हो सो सम्बन्धी कार्यको मूल्याङ्कन गर्ने र त्यस्तो कार्यको सम्भाव्यता छ, छैन पहिचान गर्ने,
(घ) लघुकर्जा परिचालन सम्बन्धमा समूहलाई आवश्यक पर्ने सेवा तथा परामर्श प्रदान गर्ने,
(ङ) लघुकर्जा समयमा असुल उपर गर्नेतर्फ आवश्यक कारवाही गर्ने,
(च) प्राधिकरणको स्वीकृति लिई प्राधिकरणले तोकिदिएको शर्त बन्देजको अधीनमा रही वचत स्वीकार गर्ने तथा त्यस्तो वचतको भुक्तानी दिने,
(छ) पूँजीकोष पूरा गर्ने प्रयोजनका लागि शेयर, डिवेञ्चर, ऋणपत्र आदि जारी गर्ने,
(ज) आफू तथा अन्य कुनै वित्तीय सहकारीबाट कर्जा वा कुनै प्रकारको सुविधा लिने ऋणी वा सदस्यको विवरण सूचना वा जानकारी प्राधिकरण, सम्बन्धित निकाय वा अन्य वित्तीय सहकारीबीच लिने दिने,
(झ) प्राधिकरणले तोकेको अन्य काम गर्ने ।

वित्तीय सहकारीले गर्न नहुने

प्रस्तावित मस्यौदाको दफा ४३ मा वित्तीय सहकारीले गर्न नहुने कामको बारेमा उल्लेख गरिएको छ । वित्तीय सहकारी व्यापार गर्ने उद्देश्यले मालसामान खरिद बिक्री गर्न वा आफ्नो प्रयोजनको निमित्त आवश्यक पर्ने बाहेक भवन निर्माण गर्न वा अचल सम्पत्ति खरिद गर्न, आफ्नो शेयरको सुरक्षणमा कर्जा दिन नहुने उल्लेख छ । त्यस्तै सञ्चालक, लेखा सुपरीवेक्षण समितिका सदस्य, व्यवस्थापक, बचत तथा ऋण परिचालनमा मुख्य भूमिका रहने कर्मचारी, शेयर पूँजीको पाँच प्रतिशत वा सोभन्दा बढी शेयर लिएको व्यक्ति वा त्यस्ता व्यक्तिको परिवारका सदस्यलाई किसिमको कर्जा वा सुविधा प्रदान गर्न पनि रोक लगाएको छ ।

एउटै सदस्य कम्पनी, एकै समूहको कम्पनी वा साझेदारी फर्म, सम्बद्ध व्यक्तिलाई आफ्नो पूँजीकोषको प्राधिकरणले तोकेको प्रतिसदस्य सीमा नाघ्ने गरी कर्जा वा सुविधा प्रदान गर्न पनि रोक लगाएको छ ।

त्यसैथरी संस्थापक, सञ्चालक वा व्यवस्थापक जमानत वसी कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई कुनै किसिमको कर्जा दिन, प्राधिकरणले तोकिदिएको सीमाभन्दा बढी रकम अन्य संस्थाको शेयर पूँजीमा लगानी गर्न, वित्तीय सहकारीहरु एक आपसमा मिली वित्तीय कारोबारमा कुनै किसिमको एकाधिकार वा अन्य कुनै किसिमको नियन्त्रित अभ्यास कायम गर्न पनि रोक लगाएको छ ।

आफूले नाजायज लाभ लिने नियतले वित्तीय क्षेत्रको प्रतिस्पर्धात्मक वातावरणमा कृत्रिम अवरोध खडा हुने कुनै पनि किसिमको कार्य गर्न, वित्तीय सहकारीले गर्न नहुने भनी प्राधिकरणले समय समयमा तोकेका अन्य कार्य गर्न रोक लगाएको छ ।

Sponsored Advertisment

Advertisment

थप समाचार