Below Menu
Below Menu

समस्याग्रस्त सहकारीबाट एक करोड २० लाख ऋण असुली, १४५२ बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारीबाट एक करोड २० लाख ऋण असुली, १४५२ बचतकर्ताको रकम फिर्ता

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले एक हजार ४५२ बचतकर्ताको बचत रकम फिर्ता गरेको छ । कार्यालयले सार्वजनिक गरेको जेठ महिनाको प्रगति विवरण अनुसार यस अवधिमा दश हजार भन्दा कम बचत भएका ८ सहकारीका उक्त बचतकर्ताको रकम फिर्ता गरिएको हो । 

कार्यालयका अनुसार सोही सहकारीको ऋण असुलीबाट जम्मा भएको ५९ लाख ४ हजारबाट फिर्ता गरिएको हो । यस अवधिमा कार्यालयले १२२ जनाको ५१ लाख ५१ हजारको बचत मिलान गरिएको तथा १२ सहकारीका ऋणीबाट एक करोड २० लाख ४६ हजार रुपैयाँ ऋण असुली गरिएको जनाएको छ ।

बचत फिर्ता गरिएका सहकारीहरूमा कृषि विकास बहुउद्देश्यीय, कान्तिपुर सेभिङ एण्ड क्रेडिट, पशुपति सेभिङ, नागरिक कल्याण, ओरिएन्टल को–अपरेटिभ, गोरखा सेभिङ, शिव शिखर र लालिगुराँस बहुउद्देश्यीय सहकारी रहेका छन्। यी सहकारीका ऋणीहरूबाट असुल भएको रकमबाट दाबीकर्ताहरूलाई दाबी भुक्तानी गरिएको समेत समितिले जनाएको छ ।

बचत मिलान र ऋण असुली भएका सहकारीहरूमा ओरिएन्टल, तुलसी, कृषि विकास, आइडियल यमुना, शिव शिखर, स्ट्याण्डर्ड सेभिङ, लालिगुराँस, कान्तिपुर, गौतमश्री, पशुपति, गोरखा र नेपाल सहकारी वित्तीय संस्था रहेका छन्।

साथै, बचत फिर्ताका लागि भेरिफिकेसन गर्न बाँकी रहेका करिब ४४ हजार मागदाबी निवेदनहरूको चरणबद्ध रूपमा छानबिन भइरहेको कार्यालयले जनाएको छ ।  

यसैगरी दश हजारभन्दा कम बचत भएका साना बचतकर्ताहरुको रकम फिर्ता गर्नुपर्ने १४ सहकारीमध्ये ६ सहकारीको बचत फिर्ता सम्पन्न भएको, २ सहकारीको फिर्ता दैनिक भईरहेको, २ सहकारीको तेश्रो पक्षको जिम्मेवारीमा फिर्ता भएको रकम लगत संकलन भईरहेको र बाँकी ४ सहकारीको मागदाबी भेरिफिकेसनको कार्य भईरहेको प्रतिवेदनमा उल्लेख छ । 

यस्तै बचतकर्ताको मागदाबी रुजु तथा संशोधन गर्न छुट्टै हेल्प डेस्क समेत सञ्चालनमा ल्याइएको समितिले जनाएको छ । समस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक र पूर्व सञ्चालकहरूको नाममा रहेको सम्पत्ति खोजी गर्न रणनीतिक योजनासहित टोली परिचालन गरिएको समितिले उल्लेख गरेको छ । 

यसैगरी ऋणीहरूको ऋण दायित्व गणनाका लागि सफ्टवेयर विकास गरी कर्मचारीलाई तालिम दिने कार्य सुरु भएको प्रतिवेदनमा उल्लेख छ ।  
 

Advertisment

थप समाचार