Side Logo
Below Menu

अस्ट्रेलियामा बेरोजगारी दर २ वर्षयताकै उच्च

अस्ट्रेलियामा बेरोजगारी दर २ वर्षयताकै उच्च

क्यानबेरा : अस्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्च स्तरमा पुगेको छ । ‘अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)’ ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तथ्यांकअनुसार जुलाईमा अस्ट्रेलियाको बेरोजगारी दर बढेर ४।२ प्रतिशत पुगेको छ । गत जुन महिनामा यो दर ४।१ प्रतिशत थियो ।

हाल बेरोजगारी दर सन् २०२१ को नोभेम्बर पछिकै उच्च हो । ‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)’ का अनुसार अर्थशास्त्रीहरुले जुलाईमा बेरोजगारी दर ४।१ प्रतिशतमा स्थिर रहने अनुमान गरे पनि बेरोजगारी दर निरन्तर बढ्ने संकेत पछिल्लो तथ्यांकले देखाएको छ ।

एबीएसका अनुसार जुलाईको मध्यसम्ममा रोजगार अस्ट्रेलियालीहरुको कूल संख्या ५८ हजार २०० ले बढेर एक करोड ४४ लाख ६० हजार पुगेको छ । सोही अवधिमा बेरोजगारको संख्या २३ हजार ९०० ले बढेर ६ लाख ३७ हजार १०० पुगेको छ, जुन सन् २०२१ को नोभेम्बरपछि सबैभन्दा बढी हो।

सहभागिता दरले कार्यरत वा सक्रिय रूपमा काम खोजेका काम गर्ने उमेरका अस्ट्रेलियालीको अनुपात मापन गर्छ । यो संख्या जुनमा ६६.९ प्रतिशत रहेकोमा बढेर जुलाईमा ६७.१ प्रतिशतको उच्च रेकर्ड कायम भएको छ ।

यसै क्रममा रोजगारी अनुपात ०.१ प्रतिशतले बढेर ६४.३ प्रतिशत पुगेको छ, जसले जनसंख्या वृद्धिभन्दा रोजगारीको वृद्धि तीव्र रहेको प्रस्ट पार्छ । सन् २०२३ नोभेम्बर मा ६४.४ प्रतिशतको उच्च रेकर्डभन्दा केही कम रहेको संकेत गरेको एबीएसका श्रम तथ्यांक प्रमुख केट ल्याम्बले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।


 

Sponsored Advertisment

Advertisment