काठमाडौं : नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार ययस अवधिमा औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ ।
यस अवधिमा आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो ।
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले वृद्घि भई २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा रु.११ अर्ब ७१ करोड रहेकोमा २०८१ असार मसान्तमा ३०.४ प्रतिशतले वृद्घि भई १५ अर्ब २७ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति कुल १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ ।
२०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु.६४ खर्ब ५२ अर्बर निजी क्षेत्रमा प्रवाहित कर्जा रु.५० खर्ब ७४ अर्ब पुगेको छ ।
Advertisment