बचत के हो?
भविष्यको उपयोगका लागि वर्तमानको आम्दानीको केही अंश छुट्याएर राखिएको पैसा अर्थात् खर्च नगरी बचाएर राखिएको पैसालाई बचत भनिन्छ । हातमा पैसा रहेमा खर्च हुन सक्ने सम्भावना रहन्छ । यसबाट बच्न बैंक तथा वित्तीय संस्थामा खाता खोलेर राख्ने गरिन्छ । यस्तो पैसालाई बचत भनिन्छ । हुन त बचत घरमा पनि गर्न सकिन्छ । तर पनि, बचत भन्नाले बैंक तथा वित्तीय संस्थामा जम्मा गरिएको रकम भन्ने बुझिन्छ । यो एक किसिमको सम्पत्ति जोड्ने वा जम्मा गर्ने तरिका हो ।
बचत किन गरिन्छ ?
बचत मूलतः व्यक्तिगत आर्थिक व्यवहारका लागि गरिन्छ । मानिसको जीविका चलाउने क्रममा विभिन्न आर्थिक व्यवहार गर्नु पर्ने हुन्छ । जस्तै पुँजी निर्माण, सम्पत्ति खरिद, लगानी, दैनिक व्यवहारका खर्च, आपतकालीन खर्च, पुरानो कर्जा भुक्तानी आदिका लागि बचत गरिन्छ । यसका साथै सामाजिक व्यवहारका लागि पनि बचत गरिन्छ । जस्तै विवाह, ब्रतवन्ध, मृत्यु संस्कार, शिक्षा दीक्षा, तीर्थाटन/भ्रमण, स्वास्थ उपचार आदि कार्यका लागि बचत गर्ने गरिन्छ ।
बचत कसरी गर्ने ?
आम्दानी भन्दा खर्च कम गरेर,
अनावश्यक खालका खर्चमा कटौती गरेर,
दैनिक/साप्ताहिक/मासिक/वार्षिक रूपमा केही न केही बचाएर ।
बचत गर्ने केही तरिकाहरू
बचत गर्ने विभिन्न तरिकाहरू प्रचलनमा छन् । ती तरिकाहरूका केही फाइदा तथा बेफाइदाहरू पनि छन् । त्यसैले तिनका फाइदा तथा बेफाइदाहरुको राम्रो जानकारी लिएरमात्र बचत गर्नु उपयुक्त हुन्छ । बचत गर्ने केही तरिकाहरू र तिनका फाइदा तथा बेफाइदाहरू निम्न अनुसार छन् ।
घरमा नै राखिने बचत
फाइदा : बचत गर्न सजिलो हुन्छ ।
बेफाइदाहरू
ब्याज आउँदैन
चोरी हुन सक्छ ।
अनावश्यक काममा खर्च हुने सम्भावना हुन्छ ।
समूह वा उपभोक्ता समितिहरुमा गरिने बचत
फाइदाहरु
राख्न वा झिक्न सजिलो हुन्छ ।
सामूहिक एकतामा मद्दत पुर्याउँछ र तोकिए अनुसार ब्याज पाइन्छ ।
बेफाइदाहरु
पैसाको सुरक्षाको प्रत्याभूति (ज्ञारेन्टी) हुँदैन
कसैले आइदियो वा अपचलन गर्ने सम्भावना धेरै हुन्छ ।
कानूनी मान्यता पाएको हुँदैन
सहकारीमा गरिने बचत
फाइदाहरु
स्थानीय स्तरमा नै जम्मा गर्न पाइने हुनाले सजिलो हुन्छ ।
सुरक्षित हुन्छ ।
सामान्यतया बैंकको भन्दा बढी ब्याज पाइन्छ ।
सदस्यहरुसँग मित्रता बढ्छ
कानूनी मान्यता पाएको हुन्छ ।
बेफाइदाहरु
अनिवार्य सेयर सदस्य बन्नुपर्छ
खातामा निश्चित रकम राख्नुपर्ने हुन्छ ।
बैंकहरू तथा वित्तीइ संस्थाहरूमा गरिने बचत
फाइदाहरु
पैसाको सुरक्षा हुन्छ ।
बचतमा निश्चित ब्याज पाइन्छ।
एक ठाउँमा जम्मा गरेपनि अन्य शाखाबाट झिक्ने सुविधा पनि हुन्छ ।
आवश्यकता अनुसार विभिन्न खाताहरू जस्तै:- बचत, चल्ती, मुद्दती खोल्न पाइन्छ ।
ए.टी.एम.को प्रयोग गर्न सकिन्छ ।
कानूनी मान्यता पाएको हुन्छ ।
बेफाइदाहरु
बचतमा कम ब्याज आउँछ ।
जम्मा गर्न तथा झिक्न विभिन्न प्रक्रियाहरू पुरा गर्नुपर्दछ ।
बचत खाताबाट सबै रकम झिक्न पाइँदैन ।
Sponsored Advertisment
Advertisment