रुद्र मल्लाजी
पछिल्लो समय पीडित, अभियन्ता, ठग जस्ता शब्द असाध्यै चर्चामा छन् । वित्तीय क्षेत्रमा पीडित र ठग तथा राजनीतिक र सामाजिक क्षेत्रमा अभियन्ताको चर्चा पछिल्लो समय धेरै भएको छ । हरेक क्षेत्रमा मान्छेहरुलाई छिटो नाम र दाम कमाउन छ । चर्चा बटुल्नका लागि जस्तो पनि कर्म गर्न मान्छेहरु पछि परेका छैनन् । दीर्घकालमा त्यसको के असर पर्छ, आफु आफ्नो परिवारलाई त्यसले के कति समस्यामा पार्छ भन्ने कुरा तिर भन्दा पनि तत्कालका लागि चर्चा बटुल्न, धन आर्जन गर्न र शक्तिमा जानका लागि मान्छेहरु मरिहत्ते गर्ने गरेका घटना धेरै सार्वजनिक भएका छन् ।
प्रविधिको अधिकतम प्रयोगसँगै मान्छेहरु सिर्जनशिलता, सक्रियता, क्रियाशिलता जस्ता कुरा चटक्क बिर्सेर घण्टौसम्म फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा अल्झिने, सकारात्मक भन्दा नकरात्मक चिजमा धेरै ध्यान दिने, अरुलाई गाली गर्दा, आपेक्ष लगाउँदा, नकरात्मक कुरा गर्दा आफु ठूलो, अग्लो, बलियो भएको ठान्ने अवस्था दिन प्रतिदिन बढ्दै गएको छ । यो एउटा चरणमा गएर रोकिएन भने मान्छेले अरुलाई हिलो छ्यापेरै जिन्दगी चलाउने खालको समय नआउला भन्न सकिन्न ।
केही मान्छेहरु अभियन्ता बनेर चर्चामा आए, सत्तामा गए, शक्तिमा गए, धन आर्जन गरे । तिनको देखासिकी गरेर आज पालिका पालिकामा अभियन्ताको जन्म हुन थालेको छ । सडकदेखि सदनसम्म अभियन्ता हौं भन्नेहरु धेरै सक्रिय रहेको पाइन्छ । कुनै एउटा असल अभियान सञ्चालन गरेर समाज रुपान्तरणमा क्रियाशिल हुनेहरुलाई दिइने अभियन्ताको पगरी आजभोली मोवाइल तेर्साएर अरुलाई गाली गर्नेहरुले पाउन थालेका छन् ।
अरुलाई जति धेरै गाली गर्न सक्यो, अपमान गर्न सक्यो, विरोध गर्न सक्यो, नकरात्मक कुरा गर्न सक्यो उति बढी भ्यूज जाने, उति धेरैले लाइक कमेण्ट गरेको देखेर हौसिएका अभियन्ताहरुको दैनिकी आजभोली यस्तै यस्तैमा बित्ने गरेको छ । खासमा अभियन्ता नभएर उनीहरु नकरात्मक सन्देशवाहकका रुपमा काम गरी रहेका छन् ।
श्रम गरेर जीवन निर्वाह गर्नेहरु आज सामाजिक सञ्जालमा अल्झिएर श्रम सम्बन्धबाट टाढा हुँदैछन् । गाउँमा खेतीपाती गर्दै आएको जनशक्ति बजार झर्ने र सामाजिक सञ्जाललाई जीवनको महत्वपूर्ण माध्यमका रुपमा ग्रहण गर्ने प्रचलन यति बढेको छ कि यही अवस्था रही रह्यो भने मान्छेहरु सामाजिक सञ्जालकै माध्यमबाट धेरै प्रताडित हुने अवस्था आउने निश्चित छ ।
आज आम चर्चाको अर्को विषय ठग हो । ठगहरु सबै क्षेत्रमा छन्, मुलुक सञ्चालन गर्ने मुल नीति राजनीति, स्थायी सरकारको रुपमा रहेको कर्मचारी, सामाजिक, आर्थिक, धार्मिक सबै क्षेत्रमा ठगहरुको केही न केही उपस्थिति छ । तर पछिल्लो समय सहकारी ठगको चर्चा अलि बढी हुने गरेको छ । सहकारी ठगेको हो कि होइन अदालतले फैसला नगर्दै सामाजिक सञ्जालमा व्यक्ति व्यक्तिले फैसला गरेर ठग बनाउने प्रवृति बढीरहेको छ । सहकारीमा जम्मा भएको रकम विभिन्न बहानामा आफु र आफ्नो परिवारका लागि खर्च गरेर बचतकर्तालाई सडकमा ल्याउने ठग देखि काम गर्दा अप्ठेरो परेका कारण आरोपित ठगहरु पनि अहिले देखिएका छन् । सहकारीमा काम गर्छु सहकारी चलाउछौं भन्दा पनि ठग नै हो कि ? भन्ने खालको भाष्य यतिबेला निर्माण गर्न खोजिदैछ, वास्तवमा सबै सहकारीका सञ्चालकहरु ठग छैनन्, होइनन् र हुन सक्दैनन्, केही बिचौलियाहरु पसेर सहकारीलाई बर्बाद बनाउने खेल खेलेका छन्, तिनकै कारण आज सम्पूर्ण सहकारी क्षेत्र रक्षात्मक बन्नु परेको छ ।
अर्को चर्चाको विषय पीडितको पनि छ । आज बैंक पीडित, लघुवित्त पीडित, सहकारी पीडित, बाढी पीडित, भुकम्प पीडित यस्तै यस्तै धेरै पीडितहरुको पनि चर्चा हुने गर्छ । पछिल्लो समय वित्तीय क्षेत्रमा आएको समस्याका कारण वित्तीय क्षेत्रकै पीडितहरुको चर्चा बढी छ ।
अझै अलि बढी चर्चामा रहेको सहकारी पीडितको विषय त आम जनताको चासोको विषय भएको छ । हो साच्चिकै सहकारीबाट मान्छेहरु पीडित भएका छन् । जुन संघ संस्था, व्यक्ति वा समुहबाट मानिसहरु पीडित भएका छन् तिनीहरुबाट पीडितहरुलाई न्याय दिने काम राज्यको हो र राज्य निर्मम भएर उनीहरुलाई न्याय दिन लाग्नु पर्छ ।
तर पीडितका नाममा यतिबेला बैक वित्तीय संस्था र सहकारीबाट ऋण लिएर नतिर्नेहरुको भीड पनि उत्तिकै देखिन थालेको छ । हालसालै सामाजिक सञ्जालमा पीडितका नाममा पिकनिक गर्न लागिएको र प्रत्येक व्यक्तिबाट १ हजार रुपैयाँ संकलन गरेर पिकनिक जाने, ऋण मोचनका लागि आवश्यक तयारी गर्ने लगायतका सार्वजनिक सूचना सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
सहकारीमा बचत राखेर फिर्ता नपाएकाहरु वास्तवमा पीडित हुन्, उनीहरुका लागि न्याय आवश्यक छ । तर अहिले जसरी ऋण पीडितका नाममा वनभोज लगायत भीड जम्मा गर्ने अभियान सञ्चालन गरिरहेका छन्, तिनीहरुको अनुहार हेर्दा त्यस्तो देखिदैन ।
सहकारीबाट ऋण लिएर जग्गा थुपारेकाहरु, सहकारीकै ऋणको बलमा गाइफार्म र कुखुरा फार्म सञ्चालन गरेकाहरु, छोराछोरीलाई विदेश पठाएकाहरु, छोरा छोरीलाई राम्रो बोर्डिङमा पढाएकाहरु, व्यापार व्यवसाय गरेका, ऐस आरामको जिन्दगी विताएकाहरुको समुहलाई कसरी पीडित भन्न सकिन्छ । काम गर्न नजानेर व्यवसायमा समस्या भयो, जग्गा थुपारेको बिकेन अनि ऋण मिलाउन सकेनन्, ऋण मिलाउन नसकेपछि ऋणबाट उम्कने सजिलो उपाय सहकारी पीडितका नाममा भीड जम्मा गर्नेहरु कसरी पीडित हुन सक्छन् ?
बैंकले लिलामी गर्न थालेपछि सहकारी गुहारेका नागरिक अगुवा नामका स्वघोषित पीडितहरुलाई पीडित भन्ने कि ठग ? जसले सहकारीको ऋण तिर्न पर्दैन भनेर भिड जम्मा गर्दै हिडेका छन् ।
के भीड जम्मा गरेर हल्ला गरेपछि सबै कुरा छुट हुन्छ ? यदी छुट हुन्छ भने मान्छेहरु ऋण तिर्न किन दुख गर्छन ? ऋण लियो, खायो, सक्यो अनि तिर्ने बेलामा भीड जम्मा गरे भैहाल्यो ? पिकनिक आयोजना गरे भइहाल्यो ? लोेकतन्त्रमा सहकारीबाट ऋण लिएर नतिर्ने अनि भीड जम्मा गरेर सहकारी पीडित भन्नेहरुलाई छुट हुने हुन्छ र ?
बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्ने तर सहकारीको ऋण नतिर्ने र भीड देखाएर तर्साउनेहरुको संख्या दिन प्रतिदिन बढ्दैछ । सहकारी समुदायबाट सञ्चालन भएको हो, समुदायका सदस्यहरुको शेयर र बचत रकम जम्मा गरेर सहकारीले लगानी गरेको हो । हिजो ऋण लिने समयमा १६ प्रतिशत ब्याज तिर्ने सहमति गरेर, कागज गरेर ऋण लिने अनि तिर्ने बेलामा निहु खोज्नेहरु सहकारी पीडित होइनन्, पीडक हुन् ।
सहकारीबाट ऋण लिएर व्यवसाय गर्ने, व्यवसाय घाटामा गयो भने म पीडित हुँ भनेर ऋण नतिर्ने अभियानको अगुवाई गर्नेहरु अहिले हरेक जिल्लामा देखिन थालेका छन्, आफ्नो व्यवसाय समस्यामा प¥यो भनेर अरुले बचत गरेको रकमबाट लिएको ऋण तिर्न नपर्ने, तिर्दिन भन्नेहरुको संख्या बढ्दै जाने, भीड बढ्ने र भीडकै चाहना अनुसार राज्यका निकायले व्यवहार गर्ने हो भने यो मुलुकमा अराजकता थामेर सकिन्छ होला र ?
अराजकताको पनि हद हुन्छ, जे कुरामा पनि भीड जम्मा गर्ने, सामाजिक सञ्जाल प्रयोग गरेर निरासा, कुण्ठा, गाली बेइजती गर्नेहरुलाई राज्यले नियन्त्रण गर्न सक्दैन भने समाजले नियन्त्रण गर्न जरुरी छ । त्यस्ता पाजीहरुलाई सामाजिक बहिष्कार सम्म गर्ने हिम्मत समाजले गर्नु पर्छ ।
सहकारीबाट पीडित भएका, ऋणको बढी ब्याजका कारण मर्कामा परेकाहरुको कुरामा जति सरकार गंभिर हुनु पर्छ, त्यति नै गंभिर सहकारीबाट ऋण लिएर नतिर्ने, तिर्न पर्दैन भन्ने अभियानको अगुवाई गर्ने स्वघोषित पीडितहरुका लागि गंभिर हुन जरुरी छ ।
आफु, आफ्ना परिवारका सदस्यहरुलाई त्यही सहकारीको ऋणबाट सम्पन्न बनाउने, शिक्षा दिक्षा लिने, व्यवसाय गर्ने, अनि पछिल्लो समय व्यवसायमा समस्या देखिएको नाममा ऋण तिर्दिन भन्दै, नतिर्ने अभियानको अगुवाई गर्नेहरुको पहिचान गरी त्यस्ताहरुलाई नियन्त्रण गर्न नसक्ने हो भने राज्यले यस्ता नक्कली पीडितहरु अर्थात छद्मभेषी ठगहरुको ठुलै जमातको सामना गर्नु पर्ने हुन्छ ।
ठग सहकारीको बचत अपचलन गर्ने सञ्चालकहरु मात्रै होइनन्, सहकारीबाट ऋण लगेर नतिर्ने, नतिर्नका लागि भीड जम्मा गर्दै हिड्नेहरु पनि ठग हुन, ठगहरुलाई कार्वाहीका लागि सबैको ऐक्यवद्धता आवश्यक छ ।
सहकारी ऐनमा सहकारीबाट ऋण लिएर नतिर्नेहरुलाई कालो सुचिमा राख्न सकिने व्यवस्था गरेको छ र त्यसका लागि कर्जा सूचना केन्द्रको परिकल्पना गरिएको छ । तर सहकारी ऐन बनेको ७ वर्ष पुगि सक्दा पनि सरकारले कर्जा सूचना केन्द्र बनाउन सकिरहेको छैन । कर्जा सूचना केन्द्र नभएकै कारण सहकारीको ऋण तिर्न ऋणीहरु आनाकानी गरिरहेका छन् ।
सहकारी क्षेत्रले देशको वित्तीय बजार परिचालन गर्ने थियो, तर सहकारीको पैसा यतिबेला परिचालन हुन सकेको छैन ।
सहकारीका नाम भएका बद्मासीका कारण जति रकम अपचलन भएको छ, त्यसको धेरै गुणा रकम आज निष्क्रिय भएर बसेको छ । त्यसैले सहकारीको वर्तमान समस्या समाधान गरी वित्तीय बजार परिचालनका लागि सरकारले सहकारीको वचत अपचलन गर्नेहरुलाई कानुनी कारबाही गरी पीडितलाई न्याय दिने, ऋण तिर्न पर्दैन, तिर्दैनौ भन्नेहरुलाई कर्जा सूचना केन्द्र वा अन्य कुनै माध्यमबाट ऋण तिर्न बाध्य पार्न जरुरी छ ।