पाँच महिनामा ३१९ परियोजनाका लागि साढे २० अर्ब वैदेशिक लगानी प्रतिवद्धता ! 

पाँच महिनामा ३१९ परियोजनाका लागि साढे २० अर्ब वैदेशिक लगानी प्रतिवद्धता ! 

काठमाडौं : चालु आर्थिक वर्षको पाँच महिनामा साढे २० अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रस्ताव आएको छ । उद्योग विभागको तथ्यांक अनुसार मंसिर मसान्तसम्म २० अर्ब ७७ करोड ७३ लाख ६३ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो । 

विभागका अनुसार यस अवधिमा अटोमेटिक रुट, कागजी प्रक्रिया र शेयर खरिद तथा सदस्यता सम्झौतामार्फत ३१९ उद्योगका लागि सो रकम बराबरको लगानी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार यस अवधिमा अटोमेटिक रुटमार्फत १३८ परियोजनाका लागि दुई अर्ब १३ करोड एक लाख ७ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । 

त्यस्तै मंसिरसम्ममा १८ अर्ब ६४ करोड ७२ लाख ५६ हजार रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रस्ताव आएको छ । १८१ परियोजनामार्फत सो लगानी प्रतिबद्धता आएको हो । यस अवधिमा एसपीए तथा एसएसएका लागि २७ वटा परियोजना मार्फत एक अर्ब ५४ करोड १२ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । 

यस अवधिमा दर्ता भएका उद्योगमा साना उद्योग ३१२ वटा रहेका छन् भने ठूला उद्योग तीन वटा र मझौला उद्योग चार वटा रहेका छन् । प्रस्तावित उद्योगबाट ९ हजार २०६ जनाले रोजगारी पाउने भएका छन् । 

विभाग अनुसार मंसिर मसान्तसम्म सूचना प्रविधि क्षेत्रका १०६ वटा, निर्माण क्षेत्रका २२ वटा, सेवामुलक क्षेत्रका ४०, पर्यटन क्षेत्र १४५ उद्योग दर्ता भएका छन् । त्यस्तै यस अवधिमा कृषि क्षेत्रका ५ वटा उद्योग दर्ता भएका छन् भने पूर्वाधार र जलविद्युत क्षेत्रमा लगानी शुन्य रहेको छ ।

प्रस्तावित उद्योगमध्ये पर्यटन क्षेत्र सर्वाधिक लगानी प्रस्ताव आएको छ । यस अवधिमा पर्यटन क्षेत्रका १४५ वटा परियोजनामा १२ अर्ब ७६ करोड ५५ लाख रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । 

यस्तै, सेवामुलक क्षेत्रका ४० परियोजनामा चार अर्ब ८३ करोड, आईटीका १०६  परियोजनामा ६७ करोड ८७ लाख, उत्पादनका २२ परियोजनामा एक अर्ब ८१ करोड, पूर्वाधारका एक परियोजनामा दुई करोड र कृषि सम्वन्धी ५ परियोजनामा ६७ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव आएको छ ।

त्यस्तै नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताहरुले नाफा वापत लाने लाभांश पनि घटेको छ । यस अवधिमा विदेशी लगानीकर्ताले नाफा वापत ८५ करोड १६ लाख २ हजार रुपैयाँ बराबरको लाभांश लैजान प्रस्ताव गरेका छन् । 

यस अवधिमा लगानीकर्ताहरुले रोयल्टी मार्फत ३८ करोड २२ लाख ५४ हजार रुपैयाँ, नौं लाख ५१ हजार अमेरिकी डलर, भारुमा २० करोड ५ लाख र युरोमा १० हजार २०० रुपैयाँ थप रोयल्टी लगेको विभागको तथ्यांकमा उल्लेख छ ।
 

थप समाचार