काठमाडौं : आन्तरिक राजस्व विभागको राजस्व संकलनमा सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको मंसिरसम्म विभागले लक्ष्यको ८५.७५ प्रतिशत राजस्व संकलन गरेको छ । विभागले यस अवधिमा एक खर्ब ८७ अर्ब ३२ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।
उक्त राजस्व गत वर्षको सोही अवधिको तुलनामा ७.२५ प्रतिशत अर्थात १२ अर्ब ६६ करोड ३४ लाख रुपैयाँले बढी हो । गत वर्ष विभागले एक खर्ब ७४ अर्ब ६६ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
मंसिर मसान्तसम्म विभागले दुई खर्ब १८ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यस अवधिमा आयकरबाट ७८ अर्ब ३८ करोड ७७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा ६२ अर्ब ७० करोड एक लाख रुपैयाँ उठाएको छ । जुन लक्ष्यको ७९.९९ प्रतिशत हो ।
यस अवधिमा विभागले घरबहाल करबाट लक्ष्यको ५८.४६प्रतिशत राजस्व संकलन गरेको छ । उक्त शीर्षकबाट एक अर्ब ५६ करोड ५० लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको विभागले ९१ करोड ४९ लाख रुपैयाँ उठाएको हो ।
त्यसैगरी, विभागले ब्याजबाट यस अवधिमा १४ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ राजस्व उठाएको छ । यस अवधिमा २१ अर्ब ३० करोड ४३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । लक्ष्यको ७०.२८ प्रतिशतमा मात्रै उठाउन सफल भएको छ ।
विभागका अनुसार भ्याटबाट यस अवधिमा लक्ष्यको ८३.६८ प्रतिशत राजस्व संकलन भएको छ । भ्याटबाट ६३ अर्ब १४ करोड ४१ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको विभागले ५२ अर्ब ८३ करोड ६१ लाख रुपैयाँ राजस्व उठाएको हो ।
चालु आवको मंसिर मसान्तसम्म अन्तशुल्क शीर्षकमा ४७ अर्ब ३२ करोड ४० लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन लक्ष्यको ९४.७१ प्रतिशत हो । विभागले उक्त शीर्षकमा ४९ अर्ब ९६ करोड ९६ लाख रुपैयाँ राजस्व उठाउन लक्ष्य लिएको थियो ।
त्यस्तै यस अवधिमा स्वास्थ्य शीर्षकमा विभागले लक्ष्यको ८०.४५ प्रतिशत राजस्व संकलन गरेको छ । स्वास्थ्य शीर्षकमा ३ अर्ब २८ करोड १४ लाख रुपैयाँको लक्ष्य लिएको विभागले २ अर्ब ६४ करोड रुपैयाँ उठाएको हो ।
यस अवधिमा विभागले शिक्षा शीर्षकमा लक्ष्यको झण्डै दोब्बर राजस्व संकलन गरेको छ । मंसिर मसान्तसम्म शिक्षा शीर्षकमा ६९ करोड ५३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको विभागले एक अर्ब ३० करोड ४७ लाख रुपैयाँ उठाएको हो । जुन लक्ष्यको १८७.६५ प्रतिशत हो ।
यस अवधिमा विभागले अन्य शीर्षकमा ११ करोड ७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा चार अर्ब ६३ करोड ५१ लाख रुपैयाँ उठाएको छ । जुन लक्ष्यको ४१८६.९३ प्रतिशतले बढी हो ।