Below Menu
Below Menu

सरकारी ऋण साढे २५ अर्बले घट्यो, पाँच महिनामा एक खर्ब ७० अर्ब भुक्तानी 

सरकारी ऋण साढे २५ अर्बले घट्यो, पाँच महिनामा एक खर्ब ७० अर्ब भुक्तानी 

काठमाडौं : चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म सार्वजनिक ऋणको आकार २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । 
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आव वर्ष सुरु हुँदा २४ खर्ब ३४ अर्ब नौ करोड रहेको सार्वजनिक ऋण मंसिर मसान्तसम्म बढेर ५८ अर्ब ३१ करोड थपिएको हो । 

हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४३ दशमलव ६९ प्रतिशत बराबर हो । मंसिरमा ५८ अर्ब २४ करोड ऋण दायित्व भुक्तानी तथा २१ अर्ब २३ करोड मात्र ऋण प्राप्ति भएको र विनिमय दरमा भएको घटबढले कात्तिकको तुलनामा यस महिना २५ अर्ब ६४ करोड रुपैयाँ सार्वजनिक ऋण घटेको छ ।

मंसिर मसान्तसम्म सरकारले एक खर्ब ७० अर्ब ५९ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋणको साँवा–ब्याजको भुक्तानी गरेको छ । जसमा साँवा वापत एक खर्ब ४४ अर्ब ५५ करोड रुपैयाँ र ब्या वापत २६ अर्ब तीन करोड रुपैयाँ बराबरको भुक्तानी गरेको हो ।

चालु आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड बराबर रहेकामा मंसिर मसान्तसम्ममा बढेर १२ खर्ब १७ अर्ब ६६ करोड पुगेको छ ।

जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २१ दशमलव ३४ प्रतिशत बराबर हो । यस अवधिमा सरकारले एक खर्ब ६४ अर्ब आन्तरिक ऋण उठाउँदा एक खर्ब २७ अर्ब २४ करोड बराबर ऋण तिरेको छ ।

त्यस्तै, मंसिर मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १२ खर्ब ७४ अर्ब ७४ करोड रुपैयाँ छ । चालु आवको सुरुआतमा बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड बराबर थियो ।

मंसिर मसान्तसम्म सरकारले बाह्य ऋणको साँवा र ब्याज भुक्तानीमा १७ अर्ब ३१ करोड खर्च गरेको छ भने यहि अवधिमा २८ अर्ब २९ करोड बराबर बाह्य ऋण थपेको छ । जिडिपीको तुलनामा बाह्य ऋण २२ दशमलव ३५ प्रतिशत बराबर हो ।

चालु आर्थिक वर्षका लागि सरकारले पाँच खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा मंसिर मसान्तसम्ममा एक खर्ब ९२ अर्ब २९ करोड ऋण उठाइसकेको छ । वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति ३५ दशमलव १५ प्रतिशत बराबर हो ।

चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल चार खर्ब दुई अर्ब बजेट छुट्याएको छ । मंसिर मसान्तसम्ममा एक खर्ब ७० अर्ब ५९ करोड बराबर साँवा ब्याज भुक्तानी भइसकेको छ ।

यो अवधिको साँवा ब्याज भुक्तानी वार्षिक बजेट विनियोजनका आधारमा ४२ दशमलव ३५ प्रतिशत बराबर हो । जिडिपीको आधारमा मंसिर मसान्तसम्मको कुल ऋण सेवा खर्च दुई दशमलव ९९ प्रतिशत बराबर हो
 

Advertisment

थप समाचार