नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आफ्नो ३३ औं वार्षिक साधारण सभा पुस ५ र ६ गते लुम्बिनी प्रदेशको रुपन्देही जिल्लास्थित बुटवल शहरमा सम्पन्न गरेको छ । सकसको अवस्थाबाट सहकारी क्षेत्र गुज्रिरहेको समयमा काठमाडौं बाहिर साधारणसभा र त्यो पनि दुई दिन गर्नु संघका लागि चुनौतीपूर्ण थियो । संशय र आशंकाहरु चिर्दै नेफ्स्कूनले यही पुस ५ र ६ गते साधारणसभा सम्पन्न गरेको छ । मुलुककै जेठो सहकारी संघ- नेफ्स्कूनले १६ वर्षपछि काठमाडौं उपत्याबाहिर सम्पन्न गरेको साधारणसभाको व्यवस्थापन, सदस्यहरुको सहभागिता र सक्रियता तथा सन्देश के कस्तो रह्यो ? खुलदुलीको विषय पनि हो । यिनै विषयहरुको सेरोफेरोमा साधारणसभाको धपेडी सकेर काठमाडौं फर्किएका संघका अध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालसँग वित्तीय पोष्टले संक्षिप्त संवाद गरेको छ । प्रस्तुत छ, उक्त संवादको सारसंक्षेप:
कस्तो रह्यो साधारण सभा ?
समग्रमा भन्नुपर्दा अत्यन्त सफल, सभ्य र भव्य । सदस्य सहभागिता, संघको व्यवस्थापन र सिकाइका विषयवस्तुको प्रस्तुति र निष्कर्षको अर्थमा हामी सफल भयौं भन्ने हो । सभ्य यसकारण कि हामीले बुटवलमा पनि सहकारितको अभ्यास गर्दै सभ्य र सुसंस्कृत रुपमा कुनै अनावश्यक अरुचिकर घटनाविना नै सभा सम्पन्न गर्यौ । त्यस्तै, भव्यको अर्थ तामझाम वा खर्च होइन । यस अर्थमा भव्य भयो कि यो साधारणसभा सहभागिताको हिसाबले (दुबै उद्घाटन सत्र र बन्द सत्र) उल्लेख्य रह्यो ।

हामीलाई लुम्बिनी प्रदेश अन्तर्गतका स्थानीय तहहरु (खासगरी बुटवल उपमहानगरपालिका), प्रदेश बचत तथा ऋण सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघहरुको अन्यन्तै ठूलो सहयोग रह्यो । उहाँहरुको साथ, सहयोग, उत्साह र हौसला वन्दनीय छ । उहाँहरुले आँट र उर्जा नदिनुभएको भए सायद यो साधारणसभा यति भव्य सहभागिता र सक्रियताका साथ सम्पन्न हुनसक्दैनथ्यो होला । उहाँहरुले हाम्रो होस्टेमा हैसे गरिदिएका कारण आज हामी ३३औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरी काठमाडौं फर्कन सकेका छौं ।
काठमाडौं बाहिर साधारणसभा गर्न कति सहज छ ? किन काठमाडौंबाहिर भन्ने प्रश्न सभामा आएन ?
तपाईले निक्कै सान्दर्भिक प्रश्न गर्नुभयो । लामोसमय काठमाडौं उपत्यका केन्द्रीत साधारणसभा हुँदै आएकोमा हामीले भन्ने हो भने एक किसिमको ‘रिस्क’ नै उठाएका थियौं । सहकारी अभियानप्रति नकारात्मक भाष्यहरु बढ्दै गएको सन्दर्भमा, मुलुकको अर्थतन्त्र अपेक्षाकृत उकालो नलागेको परिस्थिति र साँच्चै भन्ने हो भने सहकारी भन्ने शब्दप्रति नै मोहभंग हुने परिस्थिति सृजना हुँदै गएको र नेफ्स्कूनमाथि पनि विभिन्न प्रश्नहरु उठाइदै आएको समयमा समेत यी सबै परिस्थितिको विश्लेषण र मुल्याङ्कन गरेर नै सकारात्मक उर्जा सञ्चार गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमा साधारणसभा गर्ने निर्णय लिएका थियौं । र त्यो सोचले आज सफलता प्राप्त गरेको छ ।
संघका सल्लाहकार डीबी बस्नेजज्यूले सल्लाहकारहरुसँगको छलफलमा पनि ‘हामीले धेरै अगाडि काठमाडौं बाहिर साधारणसभा गरेका हौं तर त्यसबेला संघका सदस्यहरु कम थिए, व्यवस्थापन गर्न त्यति धेरे कठिन थिएन तर अहिले संघ ठूलो बनेको छ, व्यवस्थापनको पाटोलाई विशेष ध्यान दिनुहोला’ भन्नुभएको थियो । हामीले त्यही भएर विशेष तयारी गरेका थियौं । संघका प्रमुख कार्यकारी अधिकृत नेतृत्वको व्यवस्थापनले पनि धेरै मिहेनत गर्यो । अर्कोतर्फ, संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीको संयोजकत्वमा गठित उपसमितिले पनि धेरै खटेर काम गर्यो । स्थानीय सरकार, प्रदेश र जिल्ला सहकारी संघहरुले पनि निक्कै सहयोग गर्नुभयो । स्थानीय म्यानेजर्सहरुको खटाइ पनि प्रशंसनीय थियो । यी सबैको गठजोड हो ३३औं वार्षिक साधारणसभाको सफलता ।
लुम्बिनीमा १४-१५ सय सहभागीहरु आउनु, यो ठाउँको पर्यटन प्रवर्धनमा सहयोग गर्नु, नयाँ घुमाई, नयाँ स्थान, नेटवर्किङका नयाँ अवसर पाउनु आफैमा राम्रो होइन र ?
भनेपछि काठमाडौं बाहिर साधारणसभा गर्न सकिदो रहेछ हैन त ?
नेफ्स्कूनको सिङ्गो सञ्चालक समिति हौसिएको छ यो साधारणसभाको सफलताले । व्यवस्थापकीय रुपमा काठमाडौंमा भन्दा केही कठिनाइ भए होलान्, हुँदै भएन पनि म भन्दिनँ तर त्यसको अनुपातमा प्राप्त प्रतिफलबाट हामी अत्यन्तै खुसी छौं । राज्य संघीयताको अभ्यासमा छ, अधिकारहरु विकेन्द्रीत भएका छन्, स्थानीय तहहरु सशक्त भएका छन्, यस्तो अवस्थामा देशभर कार्यक्षेत्र रहेको नेफ्स्कूनले सधै काठमाडौंमा मात्रै सदस्यहरुको सर्वोच्च भेला गर्नुपर्छ भन्ने छ र ? नेफ्स्कूनको भूगोल नेपालभर हो ।
लुम्बिनीमा १४-१५ सय सहभागीहरु आउनु, यो ठाउँको पर्यटन प्रवर्धनमा सहयोग गर्नु, नयाँ घुमाई, नयाँ स्थान, नेटवर्किङका नयाँ अवसर पाउनु आफैमा राम्रो होइन र ? बुटवल उपमहानगरपालिकाका मेयर आदरणीय खेलराज पाण्डेयले उद्घाटन सत्रमा हामीलाई प्रदान गर्नुभएको उर्जाबाट हामी सिञ्चित भयौं । त्यसैगरी, लुम्बिनी प्रोस्कून, पाल्पा, रुपन्देही, नवलपरासीका बचत संघका साथीहरु लुम्बिनीमा नेफ्स्कूनको साधारणसभा भयो भनेर कति हर्षित हुनुभयो, बन्द सत्रमा पनि लुम्बिनीमा आयोजना गरेको भनेर हामीलाई धन्यवाद दिनुभएको थियो सदस्यहरुले । यसले लुम्बिनी प्रदेशको साकोस अभियानमा एक किसिमको ‘पोजेटिभ भाइब्रेसन’ ल्याएको छ । अब अर्को वर्ष अर्को ठाउँमा पनि यस्तै उत्साह हुन्छ यसले गर्दा सबै भूगोलको साकोस अभियान लाभान्वित बन्छ ।

नेफ्स्कूनमात्र होइन देशभर कार्यक्षेत्र भएका केन्द्रीय संघहरुले पनि अब काठमाडौं बाहिर साधारण सभा गर्नुपर्छ भन्ने हामीलाई लाग्छ । यो हामी सबै केन्द्रीय संघहरुको दायित्व भित्रको विषय हो । यसले साधारणसभाको गरिमा, सहभागिता र स्तर बढाउँछ, सबै भूगोलका सदस्यहरुको अपनत्व र सहभागिता बढ्छ ।
बन्द सत्रमा सहभागिता, जिज्ञासाहरु के कस्तो रह्यो ?
मैले भनिसके यो पटकको बन्द सत्रमा पनि सदस्य संघ संस्थाका प्रतिनिधिज्यूहरु पूरै समय बस्नुभयो । जिज्ञासा, सुझाव, सल्लाह र आशंकामिश्रित करिब ४ दर्जन कोसेलीलाई प्राप्त भएको थियो । हामीले हाम्रा सदस्यहरुलाई संघको गत आर्थिक वर्षको अवस्था, वर्तमानको वस्तुस्थिति र भविष्यको रुपरेखा बारे स्पष्ट पार्न पायौं । उहाँहरु पनि नेफ्स्कून सही बाटोमा हिडेको रहेछ, सबै प्रतिफल र परिणामहरु एकैरातमा सम्भव छैनन तर काम पूर्ण इमानदारीपूर्वक गरिरहेको छ है भन्नेमा पूर्णतः आश्वस्त भएर आफ्नो संस्था फर्कनुभएको छ ।
अनौपचारिक बसाइहरुमा पनि थुप्रै रचनात्मक उपहारहरु प्राप्त भएका छन् । ती हाम्रो संघका लागि सम्पत्ति भएको विचार पूर्व अध्यक्ष ऋषिराज घिमिरेले राख्नुभएको थियो भने पूर्व अध्यक्ष डीबी बस्नेतले पनि नेफ्स्कूनको बुटवल सम्मेलनमा उत्साहजनक सहभागिता भएको भन्दै प्रशंसा गर्नुभएको थियो । पूर्व अध्यक्ष एवम् सल्लाहहरुबाट प्राप्त रचनात्मक सुधार र मार्गदर्शनका लागि हामी आभारी छौं । त्यसैगरी, संघकी उपाध्यक्ष शान्ती अधिकारीजीले पनि बन्द सत्रभर सबै सञ्चालक समिति टसकोमस नगरी सदस्यहरुको जिज्ञासा र सुझावहरु ग्रहण गरेर बस्नुभयो भन्नुभएको थियो ।
सञ्चालक समितिका नयाँ सदस्यहरुका लागि राम्रो अवसर भयो, सदस्यहरुसँग साक्षात्कार गर्ने, उहाँहरुको विचार र अपेक्षा संकलन गर्ने । बन्द सत्रमा सदस्यहरुले खासगरी सहकारीको छवि सुधार, बहसपैरवीलाई सघन बनाउन र भाखा नाघेको ऋणलाई तदारुकताका साथ उठाइ सदस्यहरुको बचत सुरक्षणलाई पहिलो नम्बरमा राख्न आग्रह गर्नुभएको थियो । हामीले यस विषयमा आश्वस्त रहन आग्रह गर्दै यो पटक भन्दा आगामी वर्ष अझ राम्रो हुनेछ संघले सदस्यहरुको बचतको सुरक्षा मात्र होइन उचित प्रतिफलसमेत उपलब्ध गराउनेछ समेत भनेका छौं ।
संघको वित्तीय अवस्थाप्रति सदस्यहरुले चित्त बुझाए त ?
संघको वित्तीय अवस्थाको कुरा गर्दा, सदस्यहरुले यो मानेमा चित्त बुझाउनु भएको छ कि हामीले अघिल्लो वर्ष भन्दा राम्रो प्रगति गरेका छौं । ३२औं वार्षिक साधारणसभाबाट निर्वाचित नेफ्स्कूनको सञ्चालक समितिले ३३औं वार्षिक साधारणसभा सम्म आइपुग्दा अंक र अवस्थामा उल्लेख्य सुधार गरेको रहेछ । खासगरी असुलीलाई प्राथमिकता दिएर निमर्मतापूर्वक जेन्यून काम गरेको सदस्यहरुले बुझ्नुभएको रहेछ ।
त्यस्तै, सुशासनलाई केन्द्रमा राखेर नेतृत्व भन्दा नीति माथि राखेर काम गर्न सुझाउनुभएको छ त्यसका लागि बरु नीतिगत सुधारमा पुग्दो छलफल गर्नुपर्छ भन्नुभएको छ भने समग्रमा साकोस अभियानको एकतालाई थप कसिलो बनाउँदै मुलुकको सहकारी अभियानमाथिको कालो बादल हटाउनुपर्छ भन्ने सन्देश बुटवल साधारणसभाले दिएको हामीले निष्कर्ष निकालेका छौं ।
फिट एण्ड प्रपर टेष्टको मापदण्ड बनाएर आफ्ना संघ/संस्थामा लागू गर्ने प्रतिबद्धता कर्तलध्वनिका साथ आएको छ । यसले अब सहकारीमा फिट र प्रपर कन्डक्टभएको नेतृत्व स्थापित हुने विश्वास लिएका छौं ।
सिकाइ सत्रहरुको प्रतिक्रिया के कस्तो रह्यो ?
हामीले २ वटा सिकाइको कार्यक्रम राखेका थियौं राष्ट्रिय कार्यशाला गोष्ठी भनेर । सिकाइको सत्रमा सहकारी अभियानभित्रका चुनौतीहरुबारे रजिष्ट्रारज्यूले स्पष्टसँग राख्नुभयो, विभागले सहकारी अभियानसँग मिलेर समस्याहरु समाधान गर्ने, कानुनी सुधारका कामहरु गर्ने र राज्यलाई सहकारीमार्फत समृद्धिसँग जोड्ने विषय राख्नुभयो भने सञ्चालकहरुको उपयुक्तता परीक्षण (फिट एण्ड प्रपर टेष्ट) का विषयमा राष्ट्र बैंकका तर्फबाट भएको प्रस्तुतीले सञ्चालकहरुको योग्यता, दक्षता, अनुभव र अनुशासनलाई जोड दिएको थियो ।
दुई दिने सभाको अन्त्यमा हामीले ४ बुँदे संकल्प प्रस्ताव पनि पारित गरेका छौं । यी संकल्प प्रस्तावहरुप्रतिको सभाको प्रतिवद्धताले हामी पुलकित भएका छौं । आन्तरिक स्वनियमन र सुशासन, उपयुक्तता परीक्षण, साझा सञ्जाल, साझा प्रविधि र बहसपैरवीका लागि साकोस अभियानले गरेको संकल्पहरुलाई अव व्यवहारमा परिणत गर्न हामी एक भएर जुट्छौं । फिट एण्ड प्रपर टेष्टको मापदण्ड बनाएर आफ्ना संघ/संस्थामा लागू गर्ने प्रतिबद्धता कर्तलध्वनिका साथ आएको छ । यसले अब सहकारीमा फिट र प्रपर कन्डक्टभएको नेतृत्व स्थापित हुने विश्वास लिएका छौं ।
त्यसबाहेक उद्घाटन सत्रमा माननीय मन्त्रीज्यूले अब सहकारीहरुले देशश्व्यापी जागरण कार्यक्रम गर्नुपर्छ, मन्त्रालयले पनि सहकारी सबै खराब छैनन् है निक्कै उदाहरणीय काम गरी सदस्य र समुदायको जीवनस्तर सुधारमा काम गर्ने प्रशंसनीय सहकारीहरु पनि छन्, यी कुराहरु बुझाउनुपर्छ, प्रचारप्रसार गर्नुपर्छ, प्रत्येक घरघरमा सहकारीबारे सकारात्मक धारणा सञ्चार गर्नुपर्छ त्यसका लागि सबै जाग्नुपर्छ सरकार पनि तपाईहरुको साथमा छ भन्नुभएको छ । यसले पनि आफ्नो कर्मक्षेत्र फकर्ने सदस्यहरुलाई उत्प्रेरणा दिएको छ ।

अब नेफ्स्कून कसरी अघि बढ्छ ?
सहकारी अभियानको अवस्थाप्रति नेफ्स्कून सञ्चालक समिति गम्भीर छ । हामी बाइसै जनाको ‘स्पीड’ बढेको छ किनकि हाम्रो ‘स्पिरिट’ मिलेको छ । यो एकता, सहकार्य, सद्भावको बुटवलमा पनि सबैले प्रशंसा गर्नुभयो । मैले भन्नै पर्छ, निवर्तमान अध्यक्ष परितोष पौड्यालजीले त आफ्नो सम्बोधनमा भन्नुपनि भयो, ‘मैले थुप्रै साधारणसभाहरुमा सहभागी भएँ तर बन्द सत्रमा यो किसिमको उत्साहजनक सहभागिता कमै देखेको थिएँ ।’ यसले नेफ्स्कूनप्रति सदस्य सस्थाहरुको विश्वास, अपेक्षा बढेको भान हुन्छ ।’
यही उत्साह कायम गर्दै सदस्यहरुका एक एक सुझावहरु केलाउँदै, संकल्प प्रस्तावका ४ वटै बुँदामा केन्द्रीत हुँदै सुशासनका माध्यमबाट साकोसका सदस्यहरुको जीवनस्तर सुधारको दिशामा हामी अझ ‘सिरियस’ काम गर्ने गरी बुटवलबाट फर्केका छौं ।
Advertisment