काठमाडौं : नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशको गत आर्थिक वर्षको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
उक्त प्रतिवेदनमा राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा ३.८७ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ भने आधारभूत मूल्यमा ३.५४ प्रतिशतले वृद्धि भएको अनुमान छ ।
त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा १.९५ प्रतिशत र आधारभूत मूल्यमा २.३१ प्रतिशतले वृद्धि भएको संशोधित अनुमान रहेको छ ।
राष्ट्र बैंकले प्रदेशको सल्यान, कालिकोट, दैलेख र सुर्खेत जिल्लाका स्थलगत तथा रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, जाजरकोट र हुम्ला जिल्लाका गैरस्थलगत अध्ययनबाट उक्त प्रतिवेदन तयार पारेको हो ।
गत आवमा प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्यमा) ३.३९ प्रतिशत रहेको अनुमान छ । अघिल्लो आवमा यस्तो वृद्धिदर १.९६ प्रतिशत रहको संशोधित अनुमान छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको योगदान ४.२८ प्रतिशत छ ।
कृषि तर्फ समीक्षा वर्षमा यस प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.९४ प्रतिशतले वृद्धि भएको छ । प्रमुख बालीमध्ये धान र मकै बालीले ढाकेको क्षेत्रफल क्रमशः ८.४८ प्रतिशत र २.१२ प्रतिशतले बढेको छ भने गहुँ, कोदो, जौ र फापर बालीले ढाकेको क्षेत्रफल क्रमशः ०.९७ प्रतिशत, २८.१६ प्रतिशत र ३३.३० र २३.०१ प्रतिशतले घटेको छ ।
त्यसैगरी, तरकारी र बागबानी बालीले ढाकेको क्षेत्रफल ३६.४० प्रतिशत र ५.९८ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन ६.७९ प्रतिशतले वृद्धि भएको छ ।
खाद्य तथा अन्य बालीभित्र पर्ने प्रमुख कृषि बालीमा धान र गहुँको उत्पादन क्रमशः १२.०४ प्रतिशत र ०.४३ प्रतिशतले वृद्धि भएको छ भने मकै, कोदो, जौ तथा फापरको उत्पादनमा क्रमशः ७.६१ प्रतिशत, १९.८७ प्रतिशत, १८.९८ प्रतिशत र ८.४६ प्रतिशतले कमी आएको छ ।
गत वर्ष प्रदेशमा दुध उत्पादन ७.८२ प्रतिशतले बढेको छ । त्यस्तै मासु, माछा र अण्डा उत्पादनमा क्रमशः ६.५८ प्रतिशत, ३.३४ र ०.९० प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको ९.१२ प्रतिशत हिस्सा ओगटेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जा गत वर्षको तुलनामा १.७१ प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकका अनुसार उद्योग क्षेत्रतर्फ प्रदेशमा नमुना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ४८.५१ प्रतिशत रहेको छ ।
प्लाष्टिकजन्य उत्पादन सम्बन्धी उद्योगको उपयोग क्षमता सबैभन्दा बढी शत प्रतिशत रहेको छ भने अन्न तथा पशुदाना उत्पादन गर्ने उद्योग अन्तर्गत पिठो उत्पादन गर्ने उद्योगको उपयोग क्षमता सबैभन्दा कम १५.० प्रतिशत रहेको छ ।
समीक्षा वर्षमा औद्योगिक कर्जा गत वर्षको तुलनामा ३.३३ प्रतिशतले वृद्धि भएको छ । प्रदेशमा प्रवाह भएको समग्र कर्जाको ६.९५ प्रतिशत हिस्सा उद्योग क्षेत्रले ओगटेको छ ।
सेवा क्षेत्रतर्फ समीक्षा वर्षमा यस प्रदेशमा भित्रिने पर्यटकको संख्यामा २३.४० प्रतिशतले वृद्धि भएको छ । भारत, चीन र तेस्रो मुलुकबाट भित्रिने पर्यटकको संख्या क्रमशः २३.४९ प्रतिशत, १५.७७ प्रतिशत र २४.८४ प्रतिशतले वृद्धि भएको छ ।
यस अवधिमा प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८३.९३ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको छ । गत वर्ष वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ४७५ तथा शाखारहित बैंकिङ संख्या ३० पुगेको छ । त्यस्तै कर्जा तथा निक्षेप अनुपात ७८.५० प्रतिशत रहेको छ ।
पूृर्वाधार क्षेत्र तर्फ गत वर्षमा प्रदेशमा विद्युत प्रसारण लाईन २४१६.४७ किमि पुगेको छ । समीक्षा वर्षसम्म यस प्रदेशमा १७.४१ मेगावाट विद्युत् उत्पादन भएको छ ।