काठमाडौं : अर्थ मन्त्रालयले संघ प्रदेश र स्थानीय सरकारहरुको एकीकृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरणमा गत आर्थिक वर्षमा तीन तहका सरकारका बजेटरी निकायहरूको कुल नगद तथा बैङ्क मौज्दात ६१ अर्ब ८५ करोड (धनात्मक) रहेको छ ।
मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरणमा गैरबजेटरी निकायको सोही अवधिको नगद तथा बैङ्क मौज्दात रकम ७२ अर्ब २७ करोड ५१ लाख (धनात्मक) रहेकोले तीन तहका सरकारको बजेटरी तथा गैर बजेट निकायको नगद बाँकी तथा बैंक मौज्दात एक खर्ब ३४ अर्ब १२ करोड ५१ लाखले धनात्मक अवस्थामा रहेको छ ।
राजस्व
संघीय सरकारको आर्थिक वर्ष २०७९/८० मा जम्मा खुद राजस्व संकलन रू. ८ खर्ब ३४ अर्ब ०५ करोड ९५ लाख प्राप्त भएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा रू.९ खर्ब २९ अर्ब ०४ करोड ७७ लाख प्राप्त भएको छ ।
प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० मा जम्मा राजस्व संकलन रू.९२ अर्ब ९८ लाख प्राप्त भएकोमा आर्थिक वर्ष २०८०/८१ मा रू.९३ अर्ब ६० करोड ७५ लाख प्राप्त भएको छ । स्थानीय सरकार तर्फ आर्थिक वर्ष २०७९/८० मा जम्मा राजस्व रू. १ खर्ब ०८ अर्ब ८७ करोड १८ लाख प्राप्त भएकोमा आर्थिक वर्ष २०८०/८१ मा कुल रू. १ खर्ब २० अर्ब ५४ करोड २६ लाख प्राप्त भएको छ ।
समग्रमा तीन तहका सरकारको आर्थिक वर्ष २०७९/८० मा जम्मा राजस्व प्राप्ति रू. १० खर्ब ३४ अर्ब ९४ करोड १२ लाख प्राप्त भएकोमा आर्थिक वर्ष २०८०/८१ मा कुल रू. ११ खर्ब ४३ अर्ब १९ करोड ७९ लाख प्राप्त भएको छ ।
खर्च
आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकारको चालु तर्फको यथार्थ खर्च रू. ९ खर्ब २९ अर्ब १२ करोड ६४ लाख भएको छ भने पूँजीगत तर्फ रू. १ खर्ब ९२ अर्ब ०२ करोड ७३ लाख खर्च भएको छ । वित्तीय व्यवस्था तर्फ भने जम्मा खर्च रू.२ खर्ब ७२ अर्ब २४ करोड ७७ लाख समेत जम्मा खर्च रू. १३ खर्ब ९३ अर्ब ४० करोड १५ लाख रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारहरूको चालु तर्फको यथार्थ खर्च रू. ७२ अर्ब ०२ करोड ७० लाख भएको छ भने पूँजीगत तर्फ कुल रू. १ खर्ब १२ अर्ब ०८ करोड ३२ लाख खर्च भएको छ । वित्तीय व्यवस्था तर्फ भने यस वर्ष कुनै खर्च नहुँदा कुल प्रदेश सरकारहरूको जम्मा खर्च रू. १ खर्ब ८४ अर्ब ११ करोड २ लाख रहेको छ।
२०८०/८१ मा स्थानीय सरकारको जम्मा खर्च रू.४ खर्ब २३ अर्ब ६९ करोड ०२ लाख रहेको छ । जसमा चालु तर्फको खर्च रू.२ खर्ब ७९ अर्ब ६८ करोड ३७ लाख भएको छ भने पूँजीगत तर्फ रू.१ खर्ब ४३ अर्ब ७५ करोड ६३ लाख खर्च भएको छ । वित्तीय व्यवस्था तर्फको जम्मा खर्च भने रू. ३५ करोड २ लाख रहेको छ ।
आर्थिक वर्ष २०८०।८१ मा तिनै तहका सरकारको (बजेटरी र गैर बजेटरी निकायको) सरकारहरूवीच भएका दोहोरो खर्च घटाउँदा पश्चातको कुल खर्च रू. १६ खर्ब ८२ अर्ब ०८ करोड ६६ लाख भएको छ । जसमध्ये चालु तर्फ रू. ९खर्ब ४३ अर्ब १० करोड ३३ लाख, पूँजीगत खर्च रू.४ खर्ब ६६ अर्ब ३७ करोड ८२ लाख र वित्तीय व्यवस्था तर्फ जम्मा खर्च रू.२ खर्ब ७२ अर्ब ५० लाख खर्च भएको छ ।
वित्तीय हस्तान्तरण
आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा कुल रू. ३ खर्ब ९७ अर्ब ३५ करोड ९८ लाख हस्तान्तरण भएको छ । जसमध्ये संङ्घीय सरकारले प्रदेश सरकारलाई रू. ९९ अर्ब ६६ करोड ४२ लाख र स्थानीय तहलाई रू. २ खर्ब ९७ अर्ब ६९ करोड ६० लाख हस्तान्तरण गरेको छ ।
स्थानीय तहलाई प्रदेश सरकारबाट पनि रू. २६ अर्ब ३९ करोड ४४ लाख हस्तान्तरण भएको थियो । यसरी संङ्घीय तथा प्रदेश सरकारहरूबाट स्थानीय तहमा जम्मा रू.३ खर्ब २४ अर्ब ९ करोड ०५ लाख हस्तान्तरण भएको थियो ।
आर्थिक वर्ष २०८०।८१ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा जम्मा रू. ३ खर्ब ३९ अर्ब ४१ करोड ६२ लाख हस्तान्तरण गरेको छ जसमध्ये संङ्घीय सरकारबाट प्रदेश सरकारलाई रू.७६ अर्ब ०१ करोड ९९ लाख र स्थानीय तहलाई रू.२ खर्ब ६३ अर्ब ३९ करोड ६२ लाख हस्तान्तरण भएको छ ।
स्थानीय तहलाई प्रदेश सरकारबाट पनि रू. २१ अर्ब २० करोड ९७ लाख हस्तान्तरण भएको र संङ्घीय सरकारबाट हस्तान्तरण भएको रकम समेत गरी जम्मा रू.२ खर्ब ८४ अर्ब ६० करोड ६० लाख स्थानीय तहमा हस्तान्तरण भएको छ ।
सञ्चित कोषको अवस्था
आर्थिक वर्ष २०७९/८० को अन्त्यमा सङ्घीय सञ्चित कोष कुल रू. १ खर्ब ८१ अर्ब २६ करोड ७३ लाखले ऋणात्मक रहेको, सोही अवधिसम्म प्रदेश सञ्चित कोष ६४ अर्ब ४१ करोड ८६ लाख र स्थानीय संञ्चित कोष ७८ अर्ब ६४ करोड ४४ लाखले धनात्मक हुँदा तीन तहका सरकारको समग्र संञ्चित कोष ३८ अर्ब २० करोड ५४ लाखले ऋणात्मक रहेको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा सङ्घीय कुल प्राप्ति रू.१२ खर्ब ८४ अर्ब ६७ करोड ६३ लाख रहेको र कुल भुक्तानी रू.१३ खर्ब ४६ अर्ब २१ करोड १२ लाख तथा विनिमय दर वा अन्य समायोजन रू. १४ अर्ब ४४ करोड ५६ लाख भएबाट यस आर्थिक वर्षको शुरूको मौज्दात समेतको समायोजनबाट आर्थिक वर्षको अन्त्यमा सङ्घीय सञ्चित कोष कुल रू.२ खर्ब २८ अर्ब ३५ करोड ७६ लाखले ऋणात्मक रहेको छ ।
यसै गरी प्रदेश सञ्चित कोष रू. ५० अर्ब ९० करोड ९८ लाख धनात्मक र स्थानीय संञ्चित कोष रू. ६० अर्ब ५० करोड ८० लाखले धनात्मक हुँदा तीन तहका सरकारको समग्र संञ्चित कोष रू. १ खर्ब १६ अर्ब ९३ करोड ९७ लाखले ऋणात्मक नै रहेको छ।
ऋण तथा शेयर लगानी
आर्थिक वर्ष २०७९/८० सम्ममा सरकारको जम्मा ऋण लगानी रू. ३ खर्ब ९७ अर्ब ६ करोड ५० लाख रहेको थियो । यस आर्थिक वर्षमा सरकारबाट रू.३२ अर्ब करोड ६५ लाख ऋण लगानी भएको छ। त्यस्तै आर्थिक वर्ष २०७९÷८० सम्ममा सरकारको जम्मा शेयर लगानी ३ खर्ब ८५ अर्ब ७२ करोड १० लाख रहेको छ ।
यस आर्थिक वर्षमा सरकारबाट रू.१३ अर्ब ४१ करोड ६२ लाख लगानी भएको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकार र स्थानीय तहबाट समेत रू. ४१ अर्ब ८५ करोड ७८ लाख आन्तरिक ऋण लगानी भएको छ भने नेपाल सरकारबाट सार्वजनिक संस्थानमा शेयर लगानी रू. ६ अर्ब ९९ करोड ४३ लाख तथा वैदेशिक शेयर लगानी रू.२१ करोड ६० लाख रहेको छ ।
भुक्तानी दिन बाँकी दायित्व रकम
तिनै तहका सरकारको आर्थिक वर्ष २०८०/८१ सम्ममा भुक्तानी दिन बाँकी दायित्व रकम रू. १८ अर्ब ७२ करोड ८० लाख रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो रकम रू. ८ अर्ब ७४ लाख रहेको थियो ।
खर्च प्रतिवद्धता
गत आर्थिक वर्षबाट खर्च प्रतिवद्धताको अभिलेख राख्न थालिएको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा प्राप्त भएको विवरण अनुसार संङ्घीय सरकार तथा प्रदेश सरकारका बजेटरी निकायका खर्च प्रतिबद्धता रकम रू. ९ खर्ब २४ अर्ब ४७ करोड ६८ लाख रहेको छ । स्थानीय तहको बिवरण भने प्राप्त नभएकोले समावेश गरिएको छैन ।
शोधभर्ना
आर्थिक वर्ष २०८०/८१ मा ऋण तर्फ रू. ३६ अर्ब ५५ करोड १७ लाख शोधभर्ना प्राप्त भएको छ । शोधभर्ना हुन बाँकी ऋण रकम रू. १४ अर्ब ३३ करोड ३ लाख रहेको छ । अनुदान तर्फ यस वर्ष रू. ११ अर्ब १६ करोड ५४ लाख शोधभर्ना प्राप्त भएको छ भने रू. ६ अर्ब २५ करोड १० लाख शोधभर्ना हुन बाँकी समेत गरी कुल रू.२० अर्ब ५८ करोड १३ लाख कुल शोधभर्ना हुन बाँकी रहेको छ ।
अघिल्लो आर्थिक वर्षमा शोधभर्ना बक्यौता रकम अनुदान तर्फ रू. ७ अर्ब ४८ करोड ७७ लाख रहेको थियो भने ऋण तर्फको बक्यौता रू. ११ अर्ब ३१ करोड ०८ लाख रहेको थियो ।