छ महिनामा २६ अर्ब विदेशी लगानी प्रतिवद्धता, पर्यटन क्षेत्रमा झण्डै १७ अर्ब ! 

छ महिनामा २६ अर्ब विदेशी लगानी प्रतिवद्धता, पर्यटन क्षेत्रमा झण्डै १७ अर्ब ! 

काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा करिब २६ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रस्ताव आएको छ । उद्योग विभागको तथ्यांक अनुसार पुस मसान्तसम्म २५ अर्ब ७७ करोड ६४ लाख ८८ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।

यस अवधिमा ३५४ परियोजनाका लागि विभागको प्रमाणीकरण (स्वीकृत) प्रणालीबाट अटोमेटिक रुटमार्फत २३ अर्ब ३९ करोड ४९ लाख ७६ हजार रुपैयाँ र स्वचालित प्रणालीबाट २ अर्ब ३८ करोड १५ लाख १२ हजार रुपैयाँ बराबर गरी उक्त रकम बराबरको लगानी प्रस्ताव आएको हो । 

यस अवधिमा विभागको प्रमाणीकरण (स्वीकृत) प्रणालीबाट २०० उद्योगका लागि २३ अर्ब ३९ करोड ४९ लाख ७६ हजार रुपैयाँ र स्वचालित प्रणालीबाट १५४ उद्योगका लागि २ अर्ब ३८ करोड १५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । 

विभागका अनुसार यस अवधिमा शेयर पर्चेच एग्रीमेन्ट (एसपीए) र शेयर सब्सक्रिप्सन (एसएसए) का लागि ३० वटा परियोजना मार्फत एक अर्ब ८५ करोड २७ लाख ९१ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ भने टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) का २५ परियोजना स्वीकृत भएका छन् ।

यस अवधिमा दर्ता भएका उद्योगमा साना उद्योग ३४५ वटा रहेका छन् भने ठूला उद्योग चार वटा र मझौला उद्योग पाँच वटा रहेका छन् । प्रस्तावित उद्योगबाट १० हजार २४४ जनाले रोजगारी पाउने भएका छन् । 

विभाग अनुसार पुस मसान्तसम्म सूचना प्रविधि क्षेत्रका ११९ वटा, निर्माण क्षेत्रका २५ वटा, सेवामुलक क्षेत्रका ४५, पर्यटन क्षेत्र १५७ उद्योग दर्ता भएका छन् । त्यस्तै यस अवधिमा कृषि क्षेत्रका ६ वटा र पूर्वाधार क्षेत्रका उद्योग दर्ता भएका छन् भने २ खनिज र जलविद्युत क्षेत्रमा लगानी शुन्य रहेको छ ।

प्रस्तावित उद्योगमध्ये पर्यटन क्षेत्र सर्वाधिक लगानी प्रस्ताव आएको छ । यस अवधिमा पर्यटन क्षेत्रका १४५ वटा परियोजनामा १६ अर्ब ९६ करोड ५५ लाख ९० हजार रुपैयाँ लगानी प्रस्ताव गरिएको छ ।

यस्तै, सेवामुलक क्षेत्रका ४५ परियोजनामा ५ अर्ब १५ करोड ८७ लाख, आईटीका ११९ परियोजनामा ७४ करोड, उत्पादनका २५ परियोजनामा दुइै अर्ब ५ करोड, पूर्वाधारका दुई परियोजनामा १२ करोड र कृषि सम्वन्धी ६ परियोजनामा ७४ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव आएको छ ।

त्यस्तै नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताहरुले नाफा वापत लाने लाभांश पनि बढेको छ । यस अवधिमा विदेशी लगानीकर्ताले नाफा वापत एक अर्ब ६१ करोड ६० लाख ८२ हजार रुपैयाँ बराबरको लाभांश लैजान प्रस्ताव गरेका छन् ।  गत वर्षको सोही अवधिमा एक अर्ब ४१ करोड ६ लाख ८८ हजार रुपैँया  बराबरको रोल्टी वापत फिर्ता लगेका थिए । 

यस अवधिमा लगानीकर्ताहरुले रोयल्टी मार्फत ६० करोड ८३ लाख ८५ हजार रुपैयाँ, ८९ लाख ४५ हजार अमेरिकी डलर, भारुमा ३५ करोड ९९ लाख र युरोमा ४७ हजार ८४९ रुपैयाँ थप रोयल्टी लगेको विभागको तथ्यांकमा उल्लेख छ ।
 

थप समाचार