बैंक र अर्थतन्त्र डुबेका छैनन्, तथ्यांकलाई प्रायोजित रुपमा प्रयोग गरियोः अर्थमन्त्री 

बैंक र अर्थतन्त्र डुबेका छैनन्, तथ्यांकलाई प्रायोजित रुपमा प्रयोग गरियोः अर्थमन्त्री 

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वित्तीय संस्थामा कुनै पनि समस्या नरहेको दाबी गरेका छन् । आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बैंक डुब्यो भन्ने हल्लामा सत्यता नरहेको बताए । 

अर्थमन्त्री पौडेलले भने, ‘पहिलेको तुलनामा कर्जा प्रवाह बढिरहेको छ । बैंकको लगानीमा सुधार भएको ।  निक्षेप जसरी नै कर्जा विस्तार पनि विस्तारै भइरहेको छ । बैंक डुबे, अर्थतन्त्र समस्यामा छ नकारात्मक सन्देश गइरहेको छ । यी कुराले महत्प पाउनु हुँदैन ।’ 

यसका साथै उनले बैंक र अर्थतन्त्रको तथ्यांकलाई प्रायोचित रुपमा प्रयोग भएको बताए । उनले भने, “बैंक र अर्थतन्त्रको विषयलाई नकारात्मक टिप्पणीहरु भएका छन् । हामी छौं, अर्थतन्त्र र बैंक डुब्न दिँदैनौं । बैंक र अर्थतन्त्र डुब्दैनन । न अर्थतन्त्र धराशायी छ न त बैंक नै डुबेका छन् । हावादारी प्रचार गर्न हुँदैन । एकाध समस्या हुन सक्छन तर त्यसको समाधान गर्न सकिन्छ । केही समस्या आयो भन्दैमा हामीले डुब्यो भन्दै प्रचार गर्न हुदैन ।”

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको र सुधारका प्रयासले नतिजा दिन थालेको बताएका छन् । 

कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधार हुँदै गएको सूचकहरुले नै देखाएको बताए । “हामीले आर्थिक सूचकहरुमा तलमाथि गरेका छैनौँ । सूचक हरियो छ भने हरियो र रातो छ भने रातो नै प्रस्तुत भएको छ । तथ्यले हाम्रो अर्थतन्त्र सुधार हुँदै गएको देखाउँछ”, उनले भने।

वर्तमान सरकार गठन भएपछि आर्थिक सूचकहरु सुध्रदै गएको अर्थमन्त्री पौडेलले बताए । “आर्थिक परिसूचक अहिलेको भन्दा पहिला नकारात्मक थिए । ती परिसूचकलाई सकारात्मक बनाउन समय लागेको छ र निकै बढी मेहनत गर्नुपरेको छ । ओरालो लागेको अर्थतन्त्रलाई अहिले सकारात्मक दिसामा डोर्याएका छौँ”, उनले भने । 

सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरे लगत्तै निजी क्षेत्रका छाता सङ्गठनले त्यसको स्वागत गरेको र यसले निजी क्षेत्रलाई अघि बढाउन भूमिका खेलेको उनको भनाइ थियो । “पुँजीगत खर्चमा गुणात्मक सुधार गर्न सरकारले काम गरिरहेको छ”, अर्थमन्त्री पौडेलले भने। निर्माण व्यवसायीको भुक्तानी नरोकिएको उनले उल्लेख गरे । “कुनै  निर्माण व्यवसायीको भुक्तानी रोकिएको छैन । आजका दिनसम्म कसैले विधिसम्मत रुपमा दाबी गरेको छ भने भुक्तानी भएको छ”, उनले भने ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान मामलामा ‘नेपाल फाइनान्सिएल एक्सन टाक्सफोर्स’को सम्भावित जोखिम सूचीमा पर्न नदिन नेपाल चनाखो रहेको अर्थमन्त्री पौडेलले बताए । 

“सम्पत्ति शुद्धिकरण निवारण मामलामा हामीले गर्नुपर्ने कामको सूची छ । केन्द्रीय कार्यसूची बनाएर काम भइरहेको छ । त्यसलाई हामीले गम्भीरताका साथ कार्यान्वयन गरिरहेका छौँ । आफ्नो प्रतिष्ठा जोगाउँदै जाने विषयमा नेपाल सचेत छ”, अर्थमन्त्री पौडेलले भने । 

साथै उनले सार्वजनिक संस्थान सुधारका लागि लागि सरकार लागि परेको बताए । उनले भने, ‘सार्वजनिक संस्थानहरु केही रुग्ण र केही घाटामा छन् । केही संस्थानलाई छाडेर हेर्ने हो भने अधिकांश संस्थानहरु गाँजिएका छन् । तिनिहरुको अवस्था वर्णन गरेर मात्र बस्ने होइन । संस्थानहरुको प्रभावकारी व्यवस्थापन, उत्पादन, उत्पादत्व र रोजगारी सिर्जना गर्न सरकार लागेको छ ।’ 

थप समाचार