Below Menu
Below Menu

अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५: सुशासन र समृद्धि यात्रामा सहकारी   

अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५: सुशासन र समृद्धि यात्रामा सहकारी   

पृष्ठभूमि
सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाउने घोषणा अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले गरेको छ । यो वर्षले सहकारी क्षेत्रसँग सरोकार राख्ने र आवद्ध सम्पूर्णमा विशेष महत्व राख्दछ । साथै यस वर्षले सहकारीहरूको योगदानलाई मान्यता दिने वर्ष पनि हो ।

सन् २०१२ संयुक्त राष्ट्रसंघको पहिलो अन्तर्राष्ट्रिय सहकारी वर्ष थियो । २०२५ लाई एक न्यायपूर्ण र समानता भएको संसारको लागि सहकारीहरूको योगदानलाई विश्वव्यापी रूपमा सम्मान र पहिचान दिलाउने वर्षको रुपमा हेरिएको छ । जसको थिम ‘सहकारीद्वारा समृद्ध विश्वको निर्माण गर्दछ’ (Cooperatives Build a Better World)  भन्ने थिम लिएको छ । आईसीए विश्वभरिका सहकारी संस्थाहरूको प्रतिनिधित्व गर्ने विश्व संगठन हो । आईसीए र अन्य सरोकारवालाहरू मिलेर सहकारीहरूको दिगो विकास, सामाजिक समावेशिता र आर्थिक सशक्तिकरणमा गरेको योगदानको बारेमा जागरूकता फैलाउन र संयुक्त राष्ट्रसंघ (UN) ले पनि सहकारीहरूको भूमिका दिगो विकास लक्ष्य (SDGs) को प्रवद्र्धनमा महत्वपूर्ण भएको स्वीकार गरेको छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को घोषणा यस विश्व एजेन्डासँग मेल खाएको हुँदा यस वर्ष सहकारीहरूको सकारात्मक प्रभावलाई मनाउने र सहकारी मोडेललाई विभिन्न क्षेत्र र क्षेत्रहरूमा थप प्रवद्र्धन गर्ने अवसरको रुपमा हेरिएको छ । 

पछिल्ला वर्षहरुमा आन्तरिक र बाह्य चुनौतीहरूको सामना गर्नु पर्याे । जसमा विश्वयापी आर्थिक मन्दी, सामाजिक अशान्ति, महामारी र वातावरणीय संकटहरूको प्रवाभ परेको थियो । यद्यपि, यी सबैको बीचमा सहकारीको मुल मर्म र भावनामा अडिग रह्यो । एक आपसमा सहयोगको भावना जागृत भएको देखियो । सहकार्यमार्फत एक आशाको दीप जस्तै । यस संसारमा मानवको अस्तित्व मुनाफा भन्दा बढी महत्वपूर्ण र संवेदनशील मानिन्छ । व्यक्ति भन्दा सामूहिक चासो बढी महत्वपूर्णका साथ हेरिन्छ । जुन सहकारीको असल शासन पद्धति र सिद्धान्तबाट झल्किने कुरा हो । सहकारीहरू समुदायमा आधारित दीर्घकालीन विकासको मुख्य आधार हुन् । जसले आपसी सहकार्य र आर्थिक सशक्तिकरणलाई प्रवद्र्धन गर्छन् । सहकारीको मुल मर्म भनेको सहकारीको शेयर सदस्यलाई व्यक्तिगत फाइदा भन्दा पनि सामूहिक समृद्धि र दिगो विकासमा लगानी गर्नुपर्ने सोच लिएको हुन्छ ।

अतः सहकारीको सदस्य बन्नेले आफ्नो फाईदा भन्दा पनि समाज, सामुहिक र विश्व जगतको विकसित अभ्याससँग सबैलाई जोड्नु पर्छ भन्ने भावनाको प्रतिनिधित्व गर्दछ । सहकारीको सदस्यता लिने व्यक्तिहरूले स्रोतहरू संकलन गर्न, जोखिमहरू घटाउन र एक्लै प्राप्त गर्न नसकिने लक्ष्यहरू हासिल गर्नको लागि सोच राख्ने र सहकारी संस्थाले पनि सोही अनुरुप कार्य गर्नुपर्दछ । नेपालमा, जहाँ ग्रामीण समुदायहरूले प्रायः वित्तीय र रसद सम्बन्धी चुनौतीहरूको सामना गरिरहेका छन् । सहकारीहरू आत्मनिर्भरता र समुदायको उत्थानको लागि सेतु बन्न सक्नु पर्दछ ।

सहकारीहरूले समुदायको आवश्यकता अनुसारका पहुँच योग्य वित्तीय सेवा उपलब्ध गराउँनु पर्दछ, विशेष गरी परम्परागत बैंकहरूले कम सेवा दिने ग्रामीण क्षेत्रमा अग्रसर भई कार्य गर्नु पर्दछ र सदस्यलाई बचत गर्ने अवसर, प्रतिस्पर्धि सस्तो ऋणको उपलव्धता,  वित्तीय एवं प्रविधि सम्बन्धी साक्षरता, समुदायको विकास र अन्य वित्तीय उपकरणहरू प्राप्त गर्ने सम्वाहकको रुपमा कार्य गर्न सक्नु पर्दछ जसले आर्थिक समावेशीकरण र सुरक्षा प्रदान गरी समृद्ध विश्व निर्माणमा सहयोग पुग्दछ । 

सहकारीहरूले लोकतान्त्रिक सिद्धान्त र समानतालाई प्रवद्र्धन गर्ने संस्थाको रुपमा कार्य गर्नु पर्दछ ।  सहकारी महिला र वञ्चित समुदायहरू सहितका उपेक्षित समूहहरूलाई सशक्त बनाउँन, उनीहरूको आवाजलाई सुनिने र आवश्यकताहरूलाई सम्बोधन गर्ने र सुनिश्चितता प्रदान गर्दै सहकारीहरूले उद्यमशीलता विकासका लागि स्रोत, तालिम, प्राविधिक सहजीकरण र वित्तीय समर्थन सहित सहयोग प्रदान गर्नु पर्दछ । शेयर सदस्यको रूपमा, उल्लेखित सेवाहरू प्रयोग गरेर व्यक्तिगत र सामुदायिक आर्थिक वृद्धिमा योगदान पुर्याउन सकिन्छ जसले यस बर्षको थिमलाई पनि पुरा गर्न सहयोग मिल्दछ । मुख्यतया अन्तराष्ट्रिय सहकारी बर्षले सहकारीको माध्यामद्धारा आर्थिक समावेशीकरण, वित्तीय समृद्धि र प्रतिस्पर्धि दरमा ऋण सुविधा, सामाजिक न्याय र समानताको प्रत्याभुति साथै ग्रामीण क्षेत्रमा कृषि उत्पादन, साना उद्योग, र यसको बृद्धिमा सुधार गर्दै आत्मनिर्भरता र समृद्धिको मार्ग प्रशस्त गरिरहेका छन् । यसले जीवनस्तरमा सुधार ल्याउनमा मद्दत गर्ने र समग्रमा राष्ट्रिय समृद्धिमा योगदान पुर्याउँछ ।

अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को लक्ष्य प्राप्ती कसरी?
सहकारीहरुको स्थापना, आन्दोलन, विभिन्न पक्षहरूसँगकाे सहकार्यका धागोबाट बुनेको एक जीवित सञ्जाल (Vibrant Tapestry) जस्तै, विश्वव्यापी समुदायहरू, व्यवसायहरू र समुदानयको साझा सपनाहरूको नेटवर्कलाई प्रतिनिधित्व गर्दछ । प्रत्येक सहकारीहरु चाहे साना हुन चाहे ठुला सहकारीसम्म, साझा उद्देश्य प्राप्तिका लागि सबैको भुमिका महत्वपूर्ण रहन्छ र यसमा नेपालको सहकारीले पनि सँगसँगै, राम्रोको लागि एक जुट र विश्वसामु नेपालको सहकारीको छवि असल बनाउने मौका आएको छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को थीम ‘सहकारीद्वारा समृद्ध विश्वको निर्माण गर्दछ’ ले विश्वभरिका सहकारी संस्थाहरूको महत्वपूर्ण भूमिकालाई उजागर गरेको छ । 

सहकारी नेटर्वक समुदायहरूलाई समानता, आत्म-सहायता, सामाजिक जिम्मेवारी, र एकतासशक्त बनाउने साथै आर्थिक वृद्धिलाई प्रोत्साहित गर्ने र सामाजिक समावेशीकरणलाई बढावा दिने महत्वपूण माध्याम हो अतः यस बर्षको थिम प्राप्तीका लागि पनि सबै एकजुट हुनु पर्ने देखिन्छ । यस थीमले सहकारीहरूको योगदानलाई दर्शाउँछ, जसले दिगो विकास, समावेशिता र आर्थिक सशक्तिकरणमा योगदान पुर्याउँने सोच लिएको छ जसको अर्थ, महत्व र उपदेयतालाई निम्न रुपमा बुझ्न सकिन्छ । 

सशक्तिकरण र समावेशिता : सहकारीहरू सदस्य-स्वामित्व अर्थात् सदस्यहरुको अपनत्व भएको संगठनहरू हुन् जसले लोकतान्त्रिक सिद्धान्तहरूमा आधारित भई कार्य गर्दछन् । यसले सदस्यहरूलाई निर्णय प्रक्रियामा भाग लिनको लागि सशक्त बनाउँछ र जीवनस्तर सुधार्न मद्दत पुर्याउँछ । 

सहकारीहरूले पछि परेका र पारिएका समुदायहरूको उत्थान गर्दै सामाजिक समानता र समावेशिता प्रवद्र्धन गर्छन् । सहकारीहरूले उद्यमशीलता विकास, आर्थिक, सामाजिक, सास्कृतिक तथा शैक्षिक सशक्तिकरणको प्रक्रियालाई अघि बढाउँछन् जसले व्यक्तिहरूलाई आफ्ना अधिकार र अवसरहरूको बारेमा समेत सचेत बनाउँन सम्वाहकको रुपमा कार्य गर्नु पर्दछ ।

दिगो र लचिलोपन : सहकारीहरू दिगो विकासका लक्ष्यहरूको प्राप्तिका लागि सदैव सम्वाहको रुपमा कार्य गर्दछन् ।  यसले आर्थिक लाभभन्दा  पनि मानवीय विकासका सम्पूर्ण पक्षहरुमा बढी प्राथमिकता दिने रणनीतिमा आधारित हुन्छन् । सहकारीहरूले दीर्घकालिक विकासमा ध्यान केन्द्रित गरेर पर्यावरणीय संरक्षणमा योगदान पुर्याउँछन् र विपद् एवं संकटका समयमा समुदायहरूको उत्थानशिलतालाई सुनिश्चित गर्न सहयोग गर्नुपर्दछ ।

सहकारी संस्थाहरूको उद्देश्य केवल आर्थिक लाभ हासिल गर्नु मात्र होइन, समाजको समग्र हित, भलाई र दीर्घकालीन विकासको प्रगतिमा जोड दिने हुनु पर्दछ । 

साझा लक्ष्यका लागि सामूहिक प्रयास : ‘सहकारीद्वारा समृद्ध विश्वको निर्माण गर्दछ’ भन्नाले सहकारीहरूको सामूहिक प्रयास मार्फत गरिबी, असमानता, जलवायु परिवर्तन र बेरोजगारी जस्ता विश्वका उदयीमान समस्याहरूको समाधान गर्ने क्षमता राख्दछ । सहकारीहरूले साझा लक्ष्यमा काम गर्नका लागि विभिन्न व्यक्तिहरू र समुदायहरूको मिलनबाट उत्पन्न बललाई सिर्नजीको रुपमा प्रयोग गर्नुपर्दछ । यसरी सहकारीहरूले आर्थिक प्रगतिको साथसाथै सामाजिक कल्याण र समानताको पनि सुनिश्चितता गर्न सक्नु पर्दछ । 

सहकारीहरूको विश्वव्यापी प्रभाव प्रदर्शन : यस थीमले सहकारीहरूको योगदानलाई बृहत् रूपमा प्रस्तुत गर्दछ, जसले जीवनस्तर सुधार, आर्थिक समृद्धि र दिगो स्थानीय अर्थतन्त्रहरूको निर्माण गर्ने सम्यन्त्रको रुपमा सहकारीहरूले समुदायमा सशक्त रुपमा काम गर्दै, समान अवसरहरू सृजना गर्न र गरिबी कम गर्न मद्दत पुर्याउछ ।

सम्पूर्ण सरोकार निकायहरुको सहकार्यमा प्रोत्साहन : सहकारीहरूले साझा विकास लक्ष्यहरू हासिल गर्नको लागि सरकार, निजी क्षेत्र र समुदायसँग मिलेर काम गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् जुन नेपालको संविधानले पनि सुनिश्चित गरेको छ । सहकारी मोडेलको प्रभावकारितामा विश्वास गरी अवसर श्रृजना गर्न र व्यवसायिक लगानीको वातावरण प्रोत्साहन गर्नमा सहयोग गर्दछ । 

जागरूकता र संलग्नता बढाउन : ‘सहकारीहरूले समृद्ध विश्वको निर्माण गर्दछ’ भन्ने थीमले विश्वभरका व्यक्तिहरू र संगठनहरूलाई सहकारीहरूको महत्व र सम्भावनामा विश्वास जागृत गर्न आह्वान गर्दछ । यसले दिगो विकासका मोडेलका रूपमा सहकारी आन्दोलनलाई सक्रिय संवाहकको रूपमा संलग्न हुने प्रेरणा दिन्छ साथै सहकारीबाट व्यवसाय प्रर्वद्धनमार्फत समृद्धि हासिल हुने देखिन्छ, जुन सहकारीको अन्तराष्ट्रिय परिभाषामा पनि उल्लेख छ । 

सहकारी अभियानको सुद्धिढिकरण र प्रगति : यस वर्षको थीमले सहकारी क्षेत्रको प्रगति र विस्तारका लागि नीति समर्थन, लगानी र नवविचारको आवश्यकता र महत्वलाई बढावा दिन्छ । सहकारीहरूले दिगो विकासका प्राथमिकता सँगै काम गरेर समाजमा सुधार ल्याउन सक्छन् यसमा संलग्न अभियानकर्ताहरुलाई पनि सच्चिएर अघि बढ्ने अवसर साथै सहकारी अभियानको सुद्धिढिकरण, सवलीकरण एवं सुशाशित हुने अवसर पनि प्रदान गर्दछ । अतः नेपालको परिदृष्यमा अभियानको सुद्धिढिकरण र सुशासनमा थप सच्चिने मौका र प्रगति गर्ने अवसरको रुपमा यस बर्षलाई लिन सकिन्छ । 

नविनतम प्रविधिहरुको आत्मसाथ तथा वातावरणीय प्रवद्र्धनमा लगानी अभिबृद्धि : सहकारीको विद्यमान समस्या तथा समुदायहरूको चुनौतीहरूको समाधान गर्न नयाँ उपायहरू खोज्न, नयाँ व्यापार मोडेलहरूको अन्वेषण, प्रविधिकरण एवं सवै सदस्यहरुमा उद्यमशिलताको विकास, वित्तीय तथा प्रविधि साक्षरता गर्नुपर्छ । सहकारीहरुले डिजिटल प्रविधिहरू अपनाउने र नवीकरणीय ऊर्जामा समेत लगानी प्रर्वद्धन गर्नुपर्ने देखिन्छ ।

समग्रमा विश्वभरका समुदायले सामना गरिरहेका जलवायु परिवर्तन, असमानता, बेरोजगारी र आर्थिक बञ्चितिकरण सहित पुनर्निर्माण जस्ता चुनौतीहरूको समाधानका लागि सहकारीहरूले महत्त्वपूर्ण भूमिका खेल्दछन् । विशेष गरी कोभिड–१९ महामारी पछिको आर्थिक संकटले सहकारी मोडेललाई एक आदर्श समाधानको रूपमा प्रस्तुत गरेको छ ।

यसले सहयोग र एकता मार्फत संकटको सामना गर्नका लागि सहकारीहरूको भूमिका र महत्वलाई थप सशक्त  बनाएको छ । यसै गरी, नेपालको जलविद्युत्को प्रचुर सम्भावनालाई सहकारी पहलद्वारा उपयोग गर्न सकिन्छ । समुदायमा आधारित ऊर्जा सहकारीहरूले साना जलविद्युत् परियोजनाहरू विकास गर्न सक्छन् । जसले ग्रामीण घरपरिवारलाई सस्तो र दिगो ऊर्जा प्रदान गर्दछ । त्यसैगरी डिजिटल उपकरण र प्रविधिले सहकारीहरूको सञ्चालनलाई रूपान्तरण गर्न सकिन्छ, सहकारीहरूले डिजिटल साक्षरता कार्यक्रम र सदस्यहरूको संलग्नता, सेवा सरल बनाउने र उत्पादन तथा सेवाहरूका लागि बजार पहुँच विस्तार गर्न डिजिटल प्लेटफर्ममा लगानी गर्न सकिन्छ जसमा सहकारी संवाहकको रुपमा लिन सकिन्छ ।

सहकारी सिद्धान्त र मुल्यको आत्मसाथ र व्यवहारीक प्रयोग : सहकारीहरुको कुशल सुसंस्कृत संचालन र व्यवस्थापनका लागि सहकारी सिद्धान्त र मुल्यलाई आत्मसाथ गरी व्यवहारिक कार्यान्वयन गर्नुपर्दछ । हालको सिद्धान्त र मूल्यको अक्षरस पालना नभएकोले सहकारीमा विविध समस्याहरु देखा परिरहेका छन् । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को थीमले सहकारी सिद्धान्तलाई पुनः प्राथमिकता दिने र नयाँ प्रतिबद्धता सिर्जना गर्ने उद्देश्य राख्दछ । यसले केवल सहकारी संस्थाहरूको योगदानलाई मान्यता दिई वर्तमान र भविष्यका पुस्ताहरूको लागि एक सकारात्मक र दिगो प्रगतिकोे लागि प्रेरणा प्रदान गर्दछ ।

‘सहकारीहरूद्वारा समृद्ध विश्व निर्माण गर्ने’ भन्ने विषयले सन् २०२५ लाई सामूहिक रूपमा न्यायपूर्ण र दिगो समाज निर्माण गर्न सहकारीहरूको रूपान्तरण क्षमतालाई जोड दिएको छ । 

कृषिमा आधारित व्यवसायको प्रर्वद्धन र विकासमा सहजीकरण : कृषि नेपालको प्राथमिक जीविकोपार्जनको माध्यम हो । सहकारीहरूले किसानहरूलाई गुणस्तरीय बीउ, मल, आधुनिक उपकरण र दिगो खेती प्रविधि सम्बन्धी तालिम प्रदान गरेर सहयोग गर्न सक्छन् । नेपालमा सहकारीहरूले यो लक्ष्यलाई आधार बनाई विद्यमान सहकारीको विकृती, सहकारीे समस्याहरु समाधान गरी सुद्धिकरण र उद्यमशिलतामार्फत सदस्यहरुलाई आर्थिक सक्षमता र प्रभावकारी शुसाशन सुद्धिकरणका लागि अवसरको रुपमा लिनु पर्ने देखिन्छ ।

सहकारीले उत्पादनशीलता बढाउनुका साथै वातावरणीय संरक्षण सुनिश्चित गर्छ । सहकारीहरूले साना र मझौला उद्यमहरूलाई सस्तो ऋण र व्यावसायिक विकास तालिम प्रदान गरेर तिनीहरूको समृद्धिमा मद्दत गर्न सक्छन् । यसले नेपालको आर्थिक विविधीकरण र रोजगारी सिर्जनामा योगदान पुर्याउँदै अन्तराष्ट्रिय थिम समृद्ध विश्वको निर्माण गर्ने लक्ष्य प्राप्ति सँगै यसको सान्र्दभिकता हुने देखिन्छ । 

विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण : नेपालको प्राकृतिक प्रकोपहरूमा भएको संवेदनशीलतालाई ध्यानमा राख्दै सहकारीहरूले विपद् तयारी, प्रतिक्रिया र पुनःस्थापनामा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । जसमा सहकारीहरु मार्फत स्रोतहरूको परिचालन, बीमा योजनाहरूको सुविधा र समुदाय आधारित जोखिम न्यूनीकरण कार्यक्रम कार्यान्वयन गर्न सकिन्छ ।  


समृद्ध विश्वको निर्माणमा सहकारी
सहकारी सदस्यले सहकारीको दृष्टि र उद्देश्यलाई अघि बढाउने साझा जिम्मेवारीलाई महसुस गर्नु पर्दछ । सहकारीका गतिविधिमा सक्रिय रूपमा भाग लिनु सदस्यको मुख्य जिम्मेवारी र योगदान हो । सहकारी संस्थाले गरेको हरेक कार्यक्रमहरु र बैठकहरूमा सहभागी हुनु, महत्त्वपूर्ण विषयहरूमा मतदान गर्नु र आफ्ना सुझावहरुसहित विचारहरू व्यक्त गर्नु सहकारीलाई लोकतान्त्रिक र समावेशी बनाउन सदस्यको महत्वपूर्ण भुमिका रहन्छ ।

नियमित बचत गर्नु र समयमै ऋण फिर्ता गर्नु सदस्यहरुको यस्ता कर्तव्यले सहकारीको आर्थिक स्थिरता र विश्वसनीयतालाई बलियो बनाउँछ । साथै, सदस्यले समुदायमा सहकारी सदस्यताको वकालत गरेर, सहकारीको पहुँच विस्तार गर्न र यसको प्रभावलाई अझ व्यापक बनाउन सक्नु पर्दछ । सदस्यले वातावरणीय स्थायित्वसँग मेल खाने असल अभ्यासहरुलाई समर्थन गर्ने जस्तै इको–फ्रेन्ड्ली उत्पादन र अभ्यासहरूलाई समर्थन गर्दै योगदान पुर्याउन सक्नु पर्दछ । 

सहकारीका स्रोतहरू सदुपयोग गरी सहकारीले प्रदान गर्ने प्राविधिक र समन्वयनकारी सहयोगमार्फत व्यवसाय सुरु गर्ने वा बढाउनाले सदस्यहरुलाई फाइदा मात्र पुर्याउँदैन यसले सहकारीको सफलतामा पनि योगदान पुर्याउँछ । संयुक्त उद्यमहरूको लागि अन्य सदस्यहरूसँग सहकार्य गर्नुले आर्थिक अवसरहरूलाई अझ वृद्धि गर्दछ ।

सदस्यहरुमा रहेको आफ्नो विशेषज्ञताहरुलाई सबैसँग शेयर गरेर र तालिम सत्रहरूमा सहभागी भएर, सदस्यहरुले  सहकारीको सेवाहरुलाई  प्रभावकारी रूपमा प्राप्त गर्ने र थप अवसरहरु बढाउन सक्षमता अभिबृद्धि गर्ने अवसरको रुपमा पनि लिन सकिन्छ । 

निष्कर्ष
नेपालमा सहकारीहरूको संख्या आवश्यकता भन्दा बढी रहेको देखिन्छ । सहकारी संघ/संस्थाहरुको सुपरीवेक्षण र अनुगमन कम छ । जसको लागि अधिकार सम्पन्न प्राधिकरणको प्रभावकारी कार्यान्वयन जरुरी छ । सहकारीहरु सामूहिक प्रगति र समृद्धिका लागि साझा मञ्च हुन् । शेयर सदस्य बनेर, व्यक्तिहरूले पारस्परिक लाभ र दीर्घकालीन आर्थिक, सामाजिक, साँस्कृतिक, व्यवसायिक, पर्यावरणीय स्थायित्वलाई प्राथमिकता दिने प्रणालीमा सामुहिक योगदान पुर्याउन सक्नु पर्दछ ।

सन् २०२५ को अन्तर्राष्ट्रिय वर्ष शुरु भईसकेको परिप्रेक्षमा सहकारीहरूको समृद्ध विश्वको निर्माण गर्र्नेे भूमिकाको महत्व झन् बढ्दै गएको छ । सक्रिय सदस्यता, सदस्यले संस्थामा गर्नुपर्ने योगदान, खवरदारी, सहयोग र सहकार्यद्वारा न्यायपूर्ण, समान र समृद्ध समाज निर्माणका लागि सहकारीहरूको वास्तविक क्षमतालाई उपयोग गर्न सकिन्छ जसले सहकारीमा सुशासन प्रत्याभुति भई सहकारी प्रति जनसमुदायको विश्वासमा बढोत्तरी पनि हुने देखिन्छ ।

अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ उद्यमशिलता विकास, सुशासन प्रत्याभुति, नविनतम प्रविधिको प्रयोग, सामाजिक समावेशिता, आर्थिक सशक्तिकरण, सहकारीहरुको शुद्धिकरण एवं स्तरीकृत संचालन र दिगो विकासको लक्ष्य प्राप्तीमा संवाहक बन्न सकोस र यसलाई नेपाल र नेपालको सहकारीहरुले अवसरको रुपमा प्रयोग गर्न सकुन यही छ शुभकामना । Feedback: pokharel.prakash@gmail.com

(लेखक नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका महाप्रबन्धक हुन् । पोखरेल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कूनका) पूर्व प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।)

Advertisment