काठमाडौं : चालु आर्थिक वर्षको पुस महिनामा बजारमा सवा सात खर्ब रुपैयाँ बराबरको नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्ममा बजारमा सात खर्ब १६ अर्ब ८३ करोड एक लाख रुपैयाँ नगद प्रवाह भएको छ ।
उक्त रकम गत मंसिरको तुलनामा १३ अर्ब ४५ करोड १७ लाख रुपैयाँले घटेको हो । गत मंसिर मसान्तसम्ममा बजारमा सात खर्ब ३० अर्ब २८ करोड १८ लाख रुपैयाँ नगद प्रवाह भएको थियो ।
उक्त रकम गत असारको तुलनामा भने ५.४० प्रतिशत अर्थात ३६ अर्ब ७८ करोड १३ लाख रुपैयाँले बढी हो । गत असार मसान्तसम्म यस्तो प्रवाह ६ खर्ब ८० अर्ब ४ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा सरकारी खाताको नगद मौज्दात एक खर्ब १८ अर्ब रुपैयाँले घटेको छ । गत असारमा सरकारी खातामा तीन खर्ब ५५ अर्ब ४५ रुपैयाँ मौज्दात रहेको थियो । पुसमा उक्त रकम घटेर २ खर्ब ३७ अर्ब ४५ करोड रुपैयाँमा पुगेको छ । यो रकम सरकारले खर्च गरेर बाँकी रहेको रकम हो ।
यस अवधिमा सरकारी ढुकुटीमा करिब दुई खर्ब रुपैयाँ निक्षेप रहेको जनाएको छ । यस अवधिमा विभिन्न बैंकहरुमा रहेको सरकारी खातामा कूल दुई खर्ब ९० अर्ब एक करोड ७० लाख रुपैयाँ निक्षेप रहेको बैंकले राष्ट्र बैंकले जनाएको हो ।
२०८१ असारसम्म यस्तो निक्षेप जम्मा ६३ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ मात्र रहेको थियो । उक्त रकम पुस मसान्तसम्म आइपुग्दा दुई खर्ब २६ अर्ब ६ करोड ३६ लाख रुपैयाँले बढेको छ ।
यस अवधिमा सरकारको सरप्लस मौज्दात १७ अर्ब २२ करोड ३८ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म राष्ट्र बैंकको रिजर्भमा ६ खर्ब २८ अर्ब ३० करोड ७३ लाख रुपैयाँ रहेको छ । असारसम्म रिजर्भमा ५ खर्ब ४३ अर्ब ८१ करोड ८१ लाख रुपैयाँ थियो । आईएमएफसँग सम्बन्धित दायित्व ३८ अर्ब ९० करोड २७ लाख रुपैयाँ रहेको छ ।
हालसम्म राष्ट्र बैंकको दायित्व २३ खर्ब ४ अर्ब ९३ करोड ६ लाख रुपैयाँ रहेको छ । गत असार मसान्तसम २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख रुपैयाँ रहेको थियो । उक्त सम्पति चालु आवको पुस मसान्तसम्म दुई खर्ब ३७ अर्ब ९० करोड रुपैयाँले बढेको हो ।
Advertisment