काठमाडौं : अर्थमन्त्री विष्णु प्रसाद पौडैलले बैंकहरुको खराब कर्जा बढ्नुमा घरजग्गा व्यवसायीमात्र दोषी नभएको बताएका छन्।
महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको अर्थतन्त्र: नीति र व्यवहार विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् हुन्।
उनले भने, 'बैंकहरुको लगानी घरजग्गामा छ। तर, रियल स्टेटमा संलग्न व्यवसायीलाई मात्र धारे हात लगाएर मात्र जिम्मेवारी पुरा हुँदैन। बैंकहरूले अध्ययन विश्लेषण गरेर मात्र ऋण दिएको हो।'
यसका साथै उनले निर्माण व्यवसायीको भुक्तानीमा सहज अवस्था सिर्जना भएको दाबी गरेका छन्। 'सरकारमा आउँदा गत वर्षको भुक्तानी उल्लेखनीय आकारमा बाँकी थियो। यसको भुक्तानीका लागि सरोकारवाला निकायसँग छलफल गरी कानुन सम्भवतको दायित्व भुक्तानी गरेका छौ। रितपूर्वक आएको दाबीमा सहज तरिकाले भुक्तानी गर्ने अवस्थामा छौ,' उनले भने।
अर्थतन्त्र दबाबमा रहेको बताउँदै उनले भने,' अर्थतन्त्रका बाह्य सुचकहरू सकारात्मक छन्। तर आन्तरिक अर्थतन्त्रमा सन्तोषजनक प्रगति गर्न सकेका छैनौ।'
चालू आर्थिक वर्षको सूरूवाती चरण पुँजीगत खर्च कम हुने गरेको अर्थमन्त्री पौडेलको भनाई छ। उनले भने,' पुँजीगत खर्च भएन भनेर मात्र पुग्दैन। किन भएन र कसरी भएन भन्नेमा ध्यान दिनुपर्छ। सरकारले सार्थक पहल गर्नुपर्छ। ठेक्का पट्टामा जोड दिनुपर्ने भएकाले सूरूवाती चरणमा पुँजीगत खर्च कम नै हुन्छ।'
अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि पोलिसी रिफर्ममा जोड दिएको बताए। निजी क्षेत्रको मनोबल उकास्न अध्यादेश ल्याइएको बताउँदै उनले भने,'सरकारले निजी क्षेत्रलाई ढाडस दिने हो। आत्मविश्वास दिने हो। निजी क्षेत्रको मनोबल उठाउने गरी नीतिगत सहजीकरण गरेका छौं।'