Below Menu
Below Menu

पाैने दश खर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति, १६ अर्ब ३३ करोडको शेयर सूचीकृत 

पाैने दश खर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति, १६ अर्ब ३३ करोडको शेयर सूचीकृत 

काठमाडौं : चालु आर्थिक वर्षको छ महिनामा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब नाघेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार पुस मसान्तमा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब २ अर्ब ८८ करोड कायम भएको छ ।

गत वर्षको सोही अवधिको तुलानामा धितोपत्र बजार पुँजीकरण ९ खर्ब ७२ अर्ब १३ करोडले बढेको हो । गत वर्षको पुस मसान्तसम्म बजार पुँजीकरण ३३ खर्ब ३० अर्ब ७५ करोड रहेको थियो । 

२०८० पुस मसान्तमा २१२०.६२ रहेको नेप्से सूचकाङ्क २०८१ पुस मसान्तमा २५९४.१३ कायम भएको छ । २०८१ पुस मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० पुसमा सूचीकृत कम्पनीहरूको संख्या २७१ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५४.२ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा १६.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा पुस मसान्तमा सूचीकृत ८ अर्ब ६४ करोड शेयरको चुक्ता मूल्य रु.८५१ अर्ब ३७ करोड रहेको छ । 

आर्थिक वर्ष २०८१/८२ को छ महिनामा रु.७ अर्ब १७ करोड बराबरको बोनस शेयर, रु.३ अर्ब ९१ करोड बराबरको हकप्रद शेयर, रु.१ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, रु.३ करोड ९८ लाख बराबरको एफपीओ र रु.३ अर्ब ९६ करोड बराबरको अन्य शेयर गरी कुल रु.१६ अर्ब ३३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.८ अर्ब २४ करोड बराबरको हकप्रद शेयर, रु.८ अर्ब बराबरको म्युचुअल फण्ड, रु.४५ करोड बराबरको साधारण शेयर र रु.१२ करोड बराबरको डिबेन्चर गरी कुल रु.१६ अर्ब ८१ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
 

Advertisment