भद्रपुर : मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ८४ करोड ८६ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको माघ महिनासम्ममा रु नौ अर्ब ६० करोड ९२ लाख १५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । गत आव २०८०÷८१ को सोही अवधिमा राजस्व रु आठ अर्ब ९० करोड सात लाख ६७ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा त्यसमध्ये ७६ दशमलव १० प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो ।
चालु आवको सात महिनामा पेट्रोलियम पदार्थको आयातबाट रु पाँच अर्ब २८ करोड १४ लाख २२ हजार राजस्व सङ्कलन भएको छ । यसैगरी तरकारीको आयतबाट रु ४४ करोड २५ लाख ४२ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट रु २४ करोड ७५ लाख ९१ हजार, दलहनबाट रु १५ करोड ९६ लाख ८५ हजार, खनिज उत्पादनबाट रु १५ करोड ७३ लाख २५ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी कँडेलले जानकारी दिनुभयो ।
चालु आवको सात महिनामा रु १६ अर्ब चार करोड ४८ लाख ६३ हजार बराबरको वस्तु निर्यात हुँदा रु नौ करोड २२ लाख २९ हजार र रु २७ अर्ब ३४ करोड ५३ लाख ८१ हजार बराबरको वस्तु आयात गरिँदा रु आठ अर्ब ७५ करोड ६४ लाख ६३ हजार राजस्व सङ्कलन भएको छ ।