काठमाडौं : लामो समयदेखि बन्द रहेको मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका पीडित सदस्यहरुले कार्यालय खोली सञ्चालनमा ल्याएका छन् ।
बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘बचत फिर्ता समन्वय समिति’लाई कार्यालय सञ्चालन अनुमति दिएसँगै आंशिक रुपमा संस्था सञ्चालनमा ल्याएका हुन् ।
बन्द रहेको माछापोखरी स्थित प्रधान कार्यालयको घरधनीसँग समितिले सहमति गरी वडा कार्यालय र महानगरीय प्रहरी वृत बालाजुको रोहबरमा कार्यालय खोली सञ्चालनमा ल्याएका हुन् ।
समितिलाई मन्त्रालयले दैनिक कार्यालय सञ्चालन गर्न, संस्थाबाट लगानी भएको ऋण उठाउन र बचत फिर्ता गर्न समन्वय गर्ने अधिकार दिएको छ। समितिका संयोजक बिनोद शम्सेर कुवरले संस्थाको कार्यालय खोली आंशिक रुपमा संस्था सञ्चालन गरिएको जानकारी दिए ।
समितिले संस्थाबाट लगेको ऋण उठाउन ताकेता गर्न सुरु गरिसकेको उनले बताए । ‘ठूला साना सबै ऋणीलाई ताकेता गर्न सुरु गरेका छौं’, उनले भने, ‘साना ऋणीहरुले तिर्ने प्रतिवद्धता जनाउनु भएको छ, केही ऋणीले केही समय माग गर्नुभएको छ ।’
ठूला ऋणीको हकमा सबै कागजातसहित ताकेता गरिदिन मन्त्रालयमा फाइल पठाउने तयारी गरेको समितिका अध्यक्ष कुवले बताए ।
संस्थाबाट भएको लगानी उठाई पीडित सदस्यको प्राथमिकताको आधारमा बचत फिर्ता गरिने उनले जानकारी दिए ।
संस्थाबाट भएको लगानीको कागजपत्र तथा कर्जा तमसुकहरू नियाल्ने क्रममा सञ्चालकको मिलेमतोमा कर्जा अपचलन भएको र कर्जाको सावाँ, ब्याज फिर्ता नहुँदा संस्थामा समस्या उत्पन्न भएको उनको भनाई छ।
संस्थाले लिम्पिया नेशनल स्कूलमा १७ करोड रुपैयाँ लगानी गरेको भेटिएको छ । संस्थाका सञ्चालक समितिको सामूहिक जमानीमा उक्त रकम लगानी गरेको भेटिएको समितिले जनाएको छ ।
त्यस्तै संस्थाले एस.डि.जि. ग्लोबल इम्पोर्टस् प्रा.लि.का सञ्चालक अमृता श्रेष्ठलाई २० करोड रुपैयाँ लगानी गरेको पाईएको छ । उक्त ऋणीको जमानीमा संस्थाका महाशंकर रेग्मी र श्रेष्ठकी श्रीमान् जितेन्द्र सैनी छन् । श्रेष्ठले उक्त ऋण अहिलेसम्म चुक्ता गरेकी छैनन् ।
उक्त ऋण बापत ई.सं. २०२३ जुन १६ तारीखको दिन भुक्तानी हुने गरि सहकारी संस्थाको नाममा प्रभु बैंक लिमिटेडको पच्चिस करोड रूपैयाँ चेद दिए पनि साटिएको छैन । संस्थाले उक्त चेक तीन पटक बाउन्स गरी राखेको छ । श्रेष्ठले संस्थालाई तिर्नुपर्ने दायित्व झण्डै ३५ करोड रुपैयाँ पुगेको छ ।
संस्थाबाट ऋण लगेर नतिर्नेहरुमा गुरू प्रसाद तिमल्सिना, होम प्रसाद निरौला, नर बहादुर सिंह रहेका छन् । त्यस्तै निरहरी प्रसाद उपाध्याय तथा उपाध्यायका पत्नी र भाईको नाममा करिब १८ करोड रुपैयाँ लगानी भएको छ ।
त्यस्तै किशोर कायस्थ तथा कायस्थका पत्नि तथा भाईको नाममा करिब ६ करोड रूपैयाँ, संचालक समितिका कोषाध्यक्ष रविन कुमार कार्की तथा कार्कीका दाजु भाउजुको नाममा करिब १३ करोड रूपैयाँ, सञ्चालक समिति सदस्य शेखर बस्नेत तथा बस्नेतका पत्नि र भाईको नाममा करिब ५ करोड रूपैयाँ लगानी भएको छ ।
साथै मिश्रव कृषि फार्म प्रा. लि. को नाममा २० करोड ऋण तमसुक रहेकोमा हाल ६ करोड बाँकी रहेको छ । त्यस्तै लेखा समिति सदस्य प्रकाश घिमिरेको नाममा करिब २ करोड रूपैयाँ लगानी भएको छ ।
त्यस्तै ध्रुव प्रसाद न्यौपाने, सम्भु थापा, शिव चौलागाई, ओम प्रकाश, भरत बहादुर कडायत, गणेश बहादुर चलाउने, कृष्ण बहादुर खत्री, खगेन्द्र लाल देव, कुल बहादुर शाही, विष्णु बहादुर घिमिरे, सन्तोष राज भण्डारीले कर्जा नतिरेको जनाएको छ ।
संस्थाका कर्मचारीहरू दिपक राज ओझा, दिपक बिक, गुन्ज बहादुर शाही, अनिल थापा, अशोक जोशी, वकिल बहादुर शाहीले समेत कर्जा अपचलन तथा पदको दुरूपयोग गरि संस्थालाई हानी नोक्सानी पुर्याएको समितिले जनाएको छ।



Advertisment