काठमाडौं : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टले निजी क्षेत्रको ऋण लिने क्षमता औसतमा पुगेको बताएका छन्।
महिला आर्थिक पत्रकार संघ फेजाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ' नेपालमा बैंक तथा वित्तीय संस्थाको लगानी निजी क्षेत्रमा बढी छ। यसअघि लिएको ऋण तिर्नु नसकेको कारण निजी क्षेत्रको ऋण लिने क्षमता घटेको छ।'
निजी क्षेत्रले ऋण तिर्न नसक्दा बैंकहरुको खराब कर्जा पनि बढिरहेको उनले बताए। बैंक तथा वित्तीय संस्थाले सरकारलाई दिएको ऋण १२ खर्ब रहेको छ भने बाँकी ४४ खर्ब लगानी निजी क्षेत्रमा रहेको उनको भनाई छ।
यसका साथै उनले सरकारले पूर्वाधारमा लगानी वृद्धि नगरेसम्म बैंकहरूको लगानी बढ्न नसक्ने र आर्थिक वृद्धि बढ्न नसक्ने बताए।
विगतको तुलनामा आर्थिक वृद्धि घटिरहेको बताउँदै उनले भने, 'बजारमा माग घटेको छ। मूल्य वृद्धिको प्रेसर छ। विकासोन्मुख देशको आर्थिक वृद्धि सन् २०२५ मा औसतमा ४ प्रतिशत हुन्छ।'