काठमाडौं : सानिमा जिआईसी र नेपाल इन्स्योरेन्स लिमिटेडले साधारणसभा बोलाएका छन् । यी दुई कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएका हुनु ।
सानिमा जिआईसी इन्स्योरेन्सले चैत २१ गते, बिहीबार, सातौँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस शेयर, सोको कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने र छैठौँ वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले चैत ८ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार चैत ७ गतेसम्म कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न चैत १९ गते साधारणसभा बोलाएको छ । उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले चैत ७ गते बुकक्लोज गर्ने भएको छ। जसअनुसार चैत ६ गतेसम्म कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन र इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Advertisment