Below Menu
Below Menu

सहकारीमार्फत व्यावसायिक चियाखेती

सहकारीमार्फत व्यावसायिक चियाखेती

बलेवा (बागलुङ) : काठेखोला गाउँपालिका-७, रेशस्थित तिङरिङ र बोरमा सहकारीमार्फत व्यावसायिक चियाखेती सुरु गरिएको छ। मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रममार्फत जनकल्याण आधारभूत विद्यालयको वनमा चियाखेती सुरु गरिएको हो। 

रेश साना किसान सहकारी संस्था लिमिटेडमार्फत तिङरिङसहित पाँच स्थानमा चियाखेती गरिएको वडा नं ७ का अध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । विद्यालयको पाखो जमिन १५ वर्षका लागि भाडामा लिइएको र सार्वजनिक जमिनमा पाँच वटा ब्लक बनाएर एक सय ४० रोपनीमा चियाखेती सुरु गरिएको वडाध्यक्ष लामिछानेले बताए। 

‘परीक्षणका रुपमा गरिएको चियाखेतीले राम्रो उत्पादन दिन थालेपछि चियाखेती अवलोकन गर्न आउने पाहुनालाई कोसेलीका रूपमा चियाको ब्राण्ड बनाएर प्रदान गर्न थालेका छौँ’, वडाध्यक्ष लामिछानेले भने । चिया बगानमा आवतजावत गर्न सडक र खानेपानीलगायत पूर्वाधार अभाव भएकाले स्थानीय, प्रदेश र सङ्घ सरकारको सहकार्यमा भौतिक संरचना निर्माणमा पहल भइरहेको उनले बताए।

चिया बगानमा रहेका एक लाख १० हजारभन्दा बढी बिरुवामध्ये ६० हजारले उत्पादन दिन थालेका छन् । लामिछानेका अनुसार वडा कार्यालयको सहकार्यमा चिया सुकाउने औजार खरिद गरिए पनि पछिल्लो समय ठूलो परिणाममा चिया उत्पादन हुन थालेपछि उद्योग सञ्चालन गर्न सरोकारवाला निकायसँग समन्यव भइरहेको छ। 

चिया उत्पादन धेरै हुन थालेपछि उद्योग सञ्चालनसँगै बजारीकरणमा अन्यौल भइरहेको रेश साना किसान सहकारीका अध्यक्ष उजेली शर्माले बताए। प्रशोधित चियाका लागि उपकरणको अभाव हुँदा सहकारीले अपेक्षाअनुसार उत्पादन गर्न नसकेको उनको भनाइ छ । उनले हाल परम्परागत रुपमा चिया उत्पादन भइरहेको छ। 

चिया खेतीमार्फत स्थानीयलाई समृद्ध बनाउने वडाको योजना छ । बढ्दो बसाइँसराइलाई नियन्त्रण गर्न चियाखेती नमुनायोग्य काम भएको चियाखेती अवलोकनमा पुग्नुभएका गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले भने, ‘बाँझो जमिनको सदुपयोग गर्दै आर्थिक उन्नति गर्न स्थानीयले गरेका काममा प्रदेश सरकारले हातेमालो गर्छ।

Advertisment

थप समाचार