Below Menu
Below Menu

वित्तीय साक्षरता: वित्तीय अनुशासन कसरी कायम गर्ने ?

वित्तीय साक्षरता: वित्तीय अनुशासन कसरी कायम गर्ने ?

आफूले हासिल गरेका वित्तीय ज्ञान र सीपलाई व्यवहारमा उतार्नु र निरन्तर त्यसमा अडिग रही आफ्नो वित्तीय स्रोतलाई जिम्मेवारी र विवेकपूर्ण तवरले व्यवस्थापन र नियन्त्रण गर्ने कार्य नै वित्तीय अनुशासन हो । वित्तीय अनुशासन कायम गरी आफ्नो आम्दानी, खर्च, बचत र लगानीको सुनिश्चितता गर्न सकिन्छ । वित्तीय अनुशासनले आफ्नो वित्तीय लक्ष्य हाँसिल गर्नमा मद्दत पुर्याउँदछ ।

वित्तीय अनुशासनको महत्व
१. आफ्नो आम्दानीबाट खर्च, बचत र लगानीको लागि प्रभावकारी बजेट बनाउन सक्षम बनाउँछ ।
२. बचत तथा लगानीसम्बन्धी सही निर्णयमार्फत सम्पत्ति सृजना गर्न सकिन्छ ।
३. बालबालिकाको शिक्षासम्बन्धी खर्चको योजना बनाउन मद्दत गर्दछ ।
४. बुढ्यौलीका लागि वित्तीय स्रोतको जोहो गर्न मद्दत गर्दछ ।
५. परिवारको दीर्घकालीन वित्तीय लक्ष्य तथा उद्देश्यहरु निर्धारण गर्न र तिनलाई प्राप्त गर्न मद्दत गर्दछ ।
६. परिवारमा हुनसक्ने अप्रत्याशित घटनाहरुको लागि आर्थिक रुपमा तयार रहन मद्दत गर्दछ ।
७. कर्जासम्बन्धी उचित निर्णय गरी आवश्यकताभन्दा बढी कर्जा लिनबाट बच्न र उपयोग भइरहेका कर्जालाई बुद्धिमानी ढंगले व्यवस्थापन गर्न मद्दत गर्दछ ।
८. परिवारमा उद्यमशीलता विकास गर्न मद्दत गर्दछ र सोको लागि वित्तीय स्रोत सुनिश्चित गर्न मद्दत गर्दछ ।

वित्तीय अनुशासन कसरी कायम गर्ने ?
१. नियमित रुपमा पारिवारिक बजेट निर्माण गर्ने । योजनानुसार बचतलाई प्राथमिकतामा राखी आवश्यकतानुसार खर्च गर्ने ।
२. वित्तीय लक्ष्य निर्धारण गरेर आम्दानीको एक नियमित अंश छुट्याइ बचत गर्ने ।
३. नियमित रुपमा बजेटको समीक्षा गर्ने । खर्चका विभिन्न शीर्षकहरुको पुनरावलोकन गर्ने, र लक्ष्य प्राप्तिको लागि आवश्यक समायोजन गर्ने ।
४. वित्तीय लक्ष्य, बजेट, नियमित बचत, वित्तीय समस्या र समाधानका बारे परिवारभित्र छलफल गर्ने ।
५. खर्चको प्राथमिकता तय गर्ने र कर्जा लिएको भए सोको भुक्तानीमा बहानाबाजी वा विलम्ब नगर्ने ।
६. बुद्धिमानीपूर्वक लगानी गर्नेः जोखिम बहन गर्न सक्ने क्षमता र वित्तीय लक्ष्यहरुको आधारमा उपयुक्त लगानीका अवसरहरुको खोजी गर्ने ।
७. जोखिम कम गर्न स्वास्थ्य, सम्पत्ति र जीवनको लागि पर्याप्त बिमा गर्ने ।
८. आफूले जानेका वित्तीय ज्ञान र सीपलाई व्यवहारमा उतार्ने र आफ्ना वित्तीय योजनाहरुमा अडिग रहने ।

स्रोतः नेपाल राष्ट्र बैंक

Sponsored Advertisment

Advertisment