८औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत १४ गतेदेखि, दुई करोड २५ लाखको कारोबार हुने 

८औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत १४ गतेदेखि, दुई करोड २५ लाखको कारोबार हुने 

काठमाडौं : महिला उद्यमी महासंघ नेपालले चैत १४ गतेदेखि आठ औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८१ को आयोजना गर्ने भएको छ । 

महासंघले बुुधबार पत्रकार सम्मेलन गर्दै चैत्र १४ देखि १८ गतेसम्म ललितपुरको हेरिटेज गार्डेनमा उद्यमी व्यापार मेला आयोजना गर्न लागिएको महासंघकी अध्यक्ष शोभा ज्ञवालीले जानकारी दिईन् ।

व्यापार मेलाको माध्यमबाट महासंघमा आवद्ध नेपालका ७२ वटा जिल्ला हरुमा स्थापित महिला उद्यमी जिल्ला संघहरुमा आवद्ध ५५ हजार भन्दा बढि महिला उद्यमीहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित हुने अपेक्षा महासंघले जनाएको छ । 

मेलाको समुदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जनाइएको छ । पाँच दिनसम्म सञ्चालन हुने मेला अवधिमा महिला उद्यमी महासंघ नेपालको ७२ वटा जिल्ला संघहरुबाट महिला उद्यमीहरुको सहभागिता रहनेछ ।

मेला स्थलमा जम्मा १४४ वटा विक्रि स्टलहरु राखिनेछन् । जसमा २ वटा प्याभिलियनहरु, ५८ वटा महिला उद्यमी जिल्लासंघबाट सहभागि हुने महिला उद्यमीहरु र बाँकी ८२ वटा स्टलहरु स्वदेशी तथा विदेशी महिला उद्यमीहरुलाई उपलब्ध गराईने जनाइएको छ । 

यस वर्षको आठौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०८१ का अवसरमा २ वटा प्याभिलियन सहित जम्मा १४४ वटा विक्रि स्टलहरु रहनेछन् । करिव ६० हजार उपभोक्ता तथा अवलोकन कर्ताहरुबाट मेला अवलोकन हुने तथा आर्थिक कारोवारमा सहभागिता रहने र करिव २ करोड २५ लाख रुपैयाँ बरावरको आर्थिक कारोवार हुने महासंघले जनाएको छ । 

मेला स्थलमा वातावरण मैत्री, हस्तकला, कृषि, व्यापार तथा सेवा, खाद्य, अन्तर्राष्ट्रिय गरी ६ प्रकारका स्टलहरु रहनेछन् । मेलालाई व्यवस्थित र मर्यादित तवरले सञ्चालन गर्ने कार्यमा सहजीकरण गर्नको लागि अमेरिकाको आयोवा स्टेट युनिभर्सिटीका १६ जना विद्यार्थिहरुले स्वयम् सेवकको रुपमा सहजीकरण गर्नेछन् । भने २ जना प्रोफेसरहरुले मेलाको अवलोकन गर्नेछन् । मेलालाई व्यवस्थित गर्नको लागि क्याम्पसहरुमा अध्ययनरत थप १० जना नेपाली विद्यार्थिहरुले समेत स्वयम् सेवकको रुपमा सहजीकरण गर्नेछन् । 

मेला अवधिमा नेपाल भरि छरिएर रहेका महिला उद्यमीहरुले उत्पादन गरेका कृषि जन्य वस्तुहरु, हस्तकलाका सामाग्रिहरु, खाद्य सामाग्रिहरु, अन्तर्राष्ट्रिय वस्तुहरु, सेवामूलक वस्तु तथा सेवाहरुको प्रवद्र्धन तथा विक्रि वितरण हुनेछ ।

मेला अवधिमा अन्तर्राष्ट्रिय क्षेत्रका महिला उद्यमीहरु र उनीहरुका उत्पादन सहितको सहभागिता हुने भएकोले नेपालका महिला उद्यमीहरुले उपयोग गरेका प्रविधिहरु, बजारीकरणको लागि अवलम्वन गरेका उपायहरु जस्तै वस्तुको लेवलिङ्ग, प्याकेजिङ्ग, ब्राण्डिङ्ग लगायतका विषयमा जानकारी लिन पाउने छन् । साथै नेपालमा उत्पादित नेपाली वस्तुहरुको अन्तर्राष्ट्रिय क्षेत्रमा बजार विस्तार गर्नको लागि समेत यो मेला सहयोगी हुने महासंघको अपेक्षा रहेको छ ।

मेलामा सहभागि हुने महिला उद्यमीहरुको ज्ञान तथा क्षमता अभिबृद्धि गर्ने उद्देश्यले मेला अवधिमा मेला स्थलमा विभिन्न विषयमा अन्तक्र्रिया, छलफल, वेबिनारहरु सञ्चालन हुनेछन् । जसमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, नेपाल अति कम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नती र यसबाट प्राप्त हुनसक्ने अवसर र चुनौतीहरु विषयमा संगोष्ठि, वित्तिय साक्षरता कार्यक्रम लगायतका कार्यक्रमहरु समावेश हुनेछन् ।

महासंघले देशभरीका महिला उद्यमीहरुको प्रतिनिधि सस्थाको रुपमा कार्यरत महिला उद्यमी महासंघ नेपाल ले महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सेवाहरुको प्रवद्र्धन तथा बजारीकरण गर्ने कार्यलाई सहयोग पुर्याउन विगत एक दशक देखि निरन्तर रुपमा अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आयोजना गर्दै आईरहेको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली महिला उद्यमीहरुका उत्पादनहरुको प्रवद्र्धन र बजारीकरण गर्न सहयोग पुर्याई महिला उद्यमशिलताको विकास बाट आन्तरिक उत्पादन बृद्धि गरी निर्यात प्रवद्र्धनमा सहयोग मार्फत नेपालको अर्थतन्त्र सुधारमा सहयोग उद्देश्यले महासंघले नियमित रुपमा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्ने गरेको छ । 

महासंघले “स्वदेशी खाऔं, स्वदेशी लगाऔं र उद्यमशिलतालाई प्रवद्र्धन गरौं” भन्ने नारालाई सम्पूर्ण प्रयत्नको एक अभिन्न अङ्गको रुपमा लिएको जनाएको छ । महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सेवाहरुको प्रवद्र्धन तथा बजारीकरण गर्नको लागि महासंघले सन २०२४ को डिसेम्वरमा अष्ट्रेलियाको मेलवर्न शहरमा आयोजकको रुपमा “मेड इन नेपाल एक्स्पो २०२४” को आयोजना गरेको थियो । 

जसको माध्यमबाट नेपाली उत्पादनहरुलाई अष्ट्रेलियन उपभोक्ता सामु प्रस्तुत गर्न र अष्ट्रेलियाका अन्य बजारमा समेत नेपाली उत्पादनहरु निर्यात गर्न सकिने अवसर समेत श्रृजना भएको छ ।

यसका साथै नेपालमा महिला उद्यमशिलता विकासलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय व्यापार केन्द्रले बेलायतमा आयोजना गरेको छलफल कार्यक्रममा महासंघको नेतृत्वमा ५ जना महिला उद्यमीहरुको सहभागिता रहेको थियो । यस कार्यक्रमको माध्यमबाट नेपालमा महिला उद्यमशिलता विकासको लागि सहकार्य गर्ने सम्वन्धमा छलफल भएको थियो ।

८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला सञ्चालनको लागि नेपाल सरकारका विभिन्न निकायहरु, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु, बैंक तथा वित्तिय संस्थाहरु, प्राईभेट कम्पनीहरु साथै नेपाल स्थित विदेशि राजदुतावासहरुबाट समेत सहकार्य र आर्थिक सहयोग प्राप्त भएको छ । 

जसमा उद्योग मन्त्रालय, उद्योग विभाग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, अन्तराष्ट्रिय श्रम संगठन, नेपाल टेलिकम, नेपालका लागि अष्ट्रेलियन राजदुतावास, नेपालका लागि संयुक्त अरब ईमिरेट्सको राजदुतावास, नविल बैंक, कृषि विकास बैंक, लक्ष्मी सनराईज बैंक, सिद्धार्थ बैंक, सानीमा बैंक, फोनपे, गिताञ्जली, फेडेक्स, थेम्स कलेज, सिजि मोटर्स प्रालि आदि रहेका छन् ।

थप समाचार