Below Menu
Below Menu

प्राधिकरणका अध्यक्ष ओझा र भुटानका डेपुटी गभर्नर छोदेनबीच भेटवार्ता, के–के भए छलफल ?

प्राधिकरणका अध्यक्ष ओझा र भुटानका डेपुटी गभर्नर छोदेनबीच भेटवार्ता, के–के भए छलफल ?

काठमाडौं : नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र भुटानको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनबीच बीमा सम्बन्धी द्विपक्षीय सहयोग र आपसी ज्ञान एवम् अनुभव आदान–प्रदान सम्बन्धमा छलफल भएको छ ।

नेपाल बीमा प्राधिकणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज प्राधिकरणका अध्यक्ष ओझासँग भुटानका डेपुटी गभर्नर छोदेनले गरेको भेटमा नेपाल र भुटानको बीमा क्षेत्रको विद्यमान अवस्था, नेपालले अभ्यास गर्दै आएको जोखिममा आधारित पूँजी तथा जोखिममा आधारित सुपरीवेक्षण पुनर्बीमा सम्वन्धी नेपालको अनुभव र द्विपक्षीय सम्वन्ध सुदृढीकरण लगायतका विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नेपालले बीमा क्षेत्रमा जोखिममा आधारित पूँजी र जोखिममा आधारित सुपरीवेक्षणको अभ्यास गरिरहेको जानकारी दिँदै यस सम्बन्धमा भुटानलाई आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिए । 

अध्यक्ष ओझाले आगामी दिनमा भुटानको रोयल मनिटरी अथोरिटीसँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्न र बीमा क्षेत्रलाई नयाँ उचाई दिनका लागि असल अभ्यासहरू आदान–प्रदान गर्न प्राधिकरण तयार रहेको बताए । 

भुटानको बीमा क्षेत्रको समेत नियामक निकाय रहेको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनले नेपाल बीमा प्राधिकरणले जोखिममा आधारित पूँजी, जोखिममा आधारित सुपरीवेक्षण र पुनर्बीमा सम्बन्धमा हासिल गरेका ज्ञान एवम् अनुभव भुटानका लागि समेत लाभदायक हुने बताइन् । 

डेपुटी गभर्नर छोदेनले बीमा क्षेत्रको समग्र विकासका लागि नेपाल बीमा प्राधिकरणसँगको सम्वन्धलाई अझ सुदृढ गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन्। 

भेटका अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल (अधिकारी) लगायत पदाधिकारीहरू र भूटानको रोयल मनिटरी अथोरिटीका उच्चपदस्थ पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
 

Advertisment

थप समाचार