काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको अर्थतन्त्रको विकासका लागि सरकारले केही जोखिम उठाउनैपर्ने बताउनुभएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले नीजि लागनीकर्ता माझ विश्वास बढाउन सकेको खण्डमा अर्थतन्त्रको विकास हुने बताउँदै यसमा निजी क्षेत्रले पनि सार्थक सहयोग गर्नु जरुरी रहेको आवश्यकता औँल्याए ।
सङ्घीय सांसदसमेत रह्ेका महामन्त्री थापाले हरेक क्षेत्रमा खुल्ला र पारदर्शी छलफलले मात्रै समस्याको सार्थक समाधान हुनसक्नेमा जोड दिए । सरकारले अर्थतन्त्रको सुधारका लागि महत्त्वपूर्ण काम गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले शासकीय सुधार र अर्थतन्त्रको सुधारका लागि सरकारको योजनामा नीजि क्षेत्र र नागरिकले विश्वास गर्नुपर्ने धारणा राखे ।
नेता थापाले आइटी, सफ्टवेयर, प्रोग्रामिङसँगै पूर्वाधारका क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए । उनले मुलुकभित्रै केही गर्न खोज्नेलाई सरकारले सहजीकरण गर्नुपर्ने भन्दै त्यसका लागि सरकारको नेतृत्वले योजनाबद्ध पहल गर्नुपर्ने बताए । कर प्रणाली सुधार गर्न नीतिगत रूपमा कसरी सम्बोधन गर्न सकिन्छ सोबारे सरोकार भएका निकायसँग समन्वय र छलफल गर्नुपर्नेमा उनले जोड दिए ।
विदेशमा कमाएको मुद्रा देशभित्र ल्याउने र यहाँ कमाएको बाहिर सहजै तरिकाले लैजान पाउने व्यवस्था गर्न सकिए लगानी भित्रने सांसद थापाले दाबी गरे । सरकारले पछिल्लो पटक बनाएको कानुन त्यसको सुरुआत हुनसक्ने उनको भनाइ छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा आमनागरिकको चासो रहेकाले योग्य र सक्षम व्यक्तिको नियुक्ति हुनुपर्ने उनले बताए ।