काठमाडौं : विदेशी विनिमय सञ्चिति २४ खर्ब रूपैयाँ नाघेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको आठ महिनासम्ममा विदेशी विनिमय सञ्चिति २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको हो ।
असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो । यो अवधिमा कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा फागुन मसान्तमा १३.१ प्रतिशतले बढेर १७ अर्ब २७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा फागुन मसान्तमा १५.२ प्रतिशतले बढेर २१ खर्ब ३० अर्ब ३१ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा फागुन मसान्तमा ४४.९ प्रतिशतले बढेर २ खर्ब ७८ अर्ब ९५ करोड कायम भएको छ । फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४२.२ प्रतिशत, ११९.४ प्रतिशत र ३३.० प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको छ ।
समीक्षा अवधिमा चालु खाता १ खर्ब ८० अर्ब ८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६७ अर्ब ४५ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरको आधारमा हेर्दा अघिल्लो वर्ष १ अर्ब २६ करोड डलरले बचतमा रहेको चालु खाता यस वर्षको सोही अवधिमा १ अर्ब ३३ करोड डलरले बचतमा रहेको देखिएको छ ।
राष्ट्र बैंकको प्रतिवेदनअनुसार समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो ट्रान्सफर ३ अर्ब ८९ करोड रुपैयाँ मात्र थियो ।
Advertisment