कर विवरण बुझाउन अटेर गर्ने हजारौं करदाताको दर्ता निलम्बन, कारोबार बन्द गर्न निर्देशन

कर विवरण बुझाउन अटेर गर्ने हजारौं करदाताको दर्ता निलम्बन, कारोबार बन्द गर्न निर्देशन

काठमाडौं : आन्तरिक राजस्व विभागले कर विवरण नबुझाएका हजारौं करदाताको मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता एकसाथ निलम्बन गरेको छ । विभागले एक सूचना जारी गर्दै लगातार ६ महिनासम्म कर विवरण नबुझाउने करदाताको नाम सार्वजनिक गरेको छ ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा (८)मा लगातार छ महिनासम्म कर विवरण पेश नगर्ने करदाताको नाम सार्वजनिक गरी त्यस्तो करदाताको कर कट्टी गर्नु पर्ने रकम बाँकी भए रोक्का राख्न र निजको दर्ता समेत निलम्बन गर्न सकिने व्यवस्था छ। 

विभागले २०८२ बैशाख ११  गते सार्वजनिक सूचना प्रकाशित गरी आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राखी यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कर विवरण पेश गरी आफ्नो कारोबार नियमित गर्न सूचित समेत गरेको थियो ।

तर जेठ ७ गतेसम्म पनि विभिन्न करदाताहरुले कर विवरण बुझाएको भन्दै विभागको जेठ ९ गतेको निर्णय अनुसार तोकिएको म्यादभित्र कर विवरण नबुझाएका करदाताहरुको करकट्टि रोक्का राखी मूल्य अभिबृद्धि कर दर्ता निलम्बन गरिएको विभागले जनाएको छ । 

यसका साथै उल्लिखित करदाताहरुको नाम नामेसी यस विभागको वेवसाइटमा राखिएको छ । विभागले निलम्बित करदातासँग खरिद वा बिक्री कारोबार नगर्न सम्बन्धित सबैमा विभाग अनुरोध गरेको छ ।

यसरी दर्ता निलम्बन भएका करदाताहरुले कर विवरण पेश गरी कारोबार नियमित गरी दर्ता कायम राख्न चाहेमा बाँकी सबै अवधिको कर विवरण पेश गरेपछि सस्पेन्ड लिष्टबाट स्वतः हट्ने व्यवस्था मिलाइएको समेत विभागले जनाएको छ । 

यसरी दर्ता निलम्बन भएका करदाताको हकमा निलम्बन रहेको अवधिसम्म त्यस्ता करदाताको निकासी र पैठारी सम्बन्धी कारोबार रोक्का गरिदिनको लागि भन्सार विभागलाई यसै सूचना मार्फत अनुरोध गरिएको छ ।

यसका साथै कुनै करदाताको दर्ता निलम्बन हुनु नपर्ने कुनै कारण भएमा वा यस सम्बन्धमा कुनै दावी विरोध भएमा वा कुनै असुविधा परेमा आफ्नो व्यवसाय दर्ता रहेको सम्बन्धित आन्तरिक राजस्व कार्यालय (ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालय समेत) तथा करदाता सेवा कार्यालयमा सम्पर्क गर्न विभागले भनेको छ ।

थप समाचार